काठमाडौं । बरिष्ठ बाम बुद्धिजीवी तथा नेपालभाषा साहित्यका वरिष्ठ समालोचक एवम् प्रगतिवादी साहित्यिक फाँटका एक मूधन्य व्यक्तित्व प्रा. माणिकलाल श्रेष्ठको आज विहान निधन भएको छ ।

८९ वर्षीय श्रेष्ठ लामो समयदेखि अस्वस्थ भई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उपचारककै क्रममा श्रेष्ठको निधन भएको हो ।

उहाँका दुई छोरा छन् । जेठो छोरा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्र श्रेष्ठको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ नेपाली कम्युनिस्ट तथा वाम आन्दोलनका एक अग्रज बौद्धिक व्यक्तित्व हुनुुहुन्थ्यो । नेपालभाषा साहित्य क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ । उहाँको साहित्यया सिद्धान्त पुस्तक भाग– २ सम्म प्रकाशित भइसकेको छ भने अन्य राजनीतिक पुस्तकहरु समेत प्रकाशित रहेका छन् ।
श्रेष्ठले नेपालभाषा केन्द्रीय विभागमा पनि अध्यापन गराउनुहुन्थ्यो ।


केही समय पहिले नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रा. माणिकलाल श्रेष्ठको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि हुनुहुन्थ्यो । मुक्तिको लागि अथक योद्धाको रुपमा आजीवन सतिसाल बनी देश र उत्पीडित जनताको पक्षमा श्रेष्ठले दिएका योगदानको कदर गर्दै उहाँलाई सम्मान दिइएको नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठले बताएका थिए । स्वास्थ्यका कारण माणिकलाल श्रेष्ठ मोर्चाको सम्मेलनमा आउन नसकेकाले उहाँकै निवास पुगी सुस्वास्थ्यको कामनासहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर