रहेनन बरिष्ठ साहित्यकार श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक्त ब्यक्त

देशभक्त कविको अवशानले अपुरणीय क्षति

प्रकाशित मिति : २०७८ बैशाख २६

- रवि पाण्डेय

नवलपरासी – बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै निवास बर्दघाट ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।
क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीका जिल्ला सल्लाहकार श्रेष्ठ यस क्षेत्रका निकै प्रतिभाशाली साहित्यकारका रुपमा परिचित हुनुहुन्थ्यो ।


ग्रामीण परिबेशका जनजिविकाका सवालमा चोटिला साहित्य रचना गर्ने उहाँका २ दर्जन बढी कृति प्रकाशित छन् । उहाँ एक एमसीसी बिरोधी अभियन्ता समेत हुनुहुन्थ्यो ।
विभिन्न राजनैतिक तथा सामाजिक परिवेशलाई आधारित बनाएर साहित्य रचना गर्ने उहाँले आफुलाइए एक देशभक्त राष्ट्रवादीका रुपमा उभ्याउनुभएको थियो । वर्गीय रुपमा निम्न मध्यम वर्गका उहाँका लेख रचनामा वर्ग पक्षधरताले ओतप्रोत छन् ।
बामपंथी धारलाइ कहिल्यै नछोडेका श्रेष्ठ पछिल्लो क्रममा बिचार र निष्ठा विनाको राजनीति प्रति निकै चिन्तित देखिनु भएको थियो । उहाँ क्रान्तिकारी माओवादीको जिल्ला सल्लाहकार सदस्यका रुपमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँको निधनप्रति क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी , क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासी लगायत दर्जनौ संघसस्थाले शोकबक्तब्य जारी गरेका छन् । यसै बर्ष जिवनसंगिनी गुमाउनु भएको श्रेष्ठका दुई छोरा दुई छोरी र १० नाति नातिनी छ्न । उहाँको शव त्रिवेणीधाममा अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

हेरौं श्रेष्ठको एक रचना

जागृति सन्देश
ताराप्रसाद श्रेष्ठ

तराई पहाड सुन्दर हिमाल, ‘‘ एमसीसीले ’’ खाने भो नेपाल
राष्ट्रियता स्वाभिमान बन्धकमा पारी ।
स्वाभिमानी जनतालाई बोकाइ ऋणको भारी ।।
पुर्खाका ती गौरवगाथा इतिहास सान ।
शहिदका सुन्दर सपना लागे वेचि खान ।।

बहुमतको सरकार आएर, जाने भयो देशलाई खाएर
अङ्ग्रेजलाई भगाउने विराङ्गना, विर ।
युद्वकला कौशलले बनाई उचो शिर ।।
स्वर्ण अक्षर ईतिहास नेपालको राम्रो ।
संसारलाई चिनाउने ‘‘सगरमाथा’’ हाम्रो ।।

जनताका मत गयो खेर, नेपाल आमा रुदैछिन लौहेर
कालापानी लिपुलेक लिम्पिया धुरा ।
देशभरि अतिक्रमण–सिमानाका कुरा ।।
डस्मिनमा फालीकन राष्ट्रवादि बन्छन् ।
विकासले झलमल देशपार्ने भन्छन् ।।

हुन्न भलो ‘‘एमसीसी’’ खाएर, व्वाँसो सङ्ग मितेरी लाएर
संस्कृति र सस्कारलाई बनाई थिलो–थिलो ।
शिकारीको भाग जस्तो लगाएर विलो ।।
संघियता, प्रदेश र स्थानिय तह ।
भ्रष्टाचारी माछा पाल्ने बनाएर दह ।।

लेण्डुपेको भुतले समायो, बालुवा टार यसरी रमायो
जाग उँठ ! स्वाभिमानी देशवासी सारा ।
राष्ट्रघात ( एमसीसी) को विरुद्धमा लगाएर नारा ।।
स्वाधिनता बचाउन मर्न परे मरौ ।
राष्ट्रघातको विरुद्धमा सबै अघि सरौ ।।
जागृतिको सन्देश बोकेर, अघि बढौ, एमसीसी रोकेर ।

२०७६–१०–२१–०३