
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको जनाएकाे छ । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताउँदै आएकाे छ ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएकाे हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
