
विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश १ ले एक वक्तव्य जारी गरी उदयपुरको कटारीमा नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी र प्रशासनको संलग्नतामा सुकुम्बासी बस्तीमाथि डोजर लगाएर गरिएको आक्रमणको घोर विरोध गर्दै यस घटनालाई कटारी नगरपालिका र स्थानीय प्रशासनको घोर अमानवीय र फासिवादी कदमको संज्ञा दिएको छ ।
पार्टी प्रदेश सचिव सिताराम बुढाथोकीले जारी गरेको वक्तव्यमा सुकुम्बासीहरुले मेयर, उपमेयरलगायत स्थानीय प्रशासनको दमनको डटेर गरेको प्रतिरोधको प्रशंसा गर्दै पक्राउ परेका सुकुम्बासीहरु गणेश थापा, सरद सुनुवार, सिमन तामाङलाई तत्काल रिहा गर्न, मेयर ज्ञानबहादुर श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडा अध्यक्ष कृष्ण दुनुवार, कर्मचारी ओम मिश्र लगायत घटनामा संलग्न डिएसस्पीलाई कडाभान्दा कडा कारबाही गर्न, सुकुम्बासीहरुको भएको क्षतिपूर्तिसहित सोही स्थानमा उनीहरुलाई पुनस्र्थापित गर्न जोडदार माग गरिएको छ ।
वक्तव्यमा जनताको घरबास गर्न पाउने नैसर्गिक अधिकारमाथि हमला गर्ने दोषीहरुलाई कारबाही नगरिए र सुकुम्बासीहरुलाई सोही स्थानमा पुनस्र्थापित नगरी थप दमन गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार सरकार नै हुने उल्लेख गरिएको छ ।






























