दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको बार्सिक कार्यक्रम

समाचार

प्रकाशित मिति : २०७७ चैत्र १६

१६, चैत÷तुलसीपुर
ईश्वरीप्रसाद गैरे÷ दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, तुलसीपुरको २१औँ बार्सिक साधारणसभा तथा ११औँ अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । यही चैत १४ गते शनिबारका दिन सम्पन्न अधिवेशनमा बोल्ने वक्ताहरूले साहित्यले समाजको अनुहार बदल्ने चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गरे ।
लुम्बिनी प्रदेश सांसद डिल्ली चौधरीले प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यले निरासाभाव व्यक्त गर्न नहुने जनाए । उनले भने ‘साहित्यले निरासाजनक कुरा लेख्यो भने देशलाई निरासातिर पनि लैजान्छ ।’ उनले युवाहरूलाई उत्प्रेरित गर्ने साहित्य लेखिनुपर्ने धारणा राखे ।

अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रगतिवादी साहित्यकार तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले वर्गीय समाजमा साहित्य पनि वर्गीय हुन्छ भन्दै ‘साहित्यले उत्पीडित वर्ग, जाति, लिङ्ग र समुदायका जनताका निम्ति अग्रगामी चेतना दिनु पर्ने बताए । उनले ‘साहित्य समाजको दर्पण हो’ भन्ने भनाई पुरानो र अपूर्ण भएको बताउँदै साहित्य त समाजको रूपान्तरणकारी साधन भएको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक डा.बाबुराम आचार्यले साहित्यमा विपरित ध्रुवका मानिसलाई पनि रुवाउन सक्ने शक्ति भएको बताए । आधिवेशन सफलताको शुभकामना व्यक्त गर्नेहरूमा साहित्यकार धनेश्वर पोखरेल, पूर्व शिक्षक माधवप्रसाद लामिछाने, साहित्यकार रमेश सुवेदी, केशवाचार्य, नेपाल निवृत्त राष्ट्रसेवक समाज, तुलसीपुरका अध्यक्ष जयपृथ्वीबहादुर शाह लगाएतका थिए । सो अवसरमा कविहरू प्रेमराज पाण्डे, सरु रिजाल, भावना अधिकारी लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा धनेश्वर पोखरेलसहित झण्डै तीनदर्जन साहित्यकारहरूलाई पुरस्कार तथा सम्मान दिइएको थियो । सो अवसरमा सम्पन्न अधिवेशनबाट साहित्यकार डिल्लीराज श्रीधरको अध्यक्ष्तामा एघार जनाको कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । उपाध्यक्ष तिलक न्यौपाने, सचिव शेषमणि रिजाल, कोषध्यक्ष सुवर्णकुमार लामिछाने, सहसचिव भवानी न्यौपाने, सदस्य श्रीधर शर्मा, सङ्गीता उपाध्याय, प्रेमराज पाण्डे, नारायणी रिजाल, डिल्लीराज रेग्मी, तुलसीराम वस्याल रहेका छन्