एक जना साथीले भने ‘एमालेहरू सबै मिले अब हामी सबै माओवादीहरू पनि मिल्नु पर्छ ।’ एमालेसँग असैद्धान्तिक एकताबाट विभाजित भई भुइँमा पछारिएपछि साथीलाई माओवादी पार्टीहरूबिचको एकताको भुत चढेछ । माओवादी एकताको चिन्ता गर्ने साथीहरूलाई के थाहा छैन भने कमरेड किरण र प्रचण्डहरूबिचको विभाजन कुनै सत्ताको बार्गेनिङको लागि भएको असैद्धान्तिक विभाजन थिएन, जुन प्रचण्ड, बादल, मात्रिका, मणि, ओली, झलनाथ, माधव र बामदेवहरूबिच भएको थियो । यिनीहरूको एकता सत्ताको कुकुरझगडासँग जोडिएको असैद्धान्तिक सत्ता राजनीतिको निम्छरो दाउपेच बाहेक अरू केही थिएन । तसर्थ यिनीहरू मिल्न र फुट्नलाई सत्ताको दाउपेज बाहेक अरू कुनै कारण अवश्यक थिएन । अर्थात् यिनीहरूको लागि मिल्नु र फुटनु भनेको दालभात तरकारी खाए जस्तै हो । स्वार्थ मिले जुट्छन्, स्वार्थ बाझे फुछ्छन् । अब जहाँसम्म माओवादी एकता र विभाजनको जुन कुरा छ त्यसलाई एमाले जस्ता संसदवादी र दक्षिणपन्थी पार्टीहरूसँग एकताको नाममा गरिएको राजनीतिक बेश्यबृत्तिसँग तुलना गर्न मिल्दैन ।
साथीहरूले के कुरा राम्रोसँग बुझ्नु पर्याे भने पार्टी भनेको विपरितहरूको एकता हो । अर्थात् रणनीति र कार्यनीति बिचको द्वन्द्ववाद हो । जसले मालेमावादी रणनीति र कार्यनीति दुबै परित्याग ग¥यो ऊसँग एकता के का लागि गर्ने ? यो आजको अहम् महत्को प्रश्न हो । प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था भित्रको सत्तामोह र सत्ता साझेदारीको लागि प्रचण्डहरूले माक्र्सवाद – लेनिनवाद – माओवाद परित्याग गरेको कुराको समीक्षा कहिले कहाँ गर्ने ? व्यक्तिगत, गुटगत र पारिवारिक स्वार्थको लागि महान् जनयुद्ध त्यसका उपलब्धि, मूल्य मान्यता र आदर्श परित्याग गर्ने सन्दर्भमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा परित्याग गर्नु, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तप्रति घात गर्दै नवउदारवादी अर्थतन्त्र सहित कथित लोकतान्त्रिक गणतन्त्र (बुर्जुवा गणतन्त्र) को नाममा दलाल संसदीय व्यवस्था सामु आत्मसमर्पण गर्नु सर्वहारा वर्ग, सर्वहारा क्रान्ति र त्यसका समग्र रणनीतिक र कार्यनीतिक लक्ष्य र उदेश्यप्रतिको गद्दारीपूर्ण अपराध होइन ? यसको समीक्षा कहिले कहाँ कोसँग कसरी गर्ने ? यी र यस्ता अहम महत्वका राजनीतिक तथा सैद्धान्तिक प्रश्नहरूको राजनीतिक समाधान बिना कसरी एकता हुनसक्छ ?
साथीहरूले स्मरण गर्न जरुरी छ कि मालेमावादको उपयुक्त प्रकारका सैद्धान्तिक राजनीतिक तथा विचारधारात्मक प्रश्नहरूको जगमा प्रचण्ड बाबुरामहरूसँग पैदा भएको अन्तरविरोधको बिचबाट २०६९ सालमा कमरेड किरणको नेतृत्वमा विद्रोह भएको हो । पार्टीभित्र पैदाभएको दक्षिणपन्थी अवसरवाद तथा नवशंसोधनवाद र त्यसको केन्द्रीय अविव्यक्तिको रूपमा रहेको संसदवादसँग संझौताहीन सङ्घर्षको लागि कमरेड किरणले आफुले पाएको संसद पदबाट राजिनामा दिएर दुईलाइन सङ्घर्षको नेतृत्व गर्नु भएको थियो । र त्यही दुईलाइन सङ्घर्षको भीषण द्वन्द्वको बिचबाट प्रचण्ड बाबुराहरूबाट मालेमावादको समग्र रणनीति र कार्यनीतिको रक्षा हुन नसक्ने निष्कर्ष सहित माओवादी पार्टी विभाजित भएको तथ्यप्रति नजर अन्दाज नगरौं ।
राजनीति भनेको वर्गीय आदर्श र उदेश्यप्रतिको अटुट तथा नियमित प्रक्रिया हो । यो राजनीतिक दृष्टिकोणबाट हेर्दा अब प्रचण्ड बाबुरामहरूबाट सर्वहारा वर्गीय राजनीतिको रक्षा प्रयोग र विकास असम्भव छ । किनभने संसदीय राजनीतिमा फेल खाएका पात्र र उनीहरूले बोक्ने प्रवृत्तिबाट जनवादी क्रान्तिको नेतृत्व सम्भव छैन । तसर्थ साथीहरूलाई मेरो एउटा अपिल के छ भने सामन्ती र एकात्मक तथा केन्द्रीकृत राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य हुने तहसम्मको आन्दोलनको नेतृत्व गरेको हकसम्मको लागि प्रचण्ड बाबुरामहरूलाई धन्यवाद दिउँ । तर त्यस यताको सर्वहारा क्रान्तिको नेतृत्व अब प्रचण्ड बाबुरामहरूको विचारबाट सम्भव छैन । जसबाट जे कुराको सम्भावना छैन त्यसैको पछि लागेर समय बर्बाद गर्नु कुनैपनि हिसावले उपयुक्त हुँदैन । तसर्थ अबको सर्वहारा क्रान्ति र त्यस्को नेतृत्व परम्परागत हिसाबले सम्भब छैन । नयाँ सिराबाट गर्नु पर्दछ । तर त्यो आन्दोलन माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक तथा सार्वभौमिक मार्गनिर्देशनमा सच्चा कम्युनिस्ट क्रान्तिकारी माओवादीहरूबाट मात्र सम्भव छ । तसर्थ साथीहरूले अब प्रचण्डहरूको पछि लागेर बालुवा पेलेर तेल निकाल्न कष्ट गर्न छोड्ने पो हो कि ? समयको वेगमा पैदा भएको यो राजनीतिको वास्तविकताप्रति अब पनि आँखा चिम्लिनु गम्भीर राजनीतिक भुल हुनेछ । समयमै चेतना भया ।
(अशोक शर्माको फेसबुक वालबाट । शीर्षक हामीले राखेका हौँ –सं.)





























