३२ औं जनआन्दोलन दिवस संघर्षको रुपमा मनाउँदै क्रान्तिकारी माओवादी, आज सातै प्रदेशका सात सहरमा जनसभा तथा प्रदर्शन

प्रकाशित मिति : २०७७ चैत्र २४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पूर्व निर्धारित कार्यक्रम अनुसार चैत्र २४ अर्थात् ३२ औं जनआन्दोलन दिवसलाई संघर्षको रुपमा मनाउँदैछ । देशका सात प्रदेशका सात सहरमा एकसाथ जनसभा तथा प्रदर्शन गरिंदैछ । ३२ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजना गरिएको जनसभालाई प्रभावकारी बनाउन आवश्यक सबै तयारी गरिएको सातवटै प्रदेशका नेताहरुले जानकारी दिनुभएको छ ।

काठमाडौंको रत्नपार्क, विराटनगरको ट्राफिकचोक, बाँकेको कोहलपुर, पोखराको पृथ्वीचोक, कैलालीको अत्तरिया र सुर्खेतको विरेन्द्रचोकमा नारा जुलुससहितको जनसभा तथा प्रदर्शनको कार्यक्रम हुँदैछ । पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ब्यानरमा हुने काठमाडौंको जनसभालाई पार्टी महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नुहुनेछ । त्यसैगरी विराटनगरको सभालाई पार्टी प्रवक्ता हरिभक्त कँडेल, पोखराको सभालाई देजमोका महासचिव परि थापा, अत्तरियाको जनसभालाई पार्टी स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज रामसिंह श्रीस, लुम्बिनीको सभालाई पार्टी पीवीएम प्रेम सुवेदी, देजमो उपाध्यक्ष केवि गुरुङ, सुर्खेतको जनसभालाई पार्टी पीवीएम सीपी शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देशैभर क्रान्तिकारी माओवादीले आजको जनसभामा हजारौंको संख्यामा जनपरिचालन गर्दैछ । क्रान्तिकारी माओवादीले प्रतिक्रियावादी संसदीय व्यवस्थाको खारेज गरौं, संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरेको छ ।