‘जङ्गको मैदानमा’ लेखिएको जनयुद्धको एउटा अभिलेख

साहित्य

प्रकाशित मिति : २०७७ चैत्र १६

- हिरामणि दुःखी

कोशीय अर्थमा संस्मरण भनेको मीठो बिगत, मधुर स्मृति, बराबर सम्झना गर्ने वा हुने काम, पुराना कुरा ताजा राख्न आवश्यक पर्ने उल्लेख वा रचना वा कथन भनिएको छ । वर्तमानमा उभिएर हेर्दा जनयुद्ध त्यस्तै एउटा स्मरणीय घटना बन्न पुगेको छ । जुन घटना लाखौँ नेपालीका निम्ति मात्र नभएर इतिहासका अध्ययता विश्वका जोसुकै व्यक्तिका लागि पनि एउटा युगान्तकारी ऐतिहासिक परिघटनाका रूपमा स्मरणयोग्य रहिरहने छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा हेर्ने हो भने नेपाली जनयुद्ध नेपालको मानव सभ्यताको इतिहासमा एउटा ठुलो वर्गसङ्घर्ष भन्न सकिन्छ । त्यस्तै समाजशास्त्रीय आँखाबाट हेर्ने हो भने पनि नेपालमा घटित दसबर्से जनयुद्धलाई राजनीतिक जागरणको एउटा पृथक कालको रूपमा लिन सकिन्छ । यति ठुलो जागरण यस अघिका कुनै पनि जनआन्दोलन वा वर्गसङ्घर्षले लिन सकेको थिएन । जनयुद्धले त्यसका पक्षधर वा बिरोधी दुबै समुदायका जनतामा राज्यसत्ताप्रतिको बुझाई र त्यो प्राप्त गर्ने तरिकाका बारेमा नयाँ चेतना जागृत गरिदिएको छ । यसले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्रका जनसमुदायमा भविश्यप्रतिको सपना देख्न सिकायो । राज्यसत्ता वा त्यस संरक्षित वर्गसमुदायका मानिसहरूले गर्ने सबैखाले शोषण उत्पीडन र अन्यायका बिरूद्ध सङ्गठितरूपले बिद्रोह गर्ने शिक्षा दियो । आज नेपाली समाजमा जे जति मानिसले अधिकार प्राप्तिका कुरा जोसुकैसँग पनि बेहिचक भन्न सक्ने आँट जाँगर र हिम्मत पैदा भएको छ । यसका पछाडि जनयुद्धको निकै ठुलो भूमिका रहेको छ ।
नेपालको इतिहासमा घटित यति ठुलो वर्गसङ्घर्षलाई आज इतिहासकार, लेखक, कवि, कलाकार र साहित्यकारहरूका शब्दबिम्बमार्फत् सुन्दर र कुरूप दुबै ढङ्गबाट उतारिएका छन् । जनयुद्धलाई बिकृत गरेर प्रश्तुत गर्ने प्रतिध्रुवीय साहित्यका बिरुद्ध सुन्दर ढङ्गबाट पस्किने काम आज थुपै साहित्यकारहरूले गरिरहेका छन् । यस प्रकृयमा स्वयम् समाहित श्रष्टाहरूबाटै बढी भन्दा बढी रचिएका छन् । युद्धमा भिषण मोर्चाहरूमा लड्दै गरेका योद्धाहरूले आफ्ना भोगाइहरू अलिकता फुर्सदको समयमा शब्दमा उतार्ने काम गरिरहेका छन् । योद्धिक अनुभूतिलाई शब्दबिम्बमा उतार्ने क्रममा कविता र संरमरणहरू बढी लेखिएका विधाहरू बन्न पुगेका छन् । कथा, गीत, गजल, निबन्ध, उपन्यास, पत्रसाहित्य, शब्दचित्र जस्ता साहित्यका अन्य विधाको तुलनामा संस्मरण विधामा कलम चलाउनेहरू धेरै रहेका छन् । त्यही क्रममा रहेका संस्मरणकार मध्येका एक हुन् राजबहादुर बुढा । जनमुक्ति सेना डिभिजन सह–कमाण्डरको भूमिकामा रहेका बुढा ‘अविनाश’ को नामबाट परिचित छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनका जुझारू युवाप्रतिभा तथा जनमुक्ति सेना नेपालका प्रभावशाली एवम् क्रान्तिकारी योद्धा हुन् राजबहादुर बुढा ‘अविनाश’ । रोल्पा कुरेली गाविस–१ कुरेलीमा बुबा ख्याउटे बुढा र आमा पुरा बुढाका कोखबाट २०२२÷१÷१२ मा जन्मिएका अविनाश रोल्पामा सञ्चालित २०४७÷०४८ को वर्गसङ्घर्षका शुरुआतदेखि नै पूर्णकालिन भएर सशरीर होमिएका योद्धा हुन् । दुढ आत्मविश्वास, जुझारूपन, सादा जीवन र उच्च विचार लिएका अविनाश वर्गवैरिप्रति निकै आक्रामक र वर्गमित्रप्रति अत्यन्तै नरम स्वाभाव भएका स्वाभीमान योद्धा हुन् । पार्टी र क्रान्तिप्रति अत्यन्त नरम र इमान्दार व्यक्तिका रूपमा परिचित अविनाशले आधारक्षेत्रमा भएका सबैजसो फौजी मोर्चाहरूमा निर्णायक भूमिकामा रहेर युद्धकौशलता हासिल गरेका छन् । वर्गसङ्घर्षको विकाससँगै पार्टी जीवनमा पूर्णकालिन भएर हिँडेका अविनाशले रोल्पामा भएका वर्गसङ्घर्षहरूमा कहीँ आफै योजना प्रमुख भएर त कहीँ पार्टी नेतृत्वद्वारा प्रश्तुत गरिएका फौजी तथा गैरफौजी मोर्चाहरूको नेतृत्व गरेका छन् । यसरी फौजी गतिविधिमा संलग्न हुँदा लडाकुदल, छापामारदल, स्क्वायर्ड हुँदै निर्माण गरिएको पहिलो प्लाटुनका प्रथम कमाण्डर भएर युद्धमोर्चामा अनुभव सँगालेका छन् । तिनै वर्गसङ्घर्षका शुरुआती दिनहरू हुँदै जनयुद्धको उत्कर्षको रूपमा रहेको गण्डक अभियानसम्मका फौजी मोर्चाहरूका अनुभूतिलाई शब्दमा उनेर अविनाशले आफ्नो कृति ‘जङ्गको मैदानमा’ प्रश्तुत गरेका छन् ।
‘जङ्गको मैदानमा’ अविनाशका २२ वटा अनुभूतिपरक संस्मरणात्मक रचनाहरूको सङ्ग्रह हो । यसले महान् जनयुद्धको मान्यता, गरिमा र महत्तालाई निकै शुन्दर ढङ्गबाट प्रश्तुत गरेको छ । जनयुद्ध के थियो र किन थियो ? भन्ने प्रश्नको जवाफ पनि प्रश्तुत कृति अध्ययन गर्दैै जाँदा भेटाउन सकिन्छ । जनयुद्धमा जनताको बलिदानी कीर्तिमान कसरी खडा भएको थियो ? पार्टी र क्रान्तिप्रति जनताको आस्था, विश्वास र भरोसा कसरी विकास हँुदै गयो भन्ने कुरालाई पनि अविनाशद्वारा रचित संस्मरण सङ्ग्रह ‘जङ्गको मैदान’ले उजागर गर्ने प्रयत्न गरेको छ । त्यसका साथै उनले जनयुद्धका महत्वपूर्ण फौजी उपलब्धिहरूसँगै राजनीतिक श्रेष्ठताका बारेमा पनि प्रष्ट पार्ने काम गरेका छन् । प्रश्तुत कृतिमा अविनाशले आफ्नो प्रत्यक्ष र निर्णायक सहभागिता भएका फौजी मोर्चाहरूमा भोगेका घटनाहरूका अनुभूतिहरू समेटेका छन् । जहाँ उनका भोगाइका अनुभूति मात्र नभएर कारबाहीबाट प्राप्त उपलब्धिहरूको बिबरणात्मक तथ्याङ्क पनि प्रश्तुत गरिएको छ । त्यसैले गर्दा प्रश्तुत कृति अनुभूति, रिपोर्ट, तथ्याङ्क, राजनीतिक टिप्पणी र फौजी कलाको समिश्रणको रूपमा रहेको क्वाँटी कृतिजस्तो पनि बन्न पुगेको छ । कृतिमा अनुभूतिलाई कलात्मक रूपमा भन्दा पनि बढी राजनीतिक विश्लेषणका रूपमा प्रश्तुत गरिएको छ । विचारलाई कलात्मकरूपमा प्रश्तुत गर्नु साहित्यको कर्म हो । विचारलाई विचारकै रूपमा पस्कियो भने त्यो राजनीतिक लेख वा निबन्ध बन्न पुग्दछ । अझ संस्मरणमा त झन् आफ्ना स्मृतिका बिम्बहरूलाई जति कलात्मक रूपले प्रश्तुत गर्न सक्यो त्यति नै मिठो हुन्छ, सुन्दर हुन्छ । संस्मरणमा काल्पनिक चित्र हुँदैन । यो तथ्यपरक र जीवन्त भोगाइको अनुभूतिहरूमा आधारित हुन्छ । यहाँ आँखाले देखेको तथा जीवनले भोगेका घटनाहरूको प्रतिबिम्बन हुन्छ । त्यसैले यसका पात्र स्वयम् आफैँ र आफ्ना सहयोद्धा, दौँतरी वा कुनै पनि भोक्ता अनुहारहरू हुन्छन् । त्यसैले संस्मरण भनेको सम्बन्धित कालखण्डको जीवन्त इतिहास हो । र, त्यो इतिहासको अभिलेख नै संस्मरणसङ्ग्रह बन्न पुगेको हुन्छ ।
‘एकै दिनमा तीनवटा चौकी कब्जा’ प्रश्तुत सङ्ग्रहको पहिलो रचना हो । यो रचना ०५४ चैत्र महिनामा रोल्पाको दोश्रो ऐतिहासिक गाउँ जेलवाङमा घटित घटनासँग सम्बन्धित छ । त्यतिबेला अस्थायी प्लाटुनको संरचना बनेको थियो । त्यस प्लाटुनको सेक्सन कमाण्डर थिए अविनाश । उनकै योजना र प्रत्यक्ष कमाण्डमा जेलवाङमा रहेको दङ्गा प्रहरीको चौकी, फगामको रुलवाङ र जैमाकसलाको नारवाङमा रहेको जनपथ प्रहरीका चौकीहरूमा कारबाहीका योजना बनेका थिए । जनयुद्धले क्रमशः आफ्ना गतिविधि तेज गर्दै लगेर ग्रामीण वर्गसङ्घर्षलाई घनिभूत बनाएपछि माओवादीको सङ्गठन विस्तार र पूर्णकालिन कार्यकर्ताको ठुलो लहर चलेको थियो । त्यसका साथसाथै सरकारी दमन पनि तीब्र गतिमा बढ्दै गएको थियो । माओवादीका नेता कार्यकर्ताहरूलाई साँघुरो घेरामा कैद गर्न र सखाप पार्ने उद्देश्यले गाउँगाउँमा चौकीहरूको विस्तार गरेर व्यापक अपे्रशन गर्दै थियो देउवा सरकारले । यसै क्रममा स्थानीय भेषमा गएका पुलिसहरूको एउटा जत्थाले जेलवाङको एउटा गाउँबाट पाँचजना निशस्त्र युवाहरूलाई गिरफ्तार गरेर ल्याई फगामको डौँडेघारी जङ्गलमा पु¥याएर निर्ममतापूर्वक यातना दिएर अन्तमा गोली हानी हत्या गरेको थियो । त्यसैको बदलास्वरूप छापामार प्लाटुनले ती चौकहरूलाई कब्जा गर्ने योजना बनायो र त्यसको कमाण्डर स्वयम् अविनाश बनेका थिए । ०५४ चैतमा सम्पन्न रेडको कारबाहीमा एकै रातमा तीनवटा चौकी कब्जा गर्दाको अनुभूतिलाई प्रस्तुत संस्मरणमा समेटिएको छ ।
जेलवाङको फौजी कारबाहीपछि उक्त प्लाटुन विकेन्द्रित गरिन्छ । एउटा सेक्सन रुकुम कार्यक्षेत्र लिएर जान्छ, अर्को सेक्सन सल्यान जान्छ भने अविनाशको सेक्सन रोल्पामै रहन्छ । उनको सेक्सन थवाङ गएर जेलवाङमा गरिएको कारबाहीको समीक्षा गर्दछ र थवाङी जनताको अनुरोधमा त्यहाँ एउटा एम्बुसको योजना बन्दछ । उक्त योजनाअनुसार थवाङमा रहेको चौकीका पुलिसहरूलाई आफ्नो आर्कमा बोलाएर एम्बुसमा पार्दछन् । यसको नेतृत्व पनि स्वयम् अविनाशले नै गर्दछन् । जसलाई उनले ‘थवाङमा मौका एम्बुस’ शीर्षकको संस्मरणमा आफ्ना अनुभूतिहरू समेट्ने प्रयास गरेका छन् । यो उनको दोस्रो संस्मरण हो । त्यस्तै ‘मेरो अविस्मरणीय क्षण बन्यो धौलावाङ रेड’ पनि अविनाशको आफ्नै कमान र योजनामा गरिएको फौजी कारबाही थियो । दाङ र प्यूठानसँग सीमा जोडिएको रोल्पाको दुविडाँडामा स्थित धौलावाङ प्रहरी चौकी कारबाहीका बारेमा यो संस्मरण तयार गरिएको छ । यसैगरी क्रमशः चौकी रेड, एम्बुस र माइनिङमा सहभागी हुँदै गएका अविनाशले कारबाहीका अनुभूतिहरू पनि थुपै्र सँगालेका छन् । धौलावाङको कारबाही सम्पन्न गरिसकेपछि उनको टोली लिवाङबाट कोर्चावाङमा आतङ्क मच्चाउन गएको प्रहरीको एउटा फोर्सलाई एम्बुस गर्न त्यसतर्फ हुइँकिन्छ । दुस्मन आउने नाकालाई केन्द्रित गरेर एम्बुसको योजना बनाउँछन् । रातभरि एम्बुस बसेको टोली दुस्मनको पर्खाइमा निकै आतुर भएको हुन्छ । बिहान झिसमिसेमै पुलिसको टोली अघि बढेको कुरा संकेतसूचक व्यक्तिले देख्न पाउँदैन । जब दुस्मन अघि बढ्छ तब उसले माओवादी लुकेको थाहा पाएर एन्टीघेराउ गर्दछ । यसरी अविनाशको एम्बुस टिम दुस्मनको एन्टीघेराउमा पर्दछ । त्यहाँ उनले सिघ्र निर्णय लिएर दुस्मनसँग मुठभेड गरी आफ्नो टोलीलाई घेरा तोड्ने योजना बनाउँछन् । दुस्मनसँग घमासान भिडन्त हुन्छ । त्यहाँ आफ्नो एकजना सहयोद्धा गुमाएर अरूलाई सकुशल घेरा तोड्न सफल हुन्छन् उनीहरू । यही घटनालाई प्रस्तुत संस्मरणमा उल्लेख गरिएको छ । यो कारबाहीपछि उनले फौजी जीवनबाट नयाँ योजनामा सहभागी हुने अवसर पाउँछन् । यसपछि अनुभूतिको अर्को पाटोको आरम्भ हुन्छ ।
‘केन्द्रीय सैन्य प्रशिक्षण र मेरो राजनीतिक जीवनको नयाँ मोड’ शीर्षकको संस्मरणमा दारबोटमा सञ्चालित केन्द्रीय स्तरको सैन्य तालिमको अनुभूतिलाई उल्लेख गरिएको छ । उक्त तालिम २०५५ सालको वर्षादको मौसममा भएको थियो । देशैभरिबाट छानिएका फौजी कमाण्डर र सदस्यहरूलाई भाकपा माओवादी पिपुल्सवारबाट आएका सैन्य प्रशिक्षक र सैन्य कमाण्डर पासाङले तालिम दिएका थिए । प्रशिक्षण दारबोटको जङ्गलमा एक महिनासम्म चलेको थियो । उक्त कार्यक्रमको समापनमा पार्टी अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरू दीवाकर, महरासमेतको उपस्थिति भएकाले लेखकले त्यस प्रशिक्षण एवम् तालिमलाई आफ्नो राजनीतिक जीवनकै नयाँ र अविस्मरणीय क्षेण बताएका छन् । त्यो प्रशिक्षणबाट उनको भूमिकामा पनि फेरबदल आउँछ, जसलाई उनले नयाँ मोड बताएका छन् । त्यस घटनापछि अविनाशको फौजी जीवनले राजनीतिक सङ्गठनात्मक जीवनतर्फको यात्रामा कोल्टे फेर्छ । यसलाई उनले सङ्गठनात्मक जिम्मेवारीमा आएको बदलावसँगै आफूमा परिपक्वताको विकासको रूपमा लिएका छन् । यद्यपि फौजी सङ्गठन छोड्नुपर्दा भने उनलाई नरमाइलो र असजिलो लागेको अभिव्यक्ति संस्मरणमा उल्लेख गरेका छन् । यस्तै राजनीतिक जीवनकै अर्को अनुभूतिमा उनले पञ्जाबमा सम्पन्न पार्टीको क्षेत्रीय प्रशिक्षणलाई लिएका छन् । जसलाई उनले ‘पञ्जाबमा सम्पन्न राजनीतिक प्रशिक्षणको एक झलक’ नामक संस्मरणमा संकलित गरेका छन् आफ्ना अनुभूतिहरूलाई ।
अर्को एउटा घटना ‘लि अर्नेस्टोसँगको भेट र बालबाल बचेको क्षण’लाई पनि अविस्मरणीय रूपमा लिइएको छ । जहाँ उनी आन्तरिक घटनामा परेको विषयलाई उल्लेख गरिएको छ । नेपालको जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यअनुरूप प्रत्यक्ष फिल्डबाट छाम्न र त्यसको घनत्व एवम् गहिराई नाप्न अमेरिकाबाट आएकी एकजना पत्रकार ‘लि अर्नेस्टो’सँगको भेट र उनीसँग गरेका भलाकुसारीलाई पनि स्मरणमा रहिरहेको बताउँदै प्रस्तुत शीर्षकको संस्मरण लेखिएको छ ।
प्रतिक्रियावादी सत्ताको गृहप्रशासन बहुला कुकुरझैँ भएर जथाभावी नेपाली जनतालाई टोक्दै हिँडेको र हत्या शृङ्खला एकपछि अर्को गरी बढ्दै गएको अवस्थामा माओवादीहरूका निम्ति निकै चुनौतीपूर्ण बन्दै गएको थियो । पश्चिममा ‘किलो शेरा टु’ अभियान चलाएर जाजरकोट, रोल्पा र रुकुममा हत्या, आतङ्क, लुटपाट र गिरफ्तारीको क्रम ह्वात्तै बढेको थियो । माओवादी सखाप पार्ने सपना देखेर चलाइएको ‘किलो शेरा टु’ अपे्रशनलाई निश्प्रभावी तुल्याउन जनछापामारले एउटा उच्च फौजी कारबाही गर्नु आवश्यक थियो । त्यसैले पश्चिम कमानमा सञ्चालित स्क्वायर्ड र अस्थायी प्लाटुनहरूबाट विशिष्ट क्षमता र प्रतिभाहरूलाई केन्द्रित गरेर एउटा अजेय शक्तिकारूपमा लडाकु फोर्स तयार गर्ने योजना बन्यो । सोही बमोजिम पासाङको फौजी कमान र अनन्तको राजनीतिक कमानमा एउटा प्लाटुनस्तरको एसटिएफ गठन गरियो । उक्त एसटिएफद्वारा दाङको चिराघाट चौकी आक्रमण गरेर सबै पुलिसलाई सखाप पार्नुका साथै हातहतियार र गोलीगठ्ठा सबै कब्जा ग¥यो । त्यसपछि पासाङको नेतृत्वमा जुन ठाउँमा आक्रमण गर्छ त्यहाँ सफल गर्ने फौजी अभियान नै चल्यो । पासाङ आयो भन्ने सुनेपछि प्रतिक्रियावादीहरूको पुलिस अखाडाहरू थर्कमान हुन थाले । पछिल्ला कारबाहीहरूमा त कम समयको लडाइँमै पुलिसहरूले हतियार फालेर आत्मसमर्पण गर्न थाले । यही घटनालाई फौजी कारबाहीमा खाता खोलिएको विशिष्ट कारबाहीका रूपमा चिराघाट चौकी आक्रमणको संस्मरणलाई प्रस्तुत कृतिमा सजिब ढङ्गबाट चित्रण गरिएको छ । यो कारबाहीमा जनछापामारतर्फ एकजना होनहार लडाकु योद्धा नायन ‘ढाँट बुढा’को सहादत भएको थियो । अविनाशले नायनको सहादतको खबर लिएर उनको घरमा जाँदाको क्षणलाई अत्यन्तै दुःखद्, मार्मिक र कारुणिकरूपमा प्रस्तुत गरेका छन्, ‘अमर योद्धा क.नायनको घरमा चिठी पु¥याउँदा’ शीर्षकको संस्मरणमा । नायनको बुबा सिंह बुढा, बहिनी कुमारी बुढा र ७५ वर्षीय बृद्ध बरदान रोकालगायत पाँच जनाको सामूहिक हत्या भएको थियो । त्यही बदला लिन हिँडेका नायन आफैँ सहिद बनेपछि अविनाशलाई यो घटनाले अत्यन्तै मर्माहत तुल्याएको थियो । त्यही खबर लिएर आफैँ नायनको घरमा जानुपर्ने परिस्थिति सिर्जना भयो । त्यसले उनलाई निकै दुःखीत तुल्यायो । परिवारमा कसरी कुरा गर्ने भन्ने द्विविधामा परेको बेला कुरा खोल्दै जाँदा उनी स्वयम् भावुक बनेपछि सम्पूर्ण परिवार भावुक बनेको थियो ।
नायनको बहिनी कुमारी बुढालाई आफ्ना बाबुको अगाडि सामूहिक बलात्कार गरेर उनका दुवै आँखा फोडेर जिउँदै जलाइएको थियो । यस्ता हृदयविदारक बर्बर यातनासहितका घटनाहरूले रोल्पा नै शोकविह्वल बनेको थियो । नायनको सहादतले थप मार्माहत बनाएको घटनालाई संस्मरणमा उल्लेख गरिएको छ ।
त्यसपछि उनका लगातार फौजी कारबाहीका शृङ्खलाबद्ध अनुभूतिहरूलाई यस सङ्ग्रहमा समेटिएको छ । जस्तै ‘लाहाँ रेडको सफलता र खुकुरीदलको मटियामेट’, ‘चौकी घेराउदेखि घर्तीगाउँ रेडसम्म’, ‘उपचारको भन्दा रेडको चिन्ता बढी भएको भिङ्ग्री कारबाही’ जस्ता कारबाहीहरू ०५६ सालमा भएका ठुल्ठुला चौकी रेडका कारबाहीहरू हुन् । यी कारबाहीपछि गाउँगाउँमा प्रहरी परिचालन गरेर ज्यादती मच्चाउने कार्यमा केही सिथिलता आएको थियो । यी कारबाहीबाट माओवादीको शक्ति बलियो हुँदै गएको थियो भने दुस्मनको मनोबल गिर्न गई शक्ति सन्तुलनको अवस्था सिर्जना हुँदै थियो ।
नेपाली वर्गसङ्घर्षको इतिहासमा विशेषतः जनयुद्धको सुरुआतपछिको ठुलो कारबाही डोल्पाको दुनै कारबाही थियो । यो कारबाही प्रतिक्रियावादी सत्तामा नयाँ अन्तरविरोध पैदा गर्न सफल घटनाको रूपमा चित्रित छ । यसलाई अविनाशले ‘नेपाली वर्गसङ्घर्षमा पहिलोपटक सदरमुकाम कब्जा’ शीर्षक दिएर दुनै कारबाहीको घटनालाई पुनर्ताजगी दिएका छन् । झिवाखोला बाग्लुङको चौकी रेड, ‘जेलवाङदेखि जुम्लासम्म’जस्ता फौजी कारबाहीको संस्मरणहरू ताजा इतिहासका रूपमा स्थापित गरिएको छ । त्यस्तै दाङ घोराही सदरमुकाम रेड र सैन्य क्याम्पमाथिको हमला जनयुद्धको अर्को ऐतिहासिक परिघटना बन्न पुगेको छ । त्यसअघि डोल्पा सदरमुकाम आक्रमण गर्दासम्म नेकपा माओवादीको प्रहारको निशाना दलाल तथा नोकरशाही वर्गको क्याम्पमाथि भएको थियो भने घोराही आक्रमण सामन्तवादको सैन्य शक्तिमाथिको थियो । यसले जनयुद्धलाई रक्षाबाट सन्तुलनको चरण पार गरेर आक्रमणको चरणमा फड्को मार्न सफल बनाएको थियो । त्यसपछि माओवादीले लगातार सैन्यक्याम्पमा आक्रमण बढाउँदै लग्यो ।
अर्घाखाँचीको सन्धिखर्क सदरमुकाम कब्जा, जुम्ला सदरमुकाम कब्जा, लिस्ने गाम, अछामको मंगलसेन आदि कारबाही जनयुद्धका उच्च फौजी कारबाही थिए । यिनै कारबाहीका सुखान्त र दुःखान्त अनुभूतिहरूलाई विभिन्न संस्मरणमा समेटेका छन् स्रष्टा अविनाशले । यहाँसम्म आउँदा जनमुक्ति सेनाको स्थायी फर्मेशन ब्रिगेड स्तरमा विकास भएको थियो । यसले चलायमान र मोर्चावद्ध युद्धको प्रक्रियामा पार्टीले जनमुक्ति सेनालाई परिचालित गरेको थियो । यहाँसम्म आउँदा माओवादीले आधारइलाका निर्माण गरेर त्यसलाई विस्तार गर्दै लगेको थियो । आधारइलाका भनेको माओवादीले निर्माण गरेको नयाँ सत्ताको रूपमा लिइन्छ । यतिबेलासम्म पुरानो सत्ता सदरमुकाम र तारबारभित्र कैद भइसकेको थियो भने देशभरको ग्रामीण क्षेत्र माओवादीको जनसत्ताको लप्काभित्र परिसकेको थियो । ग्रामीण क्षेत्र मुक्त इलाकाको रूपमा विकसित भइसकेको थियो । यस विषयलाई समेट्दै आधारइलाकाभित्र बनेको विशेष जिल्लाको संरचनालाई अविनाशले आफ्नो संस्मरणमा उनेका छन् ।
अन्त्यतिर समेटिएका दुइवटा ठुलो र भीषण मोर्चाको रूपमा स्थापित बेनी मोर्चा र गण्डक अभियान सम्बन्धी संस्मरण लेखेर कृतिलाई पुरा गरेका छन् अविनाशले । बेनी मोर्चा जनयुद्धकालको सबैभन्दा ठुलो शक्ति केन्द्रिकरण गरेर गरिएको फौजी कारबाही थियो । त्यहाँसम्म आउँदा शाही सेनाले अमेरिकन फोर्टिफिकेशनमा आफ्नो क्याम्पको हार्बोरिङ गरेको थियो भने सेनालाई पनि अमेरिकन मरिनहरूद्वारा तालिम दिलाएर बलियो बनाउने प्रयत्न गरेको थियो । साथै फौजी जनशक्ति र हातहतियार पनि भारि मात्रामा सङ्गृहित गरेर राखेको थियो । यति बलियो फोर्समाथि मोर्चावद्ध आक्रमण गर्नु आफैँमा निकै ठुलो चुनौतीको कारबाही बन्न गएको थियो । यिनै विषयलाई युद्धमैदानमा डटेका जनुमुक्ति सेनाले कसरी लिएका थिए ? त्यस्ता मोर्चाहरूमा कसरी लडेका थिए भन्ने कुरालाई बेनी मोर्चाको कारबाही सम्बन्धी संस्मरण र गण्डक अभियानका संस्मरणमा विस्तृतरूपमा कलात्मक, भावनात्मक र विचारधात्मकरूपले उल्लेख गरिएको छ ।
यसरी समग्रमा भन्नुपर्दा राजबहादुर बुढा ‘अविनाश’को प्रस्तुत कृति ‘जङ्गको मैदानमा’ जनयुद्धको जीवन्त कथा र इतिहास बनेर उभिएको छ । यो अनुभूतिका रागात्मक पक्ष मात्र भएको कृति होइन । यहाँ जनयुद्धको आवश्यकता र त्यसको औचित्य पुष्टि गरिएको राजनीतिक र वैचारिक तथ्यहरू पनि छन् । त्यसका साथै जनयुद्धको कालभरि दुस्मन पङ्क्तिले कहाँ कहाँ केकस्ता हर्कतहरू ग¥यो र विभिन्न अप्रेशनहरूद्वारा जनतामा कसरी जाइलाग्यो ? जनताले त्यसको कसरी प्रतिरोध गरे ? जनमुक्ति सेनाले केकस्ता फौजी गतिविधि सम्पन्न ग¥यो ? त्यसबाट के कति उपलब्धि हासिल भयो ? आदि प्रश्नहरूको जवाफ पनि प्रस्तुत कृतिमा पाउन सकिन्छ । त्यसैले यो कृति एउटा रिपोर्ताजको झलक दिने कृति पनि बन्न पुगेको छ ।
अन्त्यमा, अविनाशले युद्धमोर्चामा बन्दुक मात्र चलाएनन्, उनले कलम पनि सँगसँगै चलाएर आफूले गरेका, भोेगेका र देखेका तथ्यहरूलाई अक्षराङ्कन गरेका छन् । जनयुद्धको एउटा जिउँदो साक्षीको काम गर्ने अभिलेख तयार पारेर नेपाली समाज र भावी पुस्ताका क्रान्तिकारीहरूलाई महत्वपूर्ण, विचारोत्तेजक, भावोत्तेजक र मार्मिक खुराक प्रदान गरेका छन् । वर्गसङ्घर्षको सुरुआतदेखि नै पार्टी र क्रान्तिलाई नै आफ्नो सम्पूर्ण जीवन बनाएर युद्धमोर्चामा होमिएका जिउँदा सहिदजस्तै बनेका अविनाशले यस्ता अझ थुपै्र कृति तयार गर्नु बाँकी छ । यो कृति त उनको जीवन भोगाइको एउटा सानो अंश मात्र हो । अझ धेरै भोगाइहरू, आँशु–हाँसो, खुशी–रोदनका जीवन्त कथाहरूको अभिरेखाङ्कन गर्न बाँकी नै छ । जनयुद्धका सफलता, असफलता, सबल र दुर्बल, सुखान्त र दुःखान्त घटनाक्रमका एकजना भोक्ता साक्षी स्वयम् आफैँ भएकाले आगामी दिनमा अझ गहन कृतिको अपेक्षासहित् यस सङ्ग्रहको भूमिकाको यहीँ बिट मार्दछु ।

२०६७ फागुन १५