काठमाडौं । २२ वर्षपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी आइपुगेको छ । आइतबार पहिलो चरणअन्तर्गत चाबहिलको महांकालचौरस्थित ट्यांकीबाट पानी वितरण गरिएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले दिउँसो २ बजे महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका थिए । त्यहीँबाट आपूर्ति भएको पानी डिल्लीबजार, मैतीदेवी, घट्टेकुलो क्षेत्रसम्म वितरण गरिएको छ ।
आइतबार महांकालचौरसँगै अनामनगर, मीनभवन र खुमलटारस्थित ट्यांकीबाट पनि पानी वितरण गर्ने योजना थियो । तर, पछि महांकालचौरबाट मात्रै वितरण गरियो । चारवटै ठाउँबाट गरी सुरुका दुई दिन चार करोड लिटर, तेस्रो दिन साढे ६ करोड र चौथो दिनदेखि साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना केयुकेएलले बनाएको थियो ।
अहिले सुन्दरीजलस्थित एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार दैनिक साढे आठ करोड लिटरसम्म पानी वितरण गरिनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर गरी दैनिक १७ करोड लिटरसम्म उपत्यकामा पानी वितरण गर्न सकिने प्रवक्ता राईले बताए । मेलम्ची खानेपानी आयोजनाले गत शुक्रबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो ।
केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ ।
काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।
अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । नयाँ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने देखिएको छ ।