
वनका कन्दराबाट
गिठा,भ्याकुर र त्यागुन खोजेर

बिहान धकेल्यो बेलुका उपबास
पाखुरा बेच्ने गतिलो ठाम पाए
वाबै नि …….
जहान छोराछोरीको मुखमा
एक फाँको पिठोको तिरिन
सधैँको नियाश्रो भएर पो
पर दूर देशमा
पसिना बेच्न हिँडेको
थाहै नपाइ आफूसँगैका
बेल्चा र गैँची उचाल्नेहरु
राजद्रोहीको बिल्ला पाए
तातो बारुदले सास उडाए
जोगिमाराको मैते चेपाङ्ग ।
मूलबाटो हेरेर चारबर्षे छोरी
निमेषभर आँखा हटाउन्न
समाचार सुनेर ढलेकी पृया
आँसु पिएर अघाउन्न
भन्छन् माथिकाहरुले
आतङ्ककारीको बात लागेको छ
तिम्रो आँगन टेक्न को आउला र
सबैलाइ सत्ताको मात लागेको छ
अब कहिले फर्कन्छन र मैते चेपाङ्ग
भुण्टीको चाउरिएको मन
आमाको दाउरिएको तन
टाल्न को जान्छ ?
मैतेसित आफ्नो परिचय
भोटर कार्ड र नागरिकता दुबै थिएन
ठेला परेका हात थियो
घेरो फाटेको माथ थियो
फुटेका पैतालाको पत्रमा
जोगिमाराको माटो थियो
बिहान पेटमा धकेलेको
साँफेबगरको आटो थियो
त्यही साँफेको हवाइ मैदानमा
शान्ती सुरक्षाको बारुदसित
एकमुठी सास साटियो
मैते र उनका साथिहरु
रक्षा मन्त्रीको अभिलेखमा
होनाहार राष्ट्रघाती बने
होनाहार देशद्रोही बने ।
(यो कबिता गोरखा जेल पर्दा लेखेको हुँ, जतिबेला मुलुकमा संकटकाल थियो र पश्चिम नेपालको पहाडी जिल्लामा हवाइ मैदान निर्माण गर्न पुगेका मजदुरमाथि हवाइ हमलामा उनी लगायत १७ जनाको ज्यान गएको थियो ।)