काठमाडौं । नेपालले भारतलाई अग्रिम भुक्तानी बुझाइसकेको खोप तत्काल नपठाउने भएको छ । भारतले खोप नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध हुन पुगेको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटलाई २० लाख डोजको ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरिसकेको छ । तर, सिरमले हालसम्म १० लाख जोड मात्र पठाएको छ । बाँकी १० लाख कहिले पठाउने भन्नेमा अन्योल कायमै छ । भारतमा पछिल्लो चरणमा कोभिडका नयाँ विरामीहरु संख्या उल्लेख्य रुपमा देखिन थालेपछि त्यहाँको सरकारले तत्काल खोप कुनै पनि देशमा निर्यात नगर्ने निर्णय गरेको थियो । सिरमले प्रतिबद्धताअनुसार बाँकी खोप समयमै नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध बन्न पुगेको छ ।

नेपालमा माघ १४ देखि खोप कार्यक्रम सुरु गरिएको थियो । सरकारले पहिलो चरणमा फ्रन्ट लाइनर र दोस्रो चरणमा ६५ वर्षमाथिका उमेरका खोप लगाउने योजना बनाएको थियो । दोस्रो चरणअन्तर्गत १० दिनमा १७ लाख २२ हजारभन्दा बढीले खोप लगाए । त्यसपछि भने ५५ वर्षभन्दा माथि र ६४ वर्षसम्मका लागि लगाउने योजना थियो । सुरुको भारतबाट अनुदानमा प्राप्त १० लाख, सिरमबाट खरिद सम्झौता भएको २० लाख, विश्व स्वास्थ्य संगठनको कोभ्यास अनुदानअन्तर्गतको ३ लाख ४८ हजार मात्राका हिसाबले सरकारले खोप अभियान अघि सारेको थियो । तर, सिरमले दोस्रो खेप नपठाउँदा पूरै अभियान नै अवरुद्ध हुन पुगेको छ । अब पहिलो चरणमा खोप लगाएका करिब ४ लाख ७५ हजारका लागि चाहिने दोस्रो डोजका लागि मात्र खोप बाँकी छ ।

खोप पठाउन भएको ढिलाइको विषयमा नेपालको अधिकारीेले सिरम, भारतको स्वास्थ्यदेखि परराष्ट्र मन्त्रालयसम्म धेरैपटक छलफल गरेपनि कसैबाट पनि प्रस्ट जवाफ आएको छैन । नेपाली पक्षले ताकेता गरेपछि सिरमले ३ मार्चमा बाँकी १० लाख डोज पनि समयमा दिन नसक्ने बरु पैसा नै फिर्ता गर्ने आशयसहितको पत्र पठाएको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले सिरमका अधिकारीहरूसँगको छलफलमा यदि सम्झौताबमोजिम समयमा खोप नपठाए कम्पनीविरुद्ध मुद्दा हाल्ने र यसलाई दिइएको लाइसेन्स खारेज गर्ने चेतावनी समेत दिएको बुझिएको छ । त्यसपछि सिरमले फेरि दुई साताको भाका राखे पनि उक्त भाका नाघेको समेत दुई साता बितिसकेको छ ।

खोप आपूर्तिका लागि भन्दै नेपाली पक्षले धेरैपटक औपचारिक पत्रसमेत पठाइसकेको छ । २१ मार्चमा परराष्ट्र मन्त्रालयले विदेश मन्त्रालयलाई फेरि अर्को पत्र लेखेको थियो । जसमा सिरमलाई खोप आपूर्तिका लागि भनिदिन आग्रह गरिएको छ ।

यसैबीच, चीनले अनुदानमा दिने कोभिडविरुद्धको आठ लाख डोज खोप सोमबार नेपाल आउने भएको छ । सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाज खोप लिन आइतबार बिहान बेइजिङ पठाउने तय भएको छ ।

गत १७ फागुनमा चीनले अनुदानस्वरूप नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, ढुवानी आफैँ गर्नुपर्ने उसको सर्त थियो । चीनले घोषणा गरेको एक महिना बित्दा पनि सरकारले खोप ल्याउन चासो देखाएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर