नेपालमा किन क्रान्ति सफल हुदैन ?

नेपालमा किन क्रान्ति सफल हुदैन ?

विश्वमा कुनै पनि क्रान्ति एउटा खास उद्देश्य प्राप्तिका लागि गरिएका हुन्छन् । क्रान्ति सफल भए पश्चात देशको भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक, जातिय, क्षेत्रिय, भाषिक, सांस्कृतिक समग्र पक्षलाई समेटेर राज्य सञ्चालन गर्ने र सोहि अनुसारको ऐन, नियम, नीति, निर्देशिका बनाइन्छन् र लागू गरिन्छन् । यी सबै विषय प्राप्तिका लागि सबभन्दा पहिला कानूनी राज्य वा विधिको शासन वा न्यायमा आधारित समतामूलक शासनको सिद्धान्त अपनाइएको हुन्छ । अर्थात यसको अर्थ के हो भने कानूनभन्दा माथि कोहि पनि छैन । विश्वको शासन सञ्चालन विधिलाई केलाएर हेर्ने हो भने यहि नीति अवलम्बन गरेको देखिन्छ । चाहे त्यो नवउदारवादी प्रजातान्त्रिक सिद्धान्तमा आधारित शासन होस् या राजतन्त्रात्मक शासन प्रणाली या मिश्रित प्रजातान्त्रिक शासन प्रणाली या समाजवादी विचारबाट सञ्चालित प्रणालीमा आधारित होस् सबैमा कानूनको पालना अनिवार्य जस्तै छ । कानूनको नजरमा कोहि भन्दा कोहि सानो ठुलो छैन । त्यसैले त राष्ट्र प्रमुख या कार्यकारी प्रमुख प्रधानमन्त्रि जस्तो सम्माननीय व्यक्तिले समेत जेलसजांय भोगिरहेको इतिहांस जिउंदै प्रमाणको रुपमा देखाउन सकिन्छ । यहि कारण ती देशहरुमा एकपटक क्रान्ति पश्चात सानातिना घटना या अपबाद बाहेक शासन नै फेर्नु पर्ने गरि क्रान्ति गर्नु परेको छैन । तर नेपाल मात्र यस्तो देश रह्यो कि देशको विकास र नेपाली जनताको भविश्यमाथि लात हान्ने क्रुर, तानाशाहर सामन्त शोषकहरुको पक्षपोषक भनेर राजालाई गलहत्याउंदा पनि खै त किन उस्तै रह्यो त देशको अवस्था ? अझ नेपाली जनताले सबभन्दा आशा गरेको दश वर्षे द्वन्द्धबाट प्रभावित नेपालका ग्रामिण जनता जो दैनिक गुजाराको लागि खेति किसानी नै प्रमुख आर्थिक मेरुदण्ड थियो, त्यहि पेशा व्यवसाय आज मृतप्राय: हुदा पनि निशव्द भएर बस्न बाध्य छन् । मानौं तिनीहरुको ब्रेनमा ठूलै झट्का परेको छ र जसको कारण ब्रेन प्यारालाइसिस भएर बोलि नै बन्द भएको छ अथवा भनौं मानसिक रोगी भएका छन् ।
१. नेपालको भौगोलिक अवस्था र नेपाली समाज:
नेपालको भूबनावट अनुसार हिमाली क्षेत्र १७ प्रतिशत, पहाडी क्षेत्र ६८ प्रतिशत र तराई क्षेत्र १५ प्रतिशत रहेको छ । यसरी नेपालको भूवनोटलाई केलाउंदा के देखिन्छ भने हिमाली क्षेत्रमा धेरैजसो भागमा हिउं पर्ने भएको कारण खेतिपाती कम हुन्छ । त्यहांको मुख्य आयको रुपमा जौं, गौं, आलु र फापर देखिन्छ र चौंरी, भेंडा, च्यांग्राबाट राडीपाखी बुन्ने, चौंरीको दूधबाट चीज र छुर्पी आदिको आम्दानीबाट जीवन निर्वाह गर्नु पर्ने अवस्था छ । त्यहांको अर्को आम्दानीको स्रोत भनेको जडिवुटि रहेको देखिन्छ । अर्को नेपालको ठूलो क्षेत्रफल ओगटेको पहाडी क्षेत्रको मुख्य पेशा, व्यवसाय पनि खेतिकिसानी र पशुपालन नै हो । यस पहाडी क्षेत्रमा विशेष गरि प्राचिन समयदेखि पंचायती व्यवस्था रहंदासम्म पनि केहि समयसम्म नगदे वाली सुर्ति, गांजा, भटमास आदि प्रमुख देखिन्छन् । त्यसैगरि अन्य रैथाने उत्पादनहरु खुर्सानी, अदुवा, वेसार, लट्टे, जुनेलो, फिलिङ्गो, सिमि, बोडी, मस्याङ्ग आदि प्रसष्ट मात्रामा हुने गर्थे । खेतिकिसानीको अलावा तामा, फलाम खानी सञ्चालन गरी त्यसबाट राम्रो आम्दानी हुने गरेको इतिमांस पढ्नेले र केहि बुढापाकाबाट घुर्मिलो जानकारी पाउन सकिन्छ । प्रमुख वालीहरु मकै, कोदो, धान, गहुं आदिबाट बिहान बेलुकीको गुजारा चलेको देखिन्छ भने नगदे वाली र तामा, फलाम खानीबाट नेपालमै रोजगारीको सिर्जना भई आत्मनिर्भर रहन सकेको देखिन्छ । त्यसैगरि नेपालको तराई क्षेत्र जसलाई नेपालको अन्नभण्डारको रुपमा लिइन्छ, जसबाट उत्पादित धान, गहुं, दलहन आदिको उत्पादनले नेपाललाई मात्र पालेको थिएन, विदेशमा समेत निर्यात गरेर आम्दानी गरेको इतिहांस सगर्ब भन्न सकिन्छ । त्यति मात्र होइन सनपात, सुर्ति, उखु जस्ता नगदे वालीबाट नेपालका उद्योगहरु विराटनगर जुट मिल, सुर्य टोवागो, विभिन्न चिनी मिलहरु सञ्चालनमा रहेको र त्यसबाट धेरै कृषकहरुको आम्दानीको श्रोत बनेको मात्र होइन, केहि हदसम्म नेपालमै रोजगारको समेत श्रृजना गर्न सकेको थियो । जसबाट नेपालका केहि भाग्यमानी नेताहरुले राजनीतिक छबिलाई उचाइमा पु(याउने अवसर समेत प्राप्त गरेका थिए ।
नेपाली समाज अन्य देशहरुको तुलनामा अलि फरक किसिमको छ । यहांका रैथाने जातिहरु जो शताव्दिऔंदेखि आफ्नै भाषा, धर्म संस्कृति, पेशा व्यवसायमा रमाउने स्वभावका छन् र यहींको भौगोलिक वातावरण अनुसार आफुलाई बांच्न सक्ने बलियो आधारसमेत बनाउन सफल भएको देखिन्छ । यिनीहरुमा केहि लडाकु स्वभाव, सोझोपन, छलकपतरहित, सरल व्यबहार रहेको छ । यहि सोझो र अरुप्रति छिटो विश्वास गर्ने प्रवृत्तिका कारण मध्यकालमा आएर आफु आफुमै मारकाट गर्ने र एकले अर्कोलाई सिध्याउनको लागि अरुलाई उपयोग गर्ने गलत प्रवृत्तिको सिकार आफु मात्र भएनन् आफ्ना सन्ततिलाई समेत सदिऔं वर्ष पीडामा धकेले । यहि सोझो प्रवृत्ति र अरुले उचाल्दा उचालिने स्वभावको फाइदा नेपालका ताठाबाठाहरुले मात्र उठाएनन्, त्यसको फाइदा व्रिटिश र भारत लगायत धेरै देशहरुले समेत उठाएको देखिन्छ । यो संस्कार अझै पनि निरन्तर चलि नै रहेको छ । यिनीहरुको प्राकृतिक वा पुर्खौली पेशा व्यवसाय त्यतिबेलासम्म आत्मनिर्भर रहेको देखिन्छ, जतिबेला वस्तु विनिमयको रुपमा वस्तु साटासाटको परम्परा कायम थियो । यो उनिहरुको पुर्खौली सीप र पेशा विनिमयको रुपमा नगदको रुपमा कारोवार गर्ने प्रचलन शुरु भएता पनि त्यति धेरै असर गरेको थिएन । यो पेशा त्यतिखेरदेखि धराशायी हुदै गएको देखिन्छ, जतिखेर नेपाल विश्व व्यापार संगठनमा प्रवेश मात्र गरेन कि संगसंगै निजीकरणको नाममा कृषकहरुले उत्पादन गरेका सनपात, सुर्ति, उखु जस्ता नगदे वालीहरुको खपत गर्ने उद्योगहरु तहसनहस पारियो र लगातार नेपालका राम्रा उद्योगहरु जसले नेपाली जनतालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सक्ने र नेपालको अर्थतन्त्रलाई ठूलो प्रभाव पार्न सक्ने थिए । नेपालमा सञ्चालित यी राम्रा उद्योगहरु धराशायी बनाउनु नै नेपाली ग्रामिण जनताहरुको असली दु:ख, पीडाका दिनहरु श्ुरु भए । नेपाली जनताले उत्पादन गरेका वस्तुहरुले वजार पाउन छाड्नु र रोजगारको लागि खाडी मुलुक खुला हुनु पनि नेपाली ग्रामिण अर्थतन्त्रमा कालो बादल मदारिनु हो ।
नेपालमा जातिय, भाषिक, राजनीतिक, आर्थिक, धार्मिक, क्षैत्रिय, लंगिक, शैक्षिक सबै क्षेत्रमा उत्पिडन छ । यहि उत्पिडनको कारणले हुन सक्छ, नेपालमा कम्युनिष्टप्रति अत्यधिक लगाव रहेको देखिन्छ । भनिन्छ, नेपालमा ७० प्रतिशत जनता कम्युनिष्टप्रति आस्था राख्छन् । यसो हुनुमा कम्युनिष्ट विचारधारा बुझेर होइन, क्रान्तिकारी र उनिहरुको पीडाको कुरा बोलिदिएको कारण हो । यहि क्रान्तिकारी र अग्रगमनको भावनासंग मेल खाने केहि जातिहरु लडाकु स्वभाव भएकै कारण पनि नेपालमा कम्युनिष्टप्रति बढि झुकाव देखिएको हो । नेपाली कम्युनिष्टमा यति धेरै टुट्फुट र विचलन आउंदा पनि नेपाली जनतामा कम्युनिष्टप्रति अगाढ प्रेम छ किन भने नेपालमा अत्यधिक उत्पिडन छ । नेपालको कम्युनिष्टमा कस्तोसम्मको रोग देखिएको छ भने एउटा पार्टी संगठनमा सिंगै एकजना अध्यक्ष मात्र पनि देखिने गरेको छ । नेपालको भौगोलिक परिवेश, क्रान्तिकारी जनता, उत्पिडनको चरम श्रंखला, नेपालकै उत्पादन र परम्परागत सीप, कलाको उच्चतम प्रयोगबाट आत्मनिर्भर अर्थतन्त्रको सम्भावना, इमान्दार र मिहिनेती जनता, प्रचुर मात्रामा प्राकृतिक स्रोतसाधन, प्राकृतिक सोन्दर्य र बिबिध सस्कृति तथा परम्पराबाट पर्यटनको सम्भावना बोकेको देशका जनता आज माग्ने अवस्थामा पुग्दा समेत हामी राजनीतिक गफ हांकेर नथाक्ने र भाषणमा उत्पात क्रान्तिकारी राजनीतिक दलहरु नै नेपालको सबभन्दा घारो सिद्ध भएको घाम झैं छर्लंग भैसके जस्तो लाग्दैन ? भनेर प्रश्नको जवाफ खोज्न नेपाली जनता कता जाने ? नेपाली जनतामा यति बिघ्न निराशा किन पनि आएको हो भने नेपालको वास्तविक अर्थतन्त्रको मेरुदण्ड मानिने किसानले उत्पादन गरेका अन्नवाली र तरकारी, फलफूलहरुले वजार नपाउनु मुख्य रहेको छ । त्यसको अलावा गाउंका स्थानीय रुपमा घरेलु उद्योगका रुपमा जांड रक्सि, गांजा खेति, तामा तथा फलाम खानी आदि बन्द गरिनु नै जीविकामाथि कुथाराघात थियो । बाँच्न पाउने र रोजगारको हकमाथि नांगो हस्तक्षेप थियो । राज्य सत्तालाई राम्रोसंग थाहा थियो, यदि यिनीहरुको पुर्खौली पेशालाई अबैधानिक घोषणा गरेर बन्द नगरिदिने हो भने सरकारभन्दा बलिया हुनेछन् । यहि डरले ती पुर्खौली पेशाहरुलाई अबैधानिक घोषणा गरि बन्द गरिएको हो भन्ने कुरा ती निरिह स्थानीय गाउंलेहरुको जीवनशैली र रहनसहनलाई हेरेर प्रष्ट हुन्छ । त्यसैको सिको आज गणतन्त्रसम्म आइपुग्दा पनि उस्तै रहनु सांच्चै यो व्यबस्थालाई गिज्याए जस्तो लाग्दैन र ? यी संसदवादी गणतन्त्रवादी त पश्चगामी भए रे, अनि हामी प्रगतिवादी र अग्रगमनका पक्षधरचांहि यस विषयमा कहां छौं त ? के त्यसको लागि पहल गर्नु पर्दैनथ्यो ?
२. नेपालको मध्यम वर्ग र नेपालका राजनीतिक ठालु:
नेपालमा सर्बशक्तिमान् छ भने यहि मध्यम वर्ग नै छ । यो संगसंगै जोडिएर आउने अर्को शव्द राजनीतिक ठालु हो, यो दुई वटै वर्ग एउटै पाटाका दुई सिक्का हुन् भन्दा फरक नपर्ला । जसको बारेमा कहि पनि लिखित दस्तावेज छैन । नेपालको राजनीतिमा यसैले प्रमुख भूमिका खेलेको देखिन्छ । यसको स्वभाव कस्तो देखिन्छ भने अग्रगमनतिर जानै नदिने । यसलाई सिधा अर्थमा भन्नु पर्दा यथास्थितिमा रमाउन चाहने । चाहे कुनै पनि संगठन किन नहोस्, त्यहां आफ्नो भविश्य सुरक्षित छ छैन पहिला हेरिन्छ अनि निर्णय गरिन्छ । अन्यथा त्यो विषय अगाडि बढ्न सक्दैन । यो प्रवृत्ति कतै बांकी छ भने त्यहि गरीवि, निमुखा, असाह्य, निहत्था, जहां गएर केहि पाउन सकिदैन । यहांभित्रबाट पनि जब आरक्षणमार्फत वा तिनीहरुको समुदायभित्रबाट पनि अलि जान्ने सुन्ने भई तोपल्छ अनि उ पनि त्यहि व्यहोरा देखाइहाल्ने । नपत्याए, नेपालमा रहेका कुनै पनि संघ/संगठन/पेशा व्यवसाय/सेवा सुबिधा मात्र होइन एउटा सानो क्षेत्रमा काम गर्ने जिम्मेवारी लिएको पदमा समेत त्यो प्रवृत्ति प्रष्ट देख्न सकिन्छ । मानिलिउं, जिम्मा लिएको छ कुनै गरीवि निवारण संगठनको । जहां गरीवि उन्मुलनका लागि कार्यक्रम गरिन्छ, त्यहां तिनै गरीवहरुलाई जम्मा पारेर भाषण गरिन्छ र पांच वर्षभित्र सबैले गरीविबाट उन्मुक्ति पाउने क्रान्तिकारी भाषण गरिन्छन् तर कार्यान्वयन हुदैन । कागजी गरीवि निवारण भैसकेको हुन्छ । जागिर र सेवा सुबिधा पाउने पनि उनिहरुकै वरिपरिका मात्रै हुन्छन् । ती वास्तविक गरीविमा पिल्सिएकाहरुले पत्तोसम्म पनि पाउदैनन् । यो कुनै मनगढन्ते र हावादारी गफ गरिएको र लेख्नको लागि मात्र लेखिएको होइन । यदि विश्वास लाग्दैन भने ठूला संगठनमा त थाहा भइरहेकै हुन्छन्, साना भन्दा साना र उत्पिडनमा परेका भनिएका संगठनहरुमा समेत प्रवेश गरेर अध्ययन गर्न सकिन्छ कि वास्तविकता के रहेछ भनेर । अध्ययनतिर नलागौं, यस विषयलाई राम्रोसंग बुझ्नको लागि सरकारले वितरण गरेका गरीवि परिचय पत्र, सुकुम्वासी परिचय र सरकारले वितरण गर्ने विभिन्न अनुदान र सुबिधा हेरे मात्र पनि प्रष्ट भैहाल्नेछ ।
राजनीतिक दलभित्र प्रवेश गरौं न । त्यहां पनि त्यहि प्रवृत्ति छ । यति धेरै घृणित र कुकृत्यहरु भैरहेको झलझली नेपाली जनताहरु देख्न र सुन्न विवस छन् । तिनलाई कसले कार्यवाही गर्नु । सबै कुरा उनिहरुकै हातमा भएपछि कसले छुन सक्छ र ? एउटा वडाध्यक्षले पुरै गाउं नै उसको अधिनमा राख्छ । उसले जे भन्यो त्यहि सदर । एउटा देशमा सुशानको कुरा आउंदा सबभन्दा पहिले त्यहां कानूनी व्यवस्था कस्तो छ भनेर बुझ्नु पर्ने हुन्छ । शासन जे जस्तो भएता पनि यदि कानूनी राज्यको उचित प्रबन्ध गरिन्छ र सबैले कानूनको पालना गरिन्छ भने त्याहां स्वत: अमनचयन कायम हुन्छ । विडम्बना, नेपालमा हेरौं त, अन्य विषयमा त के कुरा, लिखित संबिधानको बर्खिलाप खुलमखुाल्ला व्याख्या गरिन्छ र संबिधानका बिपरित कार्यहरु गरिन्छन् । त्यो पनि कानूनको व्याख्या र विश्लेषण गर्नेहरुबाटै । नेपालका राजनीतिक दलहरुले गरेका यहि कुकृत्य र गलत कार्यको सिकार निमुखा नेपाली जनता हुन बाध्य छन् । नेपालको बिगतदेखि बर्तमानसम्मको राजनीतिक परिवेशलाई केलाउंदा यहां पश्चिमा जगतका आधुनिक राजनीतिक विचारक निकोलो मेकियावेलिका राजनीतिक सम्बन्धि दर्शनको दृष्य अगाडि तेर्सिन आइपुग्छ । उनको विचारमा राज्य शक्ति प्राप्त गर्न, त्यसलाई टिकाइराख्न नैतिक वा अनैतिक जस्तो कार्य गर्न पनि पछि पर्न नहुने सल्लाह दिएका छन् राजनीतिज्ञहरुलाई । मलाई के लागेको थियो भने हुदै नभएको विचार हाम्रा नेताहरुलाई कसरी आए होला भन्ने ? तर त्यो खुलदुली राजनीतिक दर्शन अध्ययन गरेपछि मात्र थाहा भयो कि यिनीहरुले यति धेरै ज्ञान कहांबाट प्राप्त गरे भनेर । पश्चिमा जगतका प्लेटो, अरस्तु देखि लिएर आधुनिक मेकियावेलीसम्मका राजनीतिक गुरुहरुका विचारबाट प्रभावित हाम्रा नेपाली राजनीतिक दलहरु पनि के कम ? प्लेटोको आदर्शवादी कानूनी राज्यभित्र नैतिकता र परिवारमा समाजवादबाहेक सबै जायज नेपाली राजनीतिक दलहरुलाई । यिनै विचारहरुबाट प्रभावित राजनीतिक गुरुहरु र मध्यम वर्गीय सोंचभन्दा माथि उठ्न नसकेकै कारण हो आजको दिनसम्म पनि नेपाली जनताले न्यायमूलक र समतामूलक राज्य सत्ताबाट सधैंको लागि बिमुख हुनु परेको । अहिलेसम्मको घटना, परिवेशलाई मूल्यांकन गरेर हेर्दा के प्रष्ट हुन्छ भने भोलिका दिनमा हुन सक्ने परिवर्तनले पनि नेपाली जनता र समग्र नेपालको भलो वा हित गर्ला भनेर विश्वास गर्ने ठाउं कतै अन्तर कुन्तरमा लुकेर बसेको छ जस्तो लाग्दैन ।
यदि यस्तो हुदैन थियो भने यो उदाहरण पनि हुन सक्छ, अन्य बिभिन्न झालेमाले सिद्धान्त बोकेका पार्टिका कुरा नगरौं एउटा निश्चित र स्पष्ट विचार बोकेका नेतृत्व क. प्रचण्ड, क. लालध्वज कसरी छेपारो जस्तो रंग बदल्न सकेको ? दश वर्षे द्वन्द्धपछि शान्ति प्रकृयामा अवतरण पश्चात अलिकति थोरै राजनीनिक भाषा बुझ्नेले पनि अनुमान लगाउन सकिन्थ्यो कि कांग्रेस, एमाले लगायत पश्चिमा जगत सबैले गलाएर, धम्क्याएर, तर्साएर जसरी भए पनि संसदीय भुमरिमा पार्ने षडयन्त्रण रच्दै छन् भन्ने प्रष्ट हुन्थ्यो । ती दुई पात्र त ठीक छ फसिसकेका थिए, त्यहां भित्र रहेका क्रान्तिकारी विचारका ती नेतृत्व र युवाहरु के कसैलाई पनि यो कुरा ज्ञात थिएन होला कि नेतृत्व गलत बाटोमा जांदैछन् भन्ने ? किन त्यसलाई कसैले पनि रोक्ने कोसिष समेत गरेन ? त्यसपछिका घटनाक्रमलाई केलाउंदा पनि अग्रगमनलाई भित्रैदेखि स्वीकार गरेको जस्तो लाग्दैनन् । जस्तो एक जना हस्ति जो द्वन्द्धकालमा जनसरकार प्रमुख समेत भएका थिए । उनि नेतृत्वदेखि निराश भए होलान तर माक्र्स, लेनिन र माओ विचारधारा बोकेर त्यत्रो दु:ख भोगेको मान्छेले चटक्क त्यो विचारलाई त्यागेर कसरी व्यक्तिगत कम्पनी सञ्चालन गर्न पुगे ? हो, माओको विचारमा राष्ट्रिय पुंजि निर्माण गर्नु पर्छ तर पुंजिवादमा जस्तो व्यक्तिगत वा नीजि स्वार्थलाई मात्र फाइदा पुग्ने गरि गर्नु हुदैन भनिएको छ । उनले त अहिले शुरु गरेका व्यवसाय नै रोल्पाका समेत्न सक्ने जति समुदायलाई समेटेर सहकारीताको माध्यमबाट गर्नु पथ्र्यो । माओले भने जस्तै जनवाद नै समाजवादको प्रवेशद्वार हो भन्ने सिद्धान्तलाई आत्मसात गरेर अगाडी बढ्न सक्नु पथ्र्यो । अब मेरो दिमागमा एउटा प्रश्नको उत्तर कोबाट पाउने होला भन्ने व्यग्रता चलिरहेको छ, त्यो हो अब बादल दाजुको राजनीतिक भविश्य के होला ?
३. नयां जनवाद शहरबाट होइन, गाउंबाट झांगिन्छ:
कार्ल माक्र्सले जुन परिस्थितिको मूल्यांकन गरेर कम्युनिष्ट पार्टीको घोषणा गरेका थिए, त्यो भनेको औधोगिक मजदुरहरुको चरम शोषणलाई शक्तिमा बदलेर उनिहरुकै हातमा राज्य सत्ताको पहंच गराउनु थियो । यसैको उपज नै उनको वैज्ञानिक समाजवादी विचारको प्रतिपादन थियो । जहां सांचो अर्थमा भन्नु पर्दा मजदुर, उत्पिडित जाति, क्षेत्र, लिङ्ग, किसानको लागि राज्य सत्ता थियो भने शोषक, सामन्त र उद्योगी, पुंजिपति वर्गहरुको विरुद्ध दमन । यसरी शुरु भएको समाजवादी क्रान्ति चिनमा गएर माओले फरक ढंगले चिनको विशेषता अनुसारको क्रान्तिको मोडल तयार पार्न सफल भए । माक्र्सको विचारधारा अनुसार पुंजिवादी समाजमा मात्र क्रान्ति सफल हुन्छ भन्ने विचार विपरित अर्धसामन्ति, औपनिवेशिक वा अर्धऔपनिवेशिक देशमा पनि क्रान्ति सफल हुन्छ भन्ने धारणा अघि सारे । उनले क्रान्ति पुरा गर्नको लागि गाउंदेखि शहर घेर्ने, बिभिन्न राजनीतिक शक्तिसंग सहयोग र संयुक्त कार्यगत एकता, आवश्यक पर्दा सरकारसंग पनि साझेदारी गर्दै समय र परिस्थिति अनुसार क्रान्ति सफल बनाउन सफल भएको देखिन्छ । उनले शक्ति प्राप्तिका लागि जनतालाई नै सबभन्दा नजिकका मित्र मानेका छन् । अर्थात जनता नै शक्तिको श्रोत मानेर पार्टीका हरेक विचार जनतासंग छलफल र जनतामा लागु गरेर मात्र सफल हुन्छ भन्ने मुलमन्त्र प्रयोग गरेको देखिन्छ । सोहि नीति अनुसार उनले शहरबाट प्राध्यापक, इन्जिनियर, विद्यार्थी, शिक्षक, कार्यकर्ता गाउंमा सिक्न पठाएका थिए । उनको विचार के थियो भने जनता र राजनीतिक पार्टीको विचार एकआपसमा मिल्न गयो भने मात्र क्रान्ति सफल हुन्छ ।
नेपालमा भने ठीक उल्टो गाउंका जनताले थाहा पाउला जसरी गाउंका नेतासमेत शहरमा आएर पार्टीमा राजनीतिक विचारभन्दा पद पाउन चाकडी गर्ने वा नेताको वरिपरि घुम्ने र नेतृत्वले केहि गर्न नसकेको गुनासो पोख्दै गनगन गर्दै हिडिरहेको देख्नु परेको पीडा ओकल्नु परेको छ । नेतृत्वले पनि प्रष्टसंग जनतासंग जोडिन कार्यकर्तालाई जोडबल नगरे जस्तो देखिनु नेतृत्वको चाहना पनि त्यहि हो या विचार र सिद्धान्तले मेल खाएको हो त्यो प्रष्ट हुन सकेको देखिदैन । नेपालको सन्दर्भमा पनि चिनकै जस्तो अर्धसामन्त, अर्धऔपनिवेशिक परिस्थिति रहेको र त्यो भन्दा पनि पीडादायक भूपरिवेस्थित देश हुनुको पीडा नेपाली जनताले भोगेको कसलाई पो ज्ञान नहोला र ? त्यसमाथि नेपाली राजनीतिक दलका प्राय: नेतृत्वहरु आफ्नो शक्ति र सत्ता बचाउनको लागि जे पनि गर्ने परम्परा जस्तो देखिन्छ । विशेषगरि भारत बेलायतको राजनीति सिद्धान्तभन्दा बाहिर निस्कन नसक्नु र नेपाल पनि भारतको राजनीतिभन्दा बाहिर निस्कन नसक्नु नेपाली जनताको लागि ठूलो ग्यास्टिक रोग बनेर बसेको छ । यसबाट मुक्ति पाउनको लागि त पहिला नेपालको परम्परागत नीति, नियम, धर्म संस्कारलाई विकसित गर्दै सोहि अनुसारको अर्थनीति अपनाउन सक्नु पर्छ । त्यो भनेको नेपालको उत्पादनलाई हरतरहले सुरक्षा गर्नु पर्छ । नेपाली उत्पादनलाई बढावा दिने गरि नीति, निर्देशन र उत्पादित वस्तुहरुले सहज वजारमा पहुंच र वजारमा खपत हुन नसक्ने आई परेमा त्यसको व्यवस्थित र उचित भण्डारणको व्यवस्था लागु गर्नु पर्छ । नेपालमा बढि भएका वस्तुहरुको विदेशमा समेत सहज पहुच बनाउन सक्ने शक्तिशाली विचार बोकेको सांच्चिकै क्रान्तिकारी पार्टीको खांचोको महशुस नेपाली जनताले गरेका छन् । त्यस्तो व्यक्ति त माओ मात्र थिए तर के नेपालमा पनि माओ जस्तै विचारलेयुक्त व्यक्तिको जन्म हुन सम्भव होला ?
४. अबको निकास, जनताले सुनिश्चित भविश्यको ग्यारेन्टि चाहेका छन्:
नेपाली जनता त्यस्तो क्रान्ति नायकको खोजिमा छन् जसले बिगतदेखि बर्तमानमा रहेका नेतृत्वहरुले भ्यागुता जस्तो उफ्रने विकास गर्ने, घरघरमा ग्यांसको पाइप पु(याउने र पानी जहाज चलाउने, काठमाडौं शहरलाई सिंगापुर, स्वीट्जरल्याण्ड जस्तो बनाउने खोजेका छ्रैनन् र खोजेका छन् त नेपालको माटो सुहाउंदो र नेपालको मौलिक, प्राकृतिक, नेपाली परम्परा अनुसारको विकासको मोडल खोजेका छन् । त्यो पनि उधारो होइन, हाताहाती । किन उधारोमा विश्वास गर्न छोडे भने नेपाली जनताले धेरै धोखा खाइसके । हो, नेपाली जनताले ती शहरीय नेतृत्वहरुले गाउंका कुना कण्दरामा रहेका परापुर्वकालदेखि बांच्न सिकेका सीप, कलालाई अझ परिस्कार गर्दै र तिनीहरुको संरक्षण गर्दै सोहि अनुसारको विकासको मोडल तयार पार्न सक्ने नेतृत्व खोजेका छन् । ती निमुखा जनताहरुले हाम्रो मात्र होइन, समग्र देशको विकास गरोस् भनेर चुनेर पठाएका भाइभतिजा, आफन्ति सबै व्यक्तिगत स्वार्थमा लागेकै कारण उनिहरु र उनिहरुको सन्तानले त त्यसै दु:ख पाइरहेकै छन्, त्यसको साथसाथमा समग्र नेपाल र नेपाली जनताले समेत दु:ख भोग्न बाध्य भएका छन् । अब नेपाली जनताले माओले भने जस्तै गरीव, किसान, मजदुर, हलिया, सुकुम्वासी, उत्पिडित जाति, क्षेत्र, लिंङ्ग सबैको स्वामित्व रहने गरि विकासको मोडल खोजेका छन् जहां सबैको अपनत्व होस् । यिनीहरुकै नेतृत्व रहने गरि राज्य सिद्धान्त र राज्य निर्माणको एउटा बलियो र शसक्त राजनीनिक विचारको दर्शन निर्माण लाग्नु जरुरी रहेको छ । जसले समग्र नेपाली जनताकोमा मात्र होइन, विश्व सर्वहारा वर्गको विश्वासिलो राजनीतिक विचार सिद्धान्त बन्न सफल होस् ।
नेपालीहरुले भाग्यमा विश्वास गर्ने कि नेपालमा शासकहरुका रुपमा प्रकट महान राजनीतिक नेतृत्व र सरकारको कार्यपालिकाहरुको विभिन्न अंग जसले नीति, नियमहरुको कार्यान्वनमा सहयोगी भूमिका निभाउने कर्मचारी, प्रहरी प्रशासनहरुले गरेका गलत कर्तुतहरुको सजांय नेपाली जनताले भोग्न बाध्य र विवस छन् भनेर विश्वास गरेर बस्ने । अब नेपाली जनताले भाग्यलाई दोष दिएर र नेपाली राजनीतिक दलहरुका नेतृत्वलाई दोष दिएर आफैलाई धिक्कारेर बस्ने समय छैन । अनि यिनै मध्यम वर्गहरुको यथास्थिति मनस्थिति जस्तो राजनीतिक ठालुहरुले थोपारेको गोवर जसरी थुप्रोलाई सत्तोसराप गरेर बस्नु उचित छैन । चिनमा माओले सांस्कृतिक क्रान्ति चलाए जस्तो यिनै यथास्थितिवादीहरुलाई तह लगाउनु परे पनि पछि हट्नु हुदैन । अन्यथा हामी त सधैं पिडित भैरहेकै छौ, हाम्रा सन्ततिहरुले समेत हामीलाई धिक्कार्ने छन् र भन्ने छन् यति जाबो सानो काम पनि गर्न नसकेर हामीलाई दु:खमा फसाएछन् । यो काम गर्नलाई नेपालमा त्यति धेरै कठिन छैन । यहां उत्पिडितहरुको कमि छैन । त्यसैले उत्पिडितहरुको एउटा बलियो संगठन बनाउन सक्यौं र हामीबीचमा एउटा बलियो उत्पादनको संयन्त्र बनाएर आफ्नै बलियो वजार बनाउन सकियो भने क्रान्तिको जेहाद छेद्न र हामीले चाहेजस्तो राज्य सत्ता प्राप्ति गर्न कत्ति पनि समय लाग्ने छैन । यदि यसको नेतृत्व गर्न अहिलेका राजनीतिक ठालु र मध्यमवर्गीय समुदाय सांच्चै इमान्दार हो भने चिनमा माओले गरेजस्तै नेपालको मेरुदण्डको रुपमा रहेको कृषकहरुले उत्पादन गरेका अन्न, तरकारी तथा फलफूलहरुले वजारको सुनिश्चित गर्ने कुन बाटो अपनाउनु पर्ने हो सो को पहल गर्न ढिलाई गरिनु हुन्न र जो उत्पादन गर्नको लागि साधन र स्रोत छैन तिनीहरुलाई समेत संलग्नता हुने गरि उत्पादन कार्यलाई जोड्दै नेपालमै रोजगारको बाटो सृजनाको पहलकदमी लिनु पर्छ र यी कार्यमा आइपर्ने समस्यासंग जुध्न सक्ने शक्तिको विकास गर्नु समयको माग हो ।