काठमाण्डु

कविता

प्रकाशित मिति : २०७७ चैत्र २१

- दीपक विश्वकर्मा

नसकिने भो काठमाण्डु तँसँग
तँ बहुतै निर्मोही भइस्
तेरो काखमा बसेका मान्छेहरू
तेरो दशधारा दुध चुस्ने सन्तानहरू
तेरो न्यानो काखमा लुटपुटिने अधमहरू
मान्छे !
हँ मान्छे हुन सकेनन् नि काठमाण्डु
आजसम्म यी अधम नै रहे ।

विपतमा मान्छेले ज्यान दिन्छ
अर्काको लागि,
विपतमा मान्छेले रगत दिन्छ
अर्काको लागि,
विपतमा मल्लयुद्ध गर्दछ
बाघसँग मान्छेले,
उर्लदो भेलमा हाम फालेर
डुब्दालाई तार्दछ मान्छेले
आफू सेरिएर अरूलाई बचाउँछ मान्छेले
तर,
काठमाण्डु तँ अधम रहेछस्
तँ हृदयले खोक्रो रहेछस्
बिहान सूर्यलाई अघ्र्य दिएर,
के भो काठमाण्डु तैंले
महापूजाको लस्करमा लामलागेर
पशुपतिमा छाँद हालेर के भो काठमाण्डु तैंले ?
घरै पिछे द्यौता पुजेर
गेरु र चन्दनले ललाट रङ्गाएर
रामनामीको छद्म कात्रो ओढेर
के भो काठमाण्डु तैंले ?
जब,
जरुरतको बेला
सर्वश्व गुमेको विपतको बेला
ओत लाग्ने झोपडी उजाडिएको बेला
तँ,
परम्पराको नाममा
चलन, रित र संस्कारको नाममा
तँ मान्छेको आड बन्न सक्दैनस्
तिर्खाएकालाई पानी खुवाउन सक्दैनस्
ओत नहुनेलाई बास दिन सक्दैनस्
थुइक्क काठमाण्डु
तँ, मान्छेको थात बन्न सकिनस् ।

विशे नगर्चीको रुप्पे दानको प्रतिफल होस तँ
गोर्खेले नाक कान काटेको कुरो साँच्चै होला
तर, त्यो कार्य गलत थियो,
काट्नु पर्ने त
अर्कै रहेछ
तेरो अहङ्कार
कथित् जातको भूमरीमा रुमलिएको तेरो अहम्
आफ्नै अंसीयारहरूको पानी नचल्ने तेरो परम्परा
भोका नाङ्गा छिमेकीसँग छिमलिने कथित् शुद्धता
आजसम्म झाँगिएर रहेको तेरो जातीय गौरव
गोर्खेले काट्नु पर्ने हो
काटेन,
जो काट्नु पर्ने थियो
त्यो काटेन
जो नकाट्नु पर्ने हो त्यो बाँकी राखेन ।

धिक्कार छ काठमाण्डु
मैले बास नपाउनु कुनै मानेको कुरो रहेन
मैले प्रवेश नपाउनु कुनै अनौठो कुरो रहेन
तर,
तेरो काखमै हुर्केका हनुमन्ते पाखाका
धौलाहरूले पानी पाएनछन् नि काठमाण्डु
सभ्यता बोकेको तँ कुरुप शहर
ने मुनिले पालेको तँ नेपाल रे
चोभारका गल्ली काटेर बसेको तँ पवित्र शहर रे
पशुपतिको तँ कथित् आराध्य थलो रे
घरघरै मन्दिर
टोलटोलमै जात्राको तँ संस्कृति रे
राजामहाराजा र कुलिनहरूको तँ बास रे
धिक्कार छ
कथित सभ्यताको आहाल काठमाण्डु तँलाई
तँ मान्छेहरूको थात हुन सकिनस्
यो मेरो चुनौती हो
सक्छस् भने मलाई फाँसी दे ।।