
वैशाख २५ काठमान्डौ ।
कोभिड–१९को दोस्रो लहरका कारण कोरोना सङ्क्रमण सरकारको लापर्वाहीका कारण नियन्त्रण बाहिर गएको छ, । सङ्क्रमितहरु अस्पतालका चिसो छिंडीमा अक्सिजन नपाएर छट्पटाइरहेका छन् र लासहरु सडकमा अलपत्र छिरलिएका छन् । यो अवस्था भनेको सरकारको लापर्वाही नै हो । यस्तो अवस्थामा जनताको जीवनमाथि खेलवाड गर्दै सरकारले जनताको नि:शुल्क उपचार गर्न नसक्ने घोषणा मात्र गरेको छैन करोडौं रुपियाको कमिसनको चक्करमा निजी कम्पनीलाई खोपको आयात गर्ने अनुमति दिएर मेडिकल माफियालाई पोस्ने काम गरेको छ । सकारको यस्ताृे जनविरोधी कार्यका विरुद्ध आवाज उठाउन आव्हान गर्दै निम्न प्रेस वक्तव्य प्रकाशित गरिउको छ –
प्रेस–वक्तव्य
यतिबेला देशमा कोभिड–१९को दोस्रो लहरका कारण कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छ, सङ्क्रमितहरु अस्पतालका चिसो छिंडीमा अक्सिजन नपाएर छट्पटाइरहेका छन् र लासहरु सडकमा अलपत्र छिरलिएका छन् । यस्तो अत्यन्तै संवेदनशील अवस्थामा ओली सरकारले जनताको नि:शुल्क उपचार गर्न नसक्ने घोषणा मात्र गरेको छैन करोडौं रुपियाको कमिसनको चक्करमा निजी कम्पनी हुकमलाई खोपको आयात गर्ने अनुमति दिएर मेडिकल माफियालाई पोस्ने र आर्थिक हैसियत कमजोर भएको श्रमजीवि वर्गलाई कोरोना महामारीको उपचारबाट बञ्चित गराउने जनविरोधी अपराध गरेको छ । हाम्रो पार्टी यसको घोर विरोध र तीव्र भत्र्सना गर्दछ ।
स्वास्थ्य सङ्कटको यस्तो गम्भीर स्थितिमा निजी तथा सरकारी अस्पतालहरुलाई एउटै कमाण्डमा परिचालन गरी कोरोना सङ्क्रमितहरुलाई नि:शुल्क उपचारको व्यवस्था गर्न र सङ्कटको बेला जनताको सम्पत्तिको ब्रह्मलुट गर्ने मेडिकल माफियालाई कडा भन्दा कडा कार्बाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ । साथै प्राय: देशैभरि निषेधाज्ञा गरिएका कारण रोजगारी गुमाई दुई छाक चलाउन गाह्रो भएका सबैको र मुख्यत: असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन रक्षाका लागि आवश्यक राहतको व्यवस्थागर्न सरकारसँग विशेष माग गर्दछ ।
वर्तमान सरकार र अन्य सबै पार्टीहरु एकताबद्ध भएर चुनौतीको सामना गर्नु पर्ने विद्यमान परिस्थितिमा सत्ताधारी वर्गका संसदवादी पार्टीहरु सत्ता र सुविधाको भागबण्डाका लागि सत्ताको समीकरण मिलाउने काममा व्यस्त रहेका छन् । यसले “रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछन्” भन्ने भनाइलाई चरितार्थ गरेको छ । यो प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र त्यसलाई निर्देशित गर्ने साम्राज्यवादी नवउदारवादको असली चरित्र हो ।
देश अद्वितीय स्वास्थ्य सङ्कटका बीचबाट गुज्रिरहेको छ । यो स्थितिमा हाम्रो पार्टी सरकारको जनविरोधी स्वास्थ्य नीति र मेडिकल माफियाको कालोबजारीका विरुद्ध आ–आफ्नो ठाउँबाट आवाज उठाउन, आवश्यक सतर्कता सहित कोरोना सङ्क्रमितहरुको निश्पक्ष उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि अगाडि बढ्न सामान्यत: आम जनतामा र विशेषत: पार्टीका सम्पूर्ण कमरेडहरुमा विशेष अनुरोध गर्दछ ।
मिति : बैशाख २५, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)





























