‘जङ्गको मैदानमा’ लेखिएको जनयुद्धको एउटा अभिलेख

‘जङ्गको मैदानमा’ लेखिएको जनयुद्धको एउटा अभिलेख

कोशीय अर्थमा संस्मरण भनेको मीठो बिगत, मधुर स्मृति, बराबर सम्झना गर्ने वा हुने काम, पुराना कुरा ताजा राख्न आवश्यक पर्ने उल्लेख वा रचना वा कथन भनिएको छ । वर्तमानमा उभिएर हेर्दा जनयुद्ध त्यस्तै एउटा स्मरणीय घटना बन्न पुगेको छ । जुन घटना लाखौँ नेपालीका निम्ति मात्र नभएर इतिहासका अध्ययता विश्वका जोसुकै व्यक्तिका लागि पनि एउटा युगान्तकारी ऐतिहासिक परिघटनाका रूपमा स्मरणयोग्य रहिरहने छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा हेर्ने हो भने नेपाली जनयुद्ध नेपालको मानव सभ्यताको इतिहासमा एउटा ठुलो वर्गसङ्घर्ष भन्न सकिन्छ । त्यस्तै समाजशास्त्रीय आँखाबाट हेर्ने हो भने पनि नेपालमा घटित दसबर्से जनयुद्धलाई राजनीतिक जागरणको एउटा पृथक कालको रूपमा लिन सकिन्छ । यति ठुलो जागरण यस अघिका कुनै पनि जनआन्दोलन वा वर्गसङ्घर्षले लिन सकेको थिएन । जनयुद्धले त्यसका पक्षधर वा बिरोधी दुबै समुदायका जनतामा राज्यसत्ताप्रतिको बुझाई र त्यो प्राप्त गर्ने तरिकाका बारेमा नयाँ चेतना जागृत गरिदिएको छ । यसले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्रका जनसमुदायमा भविश्यप्रतिको सपना देख्न सिकायो । राज्यसत्ता वा त्यस संरक्षित वर्गसमुदायका मानिसहरूले गर्ने सबैखाले शोषण उत्पीडन र अन्यायका बिरूद्ध सङ्गठितरूपले बिद्रोह गर्ने शिक्षा दियो । आज नेपाली समाजमा जे जति मानिसले अधिकार प्राप्तिका कुरा जोसुकैसँग पनि बेहिचक भन्न सक्ने आँट जाँगर र हिम्मत पैदा भएको छ । यसका पछाडि जनयुद्धको निकै ठुलो भूमिका रहेको छ ।
नेपालको इतिहासमा घटित यति ठुलो वर्गसङ्घर्षलाई आज इतिहासकार, लेखक, कवि, कलाकार र साहित्यकारहरूका शब्दबिम्बमार्फत् सुन्दर र कुरूप दुबै ढङ्गबाट उतारिएका छन् । जनयुद्धलाई बिकृत गरेर प्रश्तुत गर्ने प्रतिध्रुवीय साहित्यका बिरुद्ध सुन्दर ढङ्गबाट पस्किने काम आज थुपै साहित्यकारहरूले गरिरहेका छन् । यस प्रकृयमा स्वयम् समाहित श्रष्टाहरूबाटै बढी भन्दा बढी रचिएका छन् । युद्धमा भिषण मोर्चाहरूमा लड्दै गरेका योद्धाहरूले आफ्ना भोगाइहरू अलिकता फुर्सदको समयमा शब्दमा उतार्ने काम गरिरहेका छन् । योद्धिक अनुभूतिलाई शब्दबिम्बमा उतार्ने क्रममा कविता र संरमरणहरू बढी लेखिएका विधाहरू बन्न पुगेका छन् । कथा, गीत, गजल, निबन्ध, उपन्यास, पत्रसाहित्य, शब्दचित्र जस्ता साहित्यका अन्य विधाको तुलनामा संस्मरण विधामा कलम चलाउनेहरू धेरै रहेका छन् । त्यही क्रममा रहेका संस्मरणकार मध्येका एक हुन् राजबहादुर बुढा । जनमुक्ति सेना डिभिजन सह–कमाण्डरको भूमिकामा रहेका बुढा ‘अविनाश’ को नामबाट परिचित छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनका जुझारू युवाप्रतिभा तथा जनमुक्ति सेना नेपालका प्रभावशाली एवम् क्रान्तिकारी योद्धा हुन् राजबहादुर बुढा ‘अविनाश’ । रोल्पा कुरेली गाविस–१ कुरेलीमा बुबा ख्याउटे बुढा र आमा पुरा बुढाका कोखबाट २०२२÷१÷१२ मा जन्मिएका अविनाश रोल्पामा सञ्चालित २०४७÷०४८ को वर्गसङ्घर्षका शुरुआतदेखि नै पूर्णकालिन भएर सशरीर होमिएका योद्धा हुन् । दुढ आत्मविश्वास, जुझारूपन, सादा जीवन र उच्च विचार लिएका अविनाश वर्गवैरिप्रति निकै आक्रामक र वर्गमित्रप्रति अत्यन्तै नरम स्वाभाव भएका स्वाभीमान योद्धा हुन् । पार्टी र क्रान्तिप्रति अत्यन्त नरम र इमान्दार व्यक्तिका रूपमा परिचित अविनाशले आधारक्षेत्रमा भएका सबैजसो फौजी मोर्चाहरूमा निर्णायक भूमिकामा रहेर युद्धकौशलता हासिल गरेका छन् । वर्गसङ्घर्षको विकाससँगै पार्टी जीवनमा पूर्णकालिन भएर हिँडेका अविनाशले रोल्पामा भएका वर्गसङ्घर्षहरूमा कहीँ आफै योजना प्रमुख भएर त कहीँ पार्टी नेतृत्वद्वारा प्रश्तुत गरिएका फौजी तथा गैरफौजी मोर्चाहरूको नेतृत्व गरेका छन् । यसरी फौजी गतिविधिमा संलग्न हुँदा लडाकुदल, छापामारदल, स्क्वायर्ड हुँदै निर्माण गरिएको पहिलो प्लाटुनका प्रथम कमाण्डर भएर युद्धमोर्चामा अनुभव सँगालेका छन् । तिनै वर्गसङ्घर्षका शुरुआती दिनहरू हुँदै जनयुद्धको उत्कर्षको रूपमा रहेको गण्डक अभियानसम्मका फौजी मोर्चाहरूका अनुभूतिलाई शब्दमा उनेर अविनाशले आफ्नो कृति ‘जङ्गको मैदानमा’ प्रश्तुत गरेका छन् ।
‘जङ्गको मैदानमा’ अविनाशका २२ वटा अनुभूतिपरक संस्मरणात्मक रचनाहरूको सङ्ग्रह हो । यसले महान् जनयुद्धको मान्यता, गरिमा र महत्तालाई निकै शुन्दर ढङ्गबाट प्रश्तुत गरेको छ । जनयुद्ध के थियो र किन थियो ? भन्ने प्रश्नको जवाफ पनि प्रश्तुत कृति अध्ययन गर्दैै जाँदा भेटाउन सकिन्छ । जनयुद्धमा जनताको बलिदानी कीर्तिमान कसरी खडा भएको थियो ? पार्टी र क्रान्तिप्रति जनताको आस्था, विश्वास र भरोसा कसरी विकास हँुदै गयो भन्ने कुरालाई पनि अविनाशद्वारा रचित संस्मरण सङ्ग्रह ‘जङ्गको मैदान’ले उजागर गर्ने प्रयत्न गरेको छ । त्यसका साथै उनले जनयुद्धका महत्वपूर्ण फौजी उपलब्धिहरूसँगै राजनीतिक श्रेष्ठताका बारेमा पनि प्रष्ट पार्ने काम गरेका छन् । प्रश्तुत कृतिमा अविनाशले आफ्नो प्रत्यक्ष र निर्णायक सहभागिता भएका फौजी मोर्चाहरूमा भोगेका घटनाहरूका अनुभूतिहरू समेटेका छन् । जहाँ उनका भोगाइका अनुभूति मात्र नभएर कारबाहीबाट प्राप्त उपलब्धिहरूको बिबरणात्मक तथ्याङ्क पनि प्रश्तुत गरिएको छ । त्यसैले गर्दा प्रश्तुत कृति अनुभूति, रिपोर्ट, तथ्याङ्क, राजनीतिक टिप्पणी र फौजी कलाको समिश्रणको रूपमा रहेको क्वाँटी कृतिजस्तो पनि बन्न पुगेको छ । कृतिमा अनुभूतिलाई कलात्मक रूपमा भन्दा पनि बढी राजनीतिक विश्लेषणका रूपमा प्रश्तुत गरिएको छ । विचारलाई कलात्मकरूपमा प्रश्तुत गर्नु साहित्यको कर्म हो । विचारलाई विचारकै रूपमा पस्कियो भने त्यो राजनीतिक लेख वा निबन्ध बन्न पुग्दछ । अझ संस्मरणमा त झन् आफ्ना स्मृतिका बिम्बहरूलाई जति कलात्मक रूपले प्रश्तुत गर्न सक्यो त्यति नै मिठो हुन्छ, सुन्दर हुन्छ । संस्मरणमा काल्पनिक चित्र हुँदैन । यो तथ्यपरक र जीवन्त भोगाइको अनुभूतिहरूमा आधारित हुन्छ । यहाँ आँखाले देखेको तथा जीवनले भोगेका घटनाहरूको प्रतिबिम्बन हुन्छ । त्यसैले यसका पात्र स्वयम् आफैँ र आफ्ना सहयोद्धा, दौँतरी वा कुनै पनि भोक्ता अनुहारहरू हुन्छन् । त्यसैले संस्मरण भनेको सम्बन्धित कालखण्डको जीवन्त इतिहास हो । र, त्यो इतिहासको अभिलेख नै संस्मरणसङ्ग्रह बन्न पुगेको हुन्छ ।
‘एकै दिनमा तीनवटा चौकी कब्जा’ प्रश्तुत सङ्ग्रहको पहिलो रचना हो । यो रचना ०५४ चैत्र महिनामा रोल्पाको दोश्रो ऐतिहासिक गाउँ जेलवाङमा घटित घटनासँग सम्बन्धित छ । त्यतिबेला अस्थायी प्लाटुनको संरचना बनेको थियो । त्यस प्लाटुनको सेक्सन कमाण्डर थिए अविनाश । उनकै योजना र प्रत्यक्ष कमाण्डमा जेलवाङमा रहेको दङ्गा प्रहरीको चौकी, फगामको रुलवाङ र जैमाकसलाको नारवाङमा रहेको जनपथ प्रहरीका चौकीहरूमा कारबाहीका योजना बनेका थिए । जनयुद्धले क्रमशः आफ्ना गतिविधि तेज गर्दै लगेर ग्रामीण वर्गसङ्घर्षलाई घनिभूत बनाएपछि माओवादीको सङ्गठन विस्तार र पूर्णकालिन कार्यकर्ताको ठुलो लहर चलेको थियो । त्यसका साथसाथै सरकारी दमन पनि तीब्र गतिमा बढ्दै गएको थियो । माओवादीका नेता कार्यकर्ताहरूलाई साँघुरो घेरामा कैद गर्न र सखाप पार्ने उद्देश्यले गाउँगाउँमा चौकीहरूको विस्तार गरेर व्यापक अपे्रशन गर्दै थियो देउवा सरकारले । यसै क्रममा स्थानीय भेषमा गएका पुलिसहरूको एउटा जत्थाले जेलवाङको एउटा गाउँबाट पाँचजना निशस्त्र युवाहरूलाई गिरफ्तार गरेर ल्याई फगामको डौँडेघारी जङ्गलमा पु¥याएर निर्ममतापूर्वक यातना दिएर अन्तमा गोली हानी हत्या गरेको थियो । त्यसैको बदलास्वरूप छापामार प्लाटुनले ती चौकहरूलाई कब्जा गर्ने योजना बनायो र त्यसको कमाण्डर स्वयम् अविनाश बनेका थिए । ०५४ चैतमा सम्पन्न रेडको कारबाहीमा एकै रातमा तीनवटा चौकी कब्जा गर्दाको अनुभूतिलाई प्रस्तुत संस्मरणमा समेटिएको छ ।
जेलवाङको फौजी कारबाहीपछि उक्त प्लाटुन विकेन्द्रित गरिन्छ । एउटा सेक्सन रुकुम कार्यक्षेत्र लिएर जान्छ, अर्को सेक्सन सल्यान जान्छ भने अविनाशको सेक्सन रोल्पामै रहन्छ । उनको सेक्सन थवाङ गएर जेलवाङमा गरिएको कारबाहीको समीक्षा गर्दछ र थवाङी जनताको अनुरोधमा त्यहाँ एउटा एम्बुसको योजना बन्दछ । उक्त योजनाअनुसार थवाङमा रहेको चौकीका पुलिसहरूलाई आफ्नो आर्कमा बोलाएर एम्बुसमा पार्दछन् । यसको नेतृत्व पनि स्वयम् अविनाशले नै गर्दछन् । जसलाई उनले ‘थवाङमा मौका एम्बुस’ शीर्षकको संस्मरणमा आफ्ना अनुभूतिहरू समेट्ने प्रयास गरेका छन् । यो उनको दोस्रो संस्मरण हो । त्यस्तै ‘मेरो अविस्मरणीय क्षण बन्यो धौलावाङ रेड’ पनि अविनाशको आफ्नै कमान र योजनामा गरिएको फौजी कारबाही थियो । दाङ र प्यूठानसँग सीमा जोडिएको रोल्पाको दुविडाँडामा स्थित धौलावाङ प्रहरी चौकी कारबाहीका बारेमा यो संस्मरण तयार गरिएको छ । यसैगरी क्रमशः चौकी रेड, एम्बुस र माइनिङमा सहभागी हुँदै गएका अविनाशले कारबाहीका अनुभूतिहरू पनि थुपै्र सँगालेका छन् । धौलावाङको कारबाही सम्पन्न गरिसकेपछि उनको टोली लिवाङबाट कोर्चावाङमा आतङ्क मच्चाउन गएको प्रहरीको एउटा फोर्सलाई एम्बुस गर्न त्यसतर्फ हुइँकिन्छ । दुस्मन आउने नाकालाई केन्द्रित गरेर एम्बुसको योजना बनाउँछन् । रातभरि एम्बुस बसेको टोली दुस्मनको पर्खाइमा निकै आतुर भएको हुन्छ । बिहान झिसमिसेमै पुलिसको टोली अघि बढेको कुरा संकेतसूचक व्यक्तिले देख्न पाउँदैन । जब दुस्मन अघि बढ्छ तब उसले माओवादी लुकेको थाहा पाएर एन्टीघेराउ गर्दछ । यसरी अविनाशको एम्बुस टिम दुस्मनको एन्टीघेराउमा पर्दछ । त्यहाँ उनले सिघ्र निर्णय लिएर दुस्मनसँग मुठभेड गरी आफ्नो टोलीलाई घेरा तोड्ने योजना बनाउँछन् । दुस्मनसँग घमासान भिडन्त हुन्छ । त्यहाँ आफ्नो एकजना सहयोद्धा गुमाएर अरूलाई सकुशल घेरा तोड्न सफल हुन्छन् उनीहरू । यही घटनालाई प्रस्तुत संस्मरणमा उल्लेख गरिएको छ । यो कारबाहीपछि उनले फौजी जीवनबाट नयाँ योजनामा सहभागी हुने अवसर पाउँछन् । यसपछि अनुभूतिको अर्को पाटोको आरम्भ हुन्छ ।
‘केन्द्रीय सैन्य प्रशिक्षण र मेरो राजनीतिक जीवनको नयाँ मोड’ शीर्षकको संस्मरणमा दारबोटमा सञ्चालित केन्द्रीय स्तरको सैन्य तालिमको अनुभूतिलाई उल्लेख गरिएको छ । उक्त तालिम २०५५ सालको वर्षादको मौसममा भएको थियो । देशैभरिबाट छानिएका फौजी कमाण्डर र सदस्यहरूलाई भाकपा माओवादी पिपुल्सवारबाट आएका सैन्य प्रशिक्षक र सैन्य कमाण्डर पासाङले तालिम दिएका थिए । प्रशिक्षण दारबोटको जङ्गलमा एक महिनासम्म चलेको थियो । उक्त कार्यक्रमको समापनमा पार्टी अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरू दीवाकर, महरासमेतको उपस्थिति भएकाले लेखकले त्यस प्रशिक्षण एवम् तालिमलाई आफ्नो राजनीतिक जीवनकै नयाँ र अविस्मरणीय क्षेण बताएका छन् । त्यो प्रशिक्षणबाट उनको भूमिकामा पनि फेरबदल आउँछ, जसलाई उनले नयाँ मोड बताएका छन् । त्यस घटनापछि अविनाशको फौजी जीवनले राजनीतिक सङ्गठनात्मक जीवनतर्फको यात्रामा कोल्टे फेर्छ । यसलाई उनले सङ्गठनात्मक जिम्मेवारीमा आएको बदलावसँगै आफूमा परिपक्वताको विकासको रूपमा लिएका छन् । यद्यपि फौजी सङ्गठन छोड्नुपर्दा भने उनलाई नरमाइलो र असजिलो लागेको अभिव्यक्ति संस्मरणमा उल्लेख गरेका छन् । यस्तै राजनीतिक जीवनकै अर्को अनुभूतिमा उनले पञ्जाबमा सम्पन्न पार्टीको क्षेत्रीय प्रशिक्षणलाई लिएका छन् । जसलाई उनले ‘पञ्जाबमा सम्पन्न राजनीतिक प्रशिक्षणको एक झलक’ नामक संस्मरणमा संकलित गरेका छन् आफ्ना अनुभूतिहरूलाई ।
अर्को एउटा घटना ‘लि अर्नेस्टोसँगको भेट र बालबाल बचेको क्षण’लाई पनि अविस्मरणीय रूपमा लिइएको छ । जहाँ उनी आन्तरिक घटनामा परेको विषयलाई उल्लेख गरिएको छ । नेपालको जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यअनुरूप प्रत्यक्ष फिल्डबाट छाम्न र त्यसको घनत्व एवम् गहिराई नाप्न अमेरिकाबाट आएकी एकजना पत्रकार ‘लि अर्नेस्टो’सँगको भेट र उनीसँग गरेका भलाकुसारीलाई पनि स्मरणमा रहिरहेको बताउँदै प्रस्तुत शीर्षकको संस्मरण लेखिएको छ ।
प्रतिक्रियावादी सत्ताको गृहप्रशासन बहुला कुकुरझैँ भएर जथाभावी नेपाली जनतालाई टोक्दै हिँडेको र हत्या शृङ्खला एकपछि अर्को गरी बढ्दै गएको अवस्थामा माओवादीहरूका निम्ति निकै चुनौतीपूर्ण बन्दै गएको थियो । पश्चिममा ‘किलो शेरा टु’ अभियान चलाएर जाजरकोट, रोल्पा र रुकुममा हत्या, आतङ्क, लुटपाट र गिरफ्तारीको क्रम ह्वात्तै बढेको थियो । माओवादी सखाप पार्ने सपना देखेर चलाइएको ‘किलो शेरा टु’ अपे्रशनलाई निश्प्रभावी तुल्याउन जनछापामारले एउटा उच्च फौजी कारबाही गर्नु आवश्यक थियो । त्यसैले पश्चिम कमानमा सञ्चालित स्क्वायर्ड र अस्थायी प्लाटुनहरूबाट विशिष्ट क्षमता र प्रतिभाहरूलाई केन्द्रित गरेर एउटा अजेय शक्तिकारूपमा लडाकु फोर्स तयार गर्ने योजना बन्यो । सोही बमोजिम पासाङको फौजी कमान र अनन्तको राजनीतिक कमानमा एउटा प्लाटुनस्तरको एसटिएफ गठन गरियो । उक्त एसटिएफद्वारा दाङको चिराघाट चौकी आक्रमण गरेर सबै पुलिसलाई सखाप पार्नुका साथै हातहतियार र गोलीगठ्ठा सबै कब्जा ग¥यो । त्यसपछि पासाङको नेतृत्वमा जुन ठाउँमा आक्रमण गर्छ त्यहाँ सफल गर्ने फौजी अभियान नै चल्यो । पासाङ आयो भन्ने सुनेपछि प्रतिक्रियावादीहरूको पुलिस अखाडाहरू थर्कमान हुन थाले । पछिल्ला कारबाहीहरूमा त कम समयको लडाइँमै पुलिसहरूले हतियार फालेर आत्मसमर्पण गर्न थाले । यही घटनालाई फौजी कारबाहीमा खाता खोलिएको विशिष्ट कारबाहीका रूपमा चिराघाट चौकी आक्रमणको संस्मरणलाई प्रस्तुत कृतिमा सजिब ढङ्गबाट चित्रण गरिएको छ । यो कारबाहीमा जनछापामारतर्फ एकजना होनहार लडाकु योद्धा नायन ‘ढाँट बुढा’को सहादत भएको थियो । अविनाशले नायनको सहादतको खबर लिएर उनको घरमा जाँदाको क्षणलाई अत्यन्तै दुःखद्, मार्मिक र कारुणिकरूपमा प्रस्तुत गरेका छन्, ‘अमर योद्धा क.नायनको घरमा चिठी पु¥याउँदा’ शीर्षकको संस्मरणमा । नायनको बुबा सिंह बुढा, बहिनी कुमारी बुढा र ७५ वर्षीय बृद्ध बरदान रोकालगायत पाँच जनाको सामूहिक हत्या भएको थियो । त्यही बदला लिन हिँडेका नायन आफैँ सहिद बनेपछि अविनाशलाई यो घटनाले अत्यन्तै मर्माहत तुल्याएको थियो । त्यही खबर लिएर आफैँ नायनको घरमा जानुपर्ने परिस्थिति सिर्जना भयो । त्यसले उनलाई निकै दुःखीत तुल्यायो । परिवारमा कसरी कुरा गर्ने भन्ने द्विविधामा परेको बेला कुरा खोल्दै जाँदा उनी स्वयम् भावुक बनेपछि सम्पूर्ण परिवार भावुक बनेको थियो ।
नायनको बहिनी कुमारी बुढालाई आफ्ना बाबुको अगाडि सामूहिक बलात्कार गरेर उनका दुवै आँखा फोडेर जिउँदै जलाइएको थियो । यस्ता हृदयविदारक बर्बर यातनासहितका घटनाहरूले रोल्पा नै शोकविह्वल बनेको थियो । नायनको सहादतले थप मार्माहत बनाएको घटनालाई संस्मरणमा उल्लेख गरिएको छ ।
त्यसपछि उनका लगातार फौजी कारबाहीका शृङ्खलाबद्ध अनुभूतिहरूलाई यस सङ्ग्रहमा समेटिएको छ । जस्तै ‘लाहाँ रेडको सफलता र खुकुरीदलको मटियामेट’, ‘चौकी घेराउदेखि घर्तीगाउँ रेडसम्म’, ‘उपचारको भन्दा रेडको चिन्ता बढी भएको भिङ्ग्री कारबाही’ जस्ता कारबाहीहरू ०५६ सालमा भएका ठुल्ठुला चौकी रेडका कारबाहीहरू हुन् । यी कारबाहीपछि गाउँगाउँमा प्रहरी परिचालन गरेर ज्यादती मच्चाउने कार्यमा केही सिथिलता आएको थियो । यी कारबाहीबाट माओवादीको शक्ति बलियो हुँदै गएको थियो भने दुस्मनको मनोबल गिर्न गई शक्ति सन्तुलनको अवस्था सिर्जना हुँदै थियो ।
नेपाली वर्गसङ्घर्षको इतिहासमा विशेषतः जनयुद्धको सुरुआतपछिको ठुलो कारबाही डोल्पाको दुनै कारबाही थियो । यो कारबाही प्रतिक्रियावादी सत्तामा नयाँ अन्तरविरोध पैदा गर्न सफल घटनाको रूपमा चित्रित छ । यसलाई अविनाशले ‘नेपाली वर्गसङ्घर्षमा पहिलोपटक सदरमुकाम कब्जा’ शीर्षक दिएर दुनै कारबाहीको घटनालाई पुनर्ताजगी दिएका छन् । झिवाखोला बाग्लुङको चौकी रेड, ‘जेलवाङदेखि जुम्लासम्म’जस्ता फौजी कारबाहीको संस्मरणहरू ताजा इतिहासका रूपमा स्थापित गरिएको छ । त्यस्तै दाङ घोराही सदरमुकाम रेड र सैन्य क्याम्पमाथिको हमला जनयुद्धको अर्को ऐतिहासिक परिघटना बन्न पुगेको छ । त्यसअघि डोल्पा सदरमुकाम आक्रमण गर्दासम्म नेकपा माओवादीको प्रहारको निशाना दलाल तथा नोकरशाही वर्गको क्याम्पमाथि भएको थियो भने घोराही आक्रमण सामन्तवादको सैन्य शक्तिमाथिको थियो । यसले जनयुद्धलाई रक्षाबाट सन्तुलनको चरण पार गरेर आक्रमणको चरणमा फड्को मार्न सफल बनाएको थियो । त्यसपछि माओवादीले लगातार सैन्यक्याम्पमा आक्रमण बढाउँदै लग्यो ।
अर्घाखाँचीको सन्धिखर्क सदरमुकाम कब्जा, जुम्ला सदरमुकाम कब्जा, लिस्ने गाम, अछामको मंगलसेन आदि कारबाही जनयुद्धका उच्च फौजी कारबाही थिए । यिनै कारबाहीका सुखान्त र दुःखान्त अनुभूतिहरूलाई विभिन्न संस्मरणमा समेटेका छन् स्रष्टा अविनाशले । यहाँसम्म आउँदा जनमुक्ति सेनाको स्थायी फर्मेशन ब्रिगेड स्तरमा विकास भएको थियो । यसले चलायमान र मोर्चावद्ध युद्धको प्रक्रियामा पार्टीले जनमुक्ति सेनालाई परिचालित गरेको थियो । यहाँसम्म आउँदा माओवादीले आधारइलाका निर्माण गरेर त्यसलाई विस्तार गर्दै लगेको थियो । आधारइलाका भनेको माओवादीले निर्माण गरेको नयाँ सत्ताको रूपमा लिइन्छ । यतिबेलासम्म पुरानो सत्ता सदरमुकाम र तारबारभित्र कैद भइसकेको थियो भने देशभरको ग्रामीण क्षेत्र माओवादीको जनसत्ताको लप्काभित्र परिसकेको थियो । ग्रामीण क्षेत्र मुक्त इलाकाको रूपमा विकसित भइसकेको थियो । यस विषयलाई समेट्दै आधारइलाकाभित्र बनेको विशेष जिल्लाको संरचनालाई अविनाशले आफ्नो संस्मरणमा उनेका छन् ।
अन्त्यतिर समेटिएका दुइवटा ठुलो र भीषण मोर्चाको रूपमा स्थापित बेनी मोर्चा र गण्डक अभियान सम्बन्धी संस्मरण लेखेर कृतिलाई पुरा गरेका छन् अविनाशले । बेनी मोर्चा जनयुद्धकालको सबैभन्दा ठुलो शक्ति केन्द्रिकरण गरेर गरिएको फौजी कारबाही थियो । त्यहाँसम्म आउँदा शाही सेनाले अमेरिकन फोर्टिफिकेशनमा आफ्नो क्याम्पको हार्बोरिङ गरेको थियो भने सेनालाई पनि अमेरिकन मरिनहरूद्वारा तालिम दिलाएर बलियो बनाउने प्रयत्न गरेको थियो । साथै फौजी जनशक्ति र हातहतियार पनि भारि मात्रामा सङ्गृहित गरेर राखेको थियो । यति बलियो फोर्समाथि मोर्चावद्ध आक्रमण गर्नु आफैँमा निकै ठुलो चुनौतीको कारबाही बन्न गएको थियो । यिनै विषयलाई युद्धमैदानमा डटेका जनुमुक्ति सेनाले कसरी लिएका थिए ? त्यस्ता मोर्चाहरूमा कसरी लडेका थिए भन्ने कुरालाई बेनी मोर्चाको कारबाही सम्बन्धी संस्मरण र गण्डक अभियानका संस्मरणमा विस्तृतरूपमा कलात्मक, भावनात्मक र विचारधात्मकरूपले उल्लेख गरिएको छ ।
यसरी समग्रमा भन्नुपर्दा राजबहादुर बुढा ‘अविनाश’को प्रस्तुत कृति ‘जङ्गको मैदानमा’ जनयुद्धको जीवन्त कथा र इतिहास बनेर उभिएको छ । यो अनुभूतिका रागात्मक पक्ष मात्र भएको कृति होइन । यहाँ जनयुद्धको आवश्यकता र त्यसको औचित्य पुष्टि गरिएको राजनीतिक र वैचारिक तथ्यहरू पनि छन् । त्यसका साथै जनयुद्धको कालभरि दुस्मन पङ्क्तिले कहाँ कहाँ केकस्ता हर्कतहरू ग¥यो र विभिन्न अप्रेशनहरूद्वारा जनतामा कसरी जाइलाग्यो ? जनताले त्यसको कसरी प्रतिरोध गरे ? जनमुक्ति सेनाले केकस्ता फौजी गतिविधि सम्पन्न ग¥यो ? त्यसबाट के कति उपलब्धि हासिल भयो ? आदि प्रश्नहरूको जवाफ पनि प्रस्तुत कृतिमा पाउन सकिन्छ । त्यसैले यो कृति एउटा रिपोर्ताजको झलक दिने कृति पनि बन्न पुगेको छ ।
अन्त्यमा, अविनाशले युद्धमोर्चामा बन्दुक मात्र चलाएनन्, उनले कलम पनि सँगसँगै चलाएर आफूले गरेका, भोेगेका र देखेका तथ्यहरूलाई अक्षराङ्कन गरेका छन् । जनयुद्धको एउटा जिउँदो साक्षीको काम गर्ने अभिलेख तयार पारेर नेपाली समाज र भावी पुस्ताका क्रान्तिकारीहरूलाई महत्वपूर्ण, विचारोत्तेजक, भावोत्तेजक र मार्मिक खुराक प्रदान गरेका छन् । वर्गसङ्घर्षको सुरुआतदेखि नै पार्टी र क्रान्तिलाई नै आफ्नो सम्पूर्ण जीवन बनाएर युद्धमोर्चामा होमिएका जिउँदा सहिदजस्तै बनेका अविनाशले यस्ता अझ थुपै्र कृति तयार गर्नु बाँकी छ । यो कृति त उनको जीवन भोगाइको एउटा सानो अंश मात्र हो । अझ धेरै भोगाइहरू, आँशु–हाँसो, खुशी–रोदनका जीवन्त कथाहरूको अभिरेखाङ्कन गर्न बाँकी नै छ । जनयुद्धका सफलता, असफलता, सबल र दुर्बल, सुखान्त र दुःखान्त घटनाक्रमका एकजना भोक्ता साक्षी स्वयम् आफैँ भएकाले आगामी दिनमा अझ गहन कृतिको अपेक्षासहित् यस सङ्ग्रहको भूमिकाको यहीँ बिट मार्दछु ।

२०६७ फागुन १५