चैत्र २४ को धारा भनेको जनयुद्धको धारा हो, जनयुद्धको प्रक्रिया जारी छ : मोहन वैद्य किरण

प्रकाशित मिति : २०७७ चैत्र २४

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ३२ औं जनआन्दोलन दिवसको अवसरमा पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा गरिएको जनसभा तथा प्रदर्शनलाई सम्बोधन गर्दै चैत्र २४ को धारा क्रान्तिकारी र चैत्र २६ को धारा अवसरवादी धारा भएको बताउनु भएको छ । ०४६ साल चैत्र २४ मा भएको जनआन्दोलनको उत्कर्षको सम्झना गर्दै महासचिव किरणले चैत्र २६ मा तत्कालीन राजा, पञ्च, कांग्रेस र बाममोर्चाबीच भएको सहमतिले उत्कर्षमा पुगेको आन्दोलनमाथि धोका र गद्दारी गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “जनआन्दोलनको माग गणतन्त्र थियो । तर संवैधानिक राजतन्त्रमा लगेर आन्दोलन टुंग्याइयो । त्यसैकारण चैत्र २६ गतेको सम्झौता धोका र गद्दारी थियो । त्यो अवसरवादी र संसदवादी धारा थियो । त्यसका विरुद्ध चैत्र २४ अर्थात् जणतन्त्रका पक्षधरहरुले क्रान्तिको झण्डा उठाए । त्यही धाराले दशवर्षसम्म जनयुद्ध लड्यो ।”
दशवर्षे जनयुद्ध लडेर आएका प्रचण्डहरु अहिले चैत्र २४ को क्रान्तिकारी धारालाई त्यागेर चैत्र २६ को अवसरवादी धारामा पतन हुन पुगेको चर्चा गर्दै उहाँले पछिल्ला घटनाक्रमसम्म आइपुग्दा नेपालमा २६ चैत्रको अवसरवादी, संसदवादी तथा संशोधनवादी धारा पूर्ण रुपमा असफल हुन पुगेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “चैत्र २४ को धारा भनेको क्रान्तिको धारा हो । यो जनयुद्धको धारा हो । जनयुद्धले धोका खाए पनि जनयुद्धको प्रक्रिया जारी छ । नयाँ जनवादी क्रान्ति जारी छ । चैत्र २४ गतेको जनआन्दोलन दिवस मनाउनुको मुख्य सन्देश भनेको नै यही हो ।”
जनगणतन्त्र र वैज्ञानिक समाजवादको लागि संयुक्त संघर्षको आवश्यकता रहेको चर्चा गर्दै आफ्नो खुट्टामा नउभिई क्रान्तिको नेतृत्व गर्न नसकिने बताउनु भयो । क्रान्तिको बिउ विचार र जनताको समस्यामा रहने बताउँदै महासचिव किरणले अब भीषण क्रान्ति हुने भविष्यवाणी गर्नुभयो । त्यसबेला सेना र पुलिसभित्रका देशभक्त क्रान्तिकारी तप्काले विद्रोह गर्ने र प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध उनीहरुले पनि निर्णायक संघर्षमा भाग लिने बताउनु भयो ।
राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र जनजीविकाका सबाल अत्यन्तै विकराल बनेर गएको अहिलेको अवस्थामा अब हुने भीषण क्रान्तिले मात्रै ती समस्याको वास्तविक समाधान दिने कुरामा जोड दिनुभयो ।
जनसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको नाममा पार्टी एकता गरेर दुई तिहाइ मत पाएकाहरुले पचास बर्ष सत्ता चलाउछौं भन्थे अदालतको एक मुक्काले तीन टुक्रा बनेको भन्दै व्याङ्ग्य गर्नुभयो । संसदवादी र संशोधनवादीको औचित्य सकिएको भन्दै मुलुकमा उत्पन्न हुँदै गरेको महासंकटले उनीहरुलाई बढारिदिने ठोकुवा गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका अध्यक्ष गजुरेलले मुलुक र जनताको जिम्मा अब क्रान्तिकारीहरुले लिने बेला आएको बताउनु भयो ।
जनसभालाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अनेकिमहासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले वक्ताको रुपमा महत्वपूर्ण भनाइहरु राख्नु भएको थियो ।
जनसभाको सञ्चालन नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बाक्लो जनसहभागिता रहेको थियो ।