
कविता विधा नेपाली साहित्यकारहरूका निम्ति साहित्यात्राको ढोकाजस्तै बनेको छ । हरेक मानिस साहित्यमय भावमा छिटै अन्तरघुलन हुन्छ । त्यो अन्तरघुलनले गर्दा नै कसैले कलम चलाउन शुरू गर्छन्, कसैले सुन्छन्, देख्छन्, भोग्छन् र सौन्दर्यानुभूति लिन्छन मात्र । यसरी साहित्य लेख्नेहरूले आफूलाई कविता विधाबाटै साहित्यात्रामा डो¥याउने गरेको पाइन्छ । कविता लेख्न सजिलो भनौं भने त्यति सजिलो विषय पनि होइन किनकि यसका निम्ति पहिला बिम्ब चयन गर, त्यसपछि त्यसलाई कविताका पङ्क्ति निर्माणका लागि प्रारुपिकरण गर । लय, प्रतीक, अनुप्रास, छन्द, शब्द, भाव, भङ्गीमा आदिको तादात्म्यता मिलाएर राम्रो र सुन्दर शैली निर्माण गर । कति अप्ठ्यारो छ । कुनै घटना, विषय, भावबाट उद्देलित भएर मनमा पैदा भएका तरङ्गहरूलाई शब्द, वाक्यहरूमा भाँचकुच पारेर लेख्नु मात्र कविता सिर्जना गर्नु कदापि होइन । यो पक्षबाट हेर्ने हो भने सुन्दर कविता सिर्जना गर्न कति गाह«ो छ । परन्तु हरेक मानिसले आफ्ना भावनाका छालहरूलाई पोख्ने आरम्भ बिन्दु भने कविता विधालाई नै बनाएको पाइन्छ । यसरी हेर्दा काव्य सिर्जना गर्नु सजिलो हो कि भन्ने लाग्छ । जे होस् तापनि नेपाली साहित्यमा सबैभन्दा बढी लेखिएको विधा भनेको कविता नै हो ।
नेपाली साहित्यमा तीनवटा मुख्य धारा भए जस्तै कविता क्षेत्रमा पनि तीनवटै धारा रहेका छन् । परम्परावादी स्तुतीवादी धारा । यो धारा प्रतिगामी वा पश्चगमनकारी धारा हो । दोस्रो यथास्थितिवादी धारा । यो धाराले सामाजिक परिवेशलाई जस्ताको तस्तै रूपमा मात्र चित्रण गर्छ । यसले समाज बदल्ने कुरा स्वभाविक रूपमा आफै हुन्छ भन्ने दृष्टिकोण राख्छ । यी दुवै धाराले साहित्यलाई केवल मनोरञ्जनको रूपमा मात्र लिन्छन् । साहित्यलाई समाजको दर्पन भन्दा माथि ठान्दैनन् । अथवा साहित्यमा पनि भाग्य, कर्म, आदिको प्रभाव ठान्छन् । अर्को धारा छ अग्रगामी धारा । यो धाराले साहित्यलाई समाज रूपान्तरणका निम्ति वैचारिक खुराकका रूपमा लिन्छ । अथवा समाज रूपान्तरणमा साहित्यको अवाश्यकता ठान्छ । यसले सामाजिक यथार्थताको चित्रण गर्दै अग्रगमनका लागि मार्गदर्शनका रूपमा साहित्यको भूमिका हुन्छ भन्ने मान्यता लिन्छ । यसलाई प्रगतिशील वा प्रगतिवादी धारा भनिन्छ । प्रगतिवादी धाराको साहित्य भनेको लेनिनको भाषामा मेसिनमा जोडिएको दाँती र पेचकिला हो भने माओले भनेजस्तै जाडोमा फुलबुट्टे रेशमी कपडा नभई इन्धनको लागि कोइला हो । यसको अर्थ हो साहित्यले जनताको सेवा गर्नु । यही मान्यतालाई लिएर वर्तमानमा थुप्रै साहित्यक कृतिहरू लेखिएका छन् । त्यही अग्रगामी धारा अन्तरगतको कविता कृति हो– ‘ज्वालामुखी फुटेपछि’ ।
काठमाडौं, नयाँनैकाप–५, नयाँभञ्ज्याङमा २०३२ वैशाखमा जन्मिएकी शोभा दुलाल ‘ज्योति’ रचित कविता सङ्ग्रह ‘ज्वालामूखी फुटेपछि’ प्रकाशित हुन थालेको छ । प्रस्तुत कविता कृति मूलतः जनयुद्धको भावभूमिमा रचिएका छन् । नेकपा एकताकेन्द्रबाट विद्रोह गरी अनिल विरहीको नेतृत्वमा २०५४ सालमा नेकपा माओवादीमा सामेल भएर जनयुद्धमा होमिएकी शोभा दुलाल ‘ज्योति’ ले युद्धका क्रमामा देखेभोगेका वर्गद्वन्द्वका सजिव विषयवस्तुहरूलाई सुन्दर भाव र शैलीमा कविता कोरेकी छिन् । प्रस्तुत काव्य कृतिमा २०४५ सालदेखि २०६७ सालसम्मका कविताहरू समावेश छन् । कालखण्डका हिसाबले हेर्ने हो भने पञ्चायतकालदेखि ०५२ पूर्वको बहुदलकाल, ०५२–०६२ सम्मको जनयुद्धकाल र ०६३–०६७ सालको शान्तिपूर्ण संक्रमणकालसम्मका कविताहरू यसमा समावेश छन् ।
शोभाका कविता नेपाली वर्ग समाजका साक्षी हुन् । यिनले सामन्तवादको जाँतो मुनी नेपाली जनता कसरी पिसिएका छन् भन्ने कुराको सजिव वर्णन गर्छन् । लैङ्गिक, जातीय, तथा वर्गीय विभेद सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक उत्पीडन, जुलुम र अमानुसिक शोषणको पर्दाफास गरेका छन् । उनका कविता वर्गयुद्धका भोक्ता हुन् । यिनले जनयुद्धका विभिन्न मोर्चाका घटना, जनताले गरेका विरता, सौर्यता र भव्यताका बयान गर्छन् । उनका कविता अग्रगामी र सुन्दर विचारका धरोहर हुन् जसले नेपाली श्रमशीलवर्गका जनतालाई सामन्ती प्रतिक्रियावादी उत्पीडन र जुलुमका विरुद्ध विद्रोह गर्न पे्ररित गर्छन् । उनका कविताहरू नयाँ समाज निर्माणका सुन्दर सपना, आस्थापुञ्ज र पे्ररकशक्ति हुन् । त्यति मात्र होइन शोभाका कविताहरूमा बन्दुक र बारुदका ताकत छन् जसले प्रतिगामी सत्ता संस्कृतिलाई ध्वस्त पार्न सक्छन् । उनका कवितामा ध्वंश गर्ने हतियार मात्र छैनन् त्यसका साथमा सुन्दर, भव्य र उदात्त समाज निर्माण गर्ने कुशल कालिगडी विचार पनि छन् ।
यसरी समष्टीमा भन्नुपर्दा कवयित्री शोभा दुलालका कवितामा दरिलो, सुन्दर, उच्च एवम् दृढ विचार छन् । ती विचार पस्कने सुन्दर र सरल शब्द, भाव र शैली छन् । नेपाली वर्गसमाजका प्रतिबिम्ब छन् र सुन्दर भविश्यका मिठा सपना छन् । यसका साथै उनका कविताको महŒवपूर्ण पक्ष भनेको अग्रगामी विचारलाई सरल, सरस र सहज भाषा शैलीमा अभिव्यक्त गर्ने कला हो । यी कविताहरू बोधगम्य छन् । त्यसैले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रस्तुत कविता सङ्ग्रह ‘ज्वालामूखी फुटेपछि’ प्रकाशन गर्ने जमर्को गरेको हो । हामीले प्रस्तुत पुस्तक प्रकाशन गर्न पाउँदा सङ्गठनको गौरव महसुस गरेका छौं । हाम्रो सङ्गठनको नेवाः राज्यसमितिमा रहेकी शोभा एकीकृत नेकपा माओवादीको नेवाः राज्यसमितिकी सदस्य हुन् । जनयुद्धका क्रममा सो पार्टीकै केन्द्रीय सदस्य बढ्यौली–८ चितवन निवासी अनिल शर्मा ‘विरही’सँग पारिवारिक सूत्रमा बाँधिएकी श्रष्टा शोभा दलित आन्दोलनकी जुझारू नेतृ पनि हुन् । युद्धका क्रममा सङ्घर्षशील मोर्चामा रहेर भूमिका निर्वाह गरेकी शोभाले नेपाली समाजमा जे देखिन् त्यो लेखिन । जे भोगिन् त्यही लेखिन् । नेपालको ब्राह्मणवादी सामन्ती उच्च अहङ्कारवादी सत्ताको जाँतोमा दलिएको जातभित्र लैंगिकरूपमा पनि दोस्रो दर्जामा राखिएको लिङ्ग र वर्गीयरूपले श्रमजीवीवर्गमा जन्मिएकी शोभा दुलाल स्वयम् तीनवटा कडा चट्टानी पहाडले थिचिएकी, चेपिएकी, हेपिएकी र दविएकी श्रष्टा हुन् । त्यसैले उनका कवितामा जातीय उत्पीडन, वर्गीय उत्पीडन र लैङ्गिक उत्पीडनका कथा–व्यथाहरू पाइन्छन् । प्रस्तुत कविता कृति नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनको एउटा पुँजी हो । यो कृति नेपाली साहित्यका सबै अध्यताहरूका निम्ति पठनीय सामग्री बनेको छ ।