अथक प्यालेस्टिनी प्यारामेडिक

यहाँका प्यारामेडिकहरूले इजरायलसँग दिनहुँजसो हुने हिंसाबाट घाइतेहरूको अनवरत उपचार व्यवस्थापन गरिरहेका छन्

प्रकाशित मिति : २०७८ जेष्ठ २

- – थुर्ले

जेरुसेलममा १० मेमा इजरायली प्रहरीले अन्धाधुन्द आक्रमण गरेर सयौँ प्यालेस्टिनीलाई गम्भीर घाइते बनाएपछि डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)ले प्यालेस्टाइन रेडक्रसलाई चिकित्सा सहयोग दिन सुरु गर्‍यो । डक्टर्स विदाउट बोर्डर्सका मेरा सहकर्मीहरू र मैले प्यालेस्टिनी रेडक्रससँग मिलेर वादी अल–जोजस्थित रेडक्रसको प्राथमिक उपचार केन्द्रमा घाइतेहरूको उपचार मिलेर गरिरहेका छौँ ।
मैले त्यहाँ देखेको पहिलो घाइते एउटी १२ वर्षकी केटी थिइन् । हामीले उनको घाउको निरीक्षण गर्न उनले लगाएको जिन्स बिस्तारै तान्न खोज्यौँ, उनी चर्काे वेदनाले चिच्याइन् । उनको तिघ्राको मथिल्लो भागमा हत्केलाजत्रो रबरको गोलीले च्यातेर गएको गहिरो र ठूलो आलो घाउ थियो । आमासँगै घर जान हिँडिरहेकी ती बालिकालाई इजरायली प्रहरीले ताकेरै गोली हानेका थिए । ठीक खुराकमा दुखाइको औषधि दिन मैले उनको तौल सोधेँ, उनले मलाई आफू २८ केजीकी भएको बताइन् । उनी साँच्चै सानी थिइन्, ती उभिन सकिरहेकी थिइनन्, त्यसैले हामीले उनको नितब्ब वा तिघ्राको हाड भाँच्चिएको हुन सक्ने ठानेर अस्पतालमा एक्सरेका लागि पठायौँ । यहीबीच, विदाउट बोर्डर्सका मेरा सहकर्मी एन्डीले अर्का एक १४ वर्षे किशोरलाई लिएर आए । रबरको गोली उनको अनुहारमै लागेको थियो । गोली लाग्नबाट उनको देब्रे आँखा बालबाल बचेको देखिन्थ्यो, घाउ आँखाको एकदमै मुनि छेउपट्टि लागेको थियो । रेडक्रसबाट आएका सहकर्मीले अघिल्लो दिउँसो यस्तै चोटबाट एउटा आँखा नै गुमाएका एक किशोरको उपचार गरेको मलाई बताए । यो सुनेपछि म निकै बेर पिरोलिएँ । ती मानिस, जसले यी कलिला बालबालिकातर्फ आफ्नो बन्दुक सोझ्याए, के तिनले एउटा १४ वर्षे केटोमा आँखा गुमाउनुको असर के पर्छ कहिल्यै सोचे होलान् ?
सूर्यास्तसँगै दिनको रोजा(व्रत) तोड्ने समय थियो त्यो । हामीले सहकर्मीबीच आफ्ना खानेकुरा बाँडचुँड गर्‍यौँ र एकछिन शान्तिको अनुभव गर्‍यौँ । तर, त्यो शान्ति धेरैबेर टिकेन । छिनमै एम्बुलेन्सहरू ओइरिए, १० मिनेटमा १५ जना घाइते ल्याइपुर्‍याइए । हामीले सबै घाइतेको अवस्था निरीक्षण गर्दै तत्काल उपचार खाँचो रहेकाको उपचार त्यहीँ गर्‍यौँ, अस्पताल पठाउनुपर्ने खालका गम्भीर घाइतेलाई अस्पताल पठायौँ । एकजना गर्धनमा ग्रिनेडको टुक्राले गहिरो घाउ बनाएको घाइते र अर्का एकचाहिँ राइफलको कुन्दाले छातीमा हिर्काउँदा गम्भीर अवस्थामा पुगेका घाइतेलाई पनि देख्यौँ । अर्का एक वृद्ध पनि थिए, जसको टाउकोबाट रगत आइरहेको थियो । तिनको होस थिएन ।
उपचार गर्दै गर्दा मैलै त्यहाँ कुहिएको माछा र विष्ठामिश्रित कडा गन्धको महसुस गरेँ । वास्तवमा त्यो गन्ध इजरायली प्रहरीले वाटर क्याननबाट हान्ने गरेको एक प्रकारको घातक केमिकलको थियो । वाटर क्याननबाट इजरायली प्रहरीले अक्सर यही केमिकल मिसिएको फोहोर पानीको फोहोरा बर्साउने गर्छ ।
उपचारस्थलमा कुदाउँदै ल्याइएकी अर्की एउटी युवतीको नितम्बमा गोलीले गहिरो घाउ बनाएको थियो । गोली लागेर भुइँमा लडेपछि उनीमाथि त्यही दुर्गन्धित रसायनसहितको फोहोर पानी बर्साइएको थियो । उनी केमिकलले निथ्रुक्कै भिजेकी थिइन्, जसबाट अग्घोरै कडा दुर्गन्ध आइरहेको थियो । दुर्गन्धको कारण ती केटी बारम्बार बान्ता गरिरहेकी थिइन् । उनी घाइते मात्रै भएकी थिइनन्, उनको आत्मसम्मान पनि खोसिएको थियो ।
उनको हालत देखेर मेरा आँखा आँसुले भरिए । तर, मैले आँसु पुछेँ र उनको उपचार गरेँ । त्यसपछि केहीबेर त्यहाँ एम्बुलेन्स आउन छाडे । एम्बुलेन्सहरूलाई हामी रहेको ठाउँमा आउनबाट रोकिएको सुन्यौँ । हाम्रो सहयोगको जरुरत भएका घाइतेहरू हामीसम्म आउन नपाउने चिन्ताले पिरोल्न थाल्यो । तर, कुनै कारण त्यो समस्या समाधान भयो र अर्काे खेपका घाइतेहरू ल्याइए । हामी हतारहतार तिनको निरीक्षण र उपचारमा लाग्यौँ । अर्काे सिफ्टका लागि एमएसएफको नयाँ टोली नआउँदासम्म हामीले निरन्तर घाइतेहरूको उपचार गरिरह्यो । रेडक्रसको टोलीले घाइतेहरू ओसारी नै रहे । त्यहाँ प्यारामेडिक (चिकित्सा सहायक)हरूको अथक उपचारले मलाई साँच्चै अचम्मित तुल्याएको छ, जो वर्षाैंदेखि यहाँका दु:खी मानिसलाई प्राथमिक उपचार मात्रै होइन, सफलतापूर्वक गम्भीर उपचारसमेत दिइरहेका छन् । यहाँका प्यारामेडिकहरूले विशेषगरी इजरायलसँग दिनहुँजसो हुने हिंसाबाट घाइतेहरूको उपचार व्यवस्थापन अनवरत गरिरहेका छन् । उनीहरूले त्यहाँ गरिरहेको काम, तिनको सहनशक्ति र तिनले देखाएको आशाको ज्योतिको बखान शब्दबाट गरिसाध्य छैन ।
यहाँको हिंसाबाट प्रभावितहरू कुनै न कुनै हिसाबले यसैका लागि योग्य छन् भन्ने भाष्य बिलकुलै गलत छ । सोमबार मैले त्यहाँ देखेका, उपचार गरेकाहरू साना–साना बालबालिका, महिला र पुरुषहरू थिए, जो म र मेरा परिवारका मानिसजस्तै थिए । ती प्यालेस्टिनी पनि मानिसै थिए ।
(थुर्ले डक्टर्स विदाउट बोर्डर्सकी मेडिकल कोअर्डिनेटर हुन्)
अलजजिराबाट