नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न स्थायी समितिको बैठकले लिएका निर्णयहरु प्रेस वक्तव्यमार्फत सार्वजनिक

नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न स्थायी समितिको बैठकले लिएका निर्णयहरु प्रेस वक्तव्यमार्फत सार्वजनिक

९ जेठ काठमान्डौ ।
नेकपा (क्रान्तकारी माओवादी)को स्थायी समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकले लिएका महत्वपूर्ण समसामयिक निर्णयहरुलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको छ । पार्टी प्रवक्ता प्रतीकको हस्ताक्षरित प्रेस वक्तव्यमा प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणालाई निरङ्कुशतावाद तथा फासीवाद तर्फ उद्यत रहेको पश्चगामी परिघटना भनिएको छ र यसको कडा विरोध गर्नेमा जोड दिइएकोछ ।
विभिन्न ६वटा बूँदाहरुमा समेटिएका निर्णयहरुमा पश्चगामी संविधान र संसदीय व्यवस्था समेतको असफलताको अभिव्यक्तिको रुपमा वर्तमान घटनाक्रमहरुलाई विश्लेषण गर्दै वर्तमान दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीिय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य भैसकेको भनिएको छ ।
कोभिड–१९ को भीषण महामारीको बेला जनस्वास्थ्यमाथि विशेष जोड दिनुको बदला निर्वाचनमा ठूलो अर्थराशि खर्चिनु नितान्त गलत भएका कुरा प्रेस वक्तव्यमा स्पष्ट पारिएको छ । प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ –

प्रेसवक्तव्य
मिति: २०७८ जेठ ९ गते
२०७८ जेठ ८ मा महासचिव क.किरणको अध्यक्षतामा सम्पन्न स्थायी समितिको बैठकमा गत राति राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे छलफल गरी आवश्यक निर्णय लिइयो । बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरूलाई यस प्रकार सार्वजनिक गरिएको छ :
१. प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा आधारित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आन्दोलनका आंशिक उपलब्धिलाई समेत समाप्त पार्दै निरङ्कुशतावाद तथा फासीवाद तर्फ उद्यत रहेको पश्चगामी परिघटना हो र पार्टी यस परिघटनाको कडा विरोध गर्दछ ।
२.प्रतिनिधि सभा विघटनको यो परिघटना वर्तमान ओली सरकारको असफलताका साथै दश वर्षीय जनयुद्ध र विभिन्न जनआन्दोलनहरूमा अभिव्यक्त अमर सहिद, क्रान्तिकारी योद्धा तथा जनसमुदायका मुक्ति र स्वतन्त्रताका आकाङ्क्षा र सपनामाथि कुठाराघात गर्दै थोपरिएको पश्चगामी संविधान र संसदीय व्यवस्था समेतको असफलताको अभिव्यक्ति हो ।
३.हाम्रो पार्टीले प्रतिनिधि सभा विघटनको यस परिघटनालाई कम्युनिस्टको नाममा जनसमुदायलाई दिग्भ्रमित पार्दै, उनीहरूप्रति विश्वासघात गर्दै र विभिन्न सङ्घर्षहरूको ब्याज खाँदै सत्ता तथा सरकारको उपभोगमा लिप्त रहिआएका संशोधनवादीहरू तथा संशोधनवादको समेत भारी असफलता ठान्दछ ।
४.वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाद्वारा देशको राष्ट्रीय स्वाधीनता, जनताका जनतान्त्रिक अधिकार र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर, जटिल तथा असमाधेय बन्दै आएको र संसदीय व्यवस्था असफल प्रमाणित भैसकेको स्थितिमा फेरि पनि संसदीय निर्वाचनमा जानु हाम्रो पार्टी जनताप्रति अर्को विश्वासघात ठान्दछ । साथै,कोभिड–१९ को भीषण महामारीको बेला जनस्वास्थ्यमाथि विशेष जोड दिनुको बदला निर्वाचनमा ठूलो अर्थराशि खर्चिनु नितान्त गलत भएको पनि पार्टी प्रस्ट गर्दछ ।
५. यो बेला पार्टीको दृढ अभिमत के छ भने असफल साबित भैसकेको संसदीय व्यवस्थाको विकल्प फेरि पनि त्यसै व्यवस्थाको मध्यावधि निर्वाचन होइन वर्तमान दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीिय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य भैसकेको छ ।
६.तसर्थ, हाम्रो पार्टी संसदीय मध्यावधि निर्वाचन होइन, त्यसका विरूद्ध र विकल्पमा संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादको दिशामा सङ्र्षलाई विकसित तुल्याउन र कोरोना महामारीको भयावह पीडाले छटपटाइरहेका जनताको जीवनरक्षा तथा जनस्वास्थ्यका समस्या समेतलाई लिई सशक्त आवाज उठाउन सम्पूर्ण देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित विशेष अपिल गर्दछ ।

प्रतीक
पार्टी प्रवक्ता नेकपा (क्रान्तकारी माओवादी)