काठमाडौं । सरकारले संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेसँगै निजी अस्पतालहरुले पनि संक्रमितहरुको उपचार गर्न नसक्ने एकपछि अर्को घोषणा गर्न थालेका छन् । उनीहरुले अक्सिजन अभावलाई कारण देखाउँदै यस्तो घोषणा गरेका हुन् ।
अक्सिजन आवश्यक पर्ने संक्रमितहरुको संख्या दिनानु दिन बढ्दै जाँदा उपत्यकाका ११ भन्दा बढी अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामीको उपचार गर्न नसक्ने घोषणा गरेका छन् । यसरी घोषणा गर्नेहरु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुर, ओम अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, हिमाल अस्पताल, नेपाल भारतमैत्री अस्पताल लगायत रहेका छन् । अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न नसकिने उनीहरुको भनाइ छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरको कोटा छुट्याएपछि अस्पतालहरुले संक्रमितको उपचार भर्ना गर्न नसक्ने भन्दै धमाधम उनीहरु उपचारको दायित्वबाट पन्छिन थालेका हुन् । सिसिएमसीले अस्पतालमा बिरामीको चाप नहेरी अक्सिजनको कोटा छुट्याएको उनीहरुको गुनासो छ । सिसिएमसीले कोटा तोकेअनुसार वितरकले अक्सिजन उपलब्ध नगराउँदा झन् समस्या बल्झिएको उनीहरु बताउँछन् ।
अक्सिजन अभावमा मंगलबार र बुधबार गरी दुई दिनमा रुपन्देहीमा मात्र ११ जना संक्रमितको मृत्यु भएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० बेड भएका अस्पताललाई अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । तर निजी अस्पतालले छोटो समयमा अक्सिजन प्लान्ट व्यवस्थापन गर्न नसक्ने बताउँदै आएका छन् ।
नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार तत्काल अक्सिजन उत्पादन गर्न सक्ने अवस्था छैन । अक्सिजन उत्पादन गर्ने मेसिन आजभोलिमा आए पनि फाउन्डेशन तथा विविध पूर्वाधार बनाउन कम्तीमा ३÷४ महिना लाग्ने उनको भनाइ छ ।
नेपालमा साना÷ठूला गरी २० वटा अक्सिजन उद्योग छन् । तीमध्ये काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर