
कम्युनिस्टहरूले आफ्ना सहयोद्धा, नेता वा कार्यकर्ताहरूलाई सम्वोधन गर्ने सबैभन्दा प्रिय शब्द कमरेड हो । तर हाम्रो नेपाली समाजमा आपूmभन्दा अग्रज र उमेरले पनि पाकाहरूलाई पार्टी सङ्गठनमा पनि सम्वोधन गरिने शब्द प्रायः दाइ नै हो । हामीले कमरेड हर्कबहादुर शाहीलाई दाइ भनेर नै सम्वोधन गथ्र्यौं । त्यसैले यहाँ पनि मैले दाइ शब्दले नै सम्वोधन गर्न उपयुक्त ठानेर सोही अनुसार प्रयोग गरेको छु ।
दाइसित मैले धेरैपछि मात्रै सङ्गत र सहकार्य गर्ने अवसर पाएको थिएँ । तथापि त्यो सहकार्य दुई बर्स भन्दा बढि हुन सकेन । हाम्रो कार्यविभाजन फेरि अलग अलग भयो । यो बिचमा सङ्गठनको ढाँचा बदलियो । राज्य कमिटीबाट प्रदेश कमिटीको साङ्गठनिक ढाँचा बन्यो । मेरो कार्य क्षेत्र पाँच नम्बर प्रदेश कमिटी भयो भने दाइ अस्वस्थताको कारण विभागीय जिम्मेवारी लिएर काठमाडौँमै बस्नुपर्ने भयो । माओवादी पार्टी टुक्रिने क्रममा सङ्गठनात्मक रूपमा सबै भन्दा कमजोर भएको अवस्था थियो । त्यतिवेला दाइको नेतृत्वमा थारुवान राज्यमा सहकार्य गर्ने अवसर जुरेको हो । यद्यपि त्यस अघिदेखि नै हामी पार्टीको केन्द्रीय समितिमा सँगै थियौँ । तर, हाम्रो कार्यक्षेत्र फरक फरक थियो । सामान्य भलाकुसारी र औपचारिक वार्तालाप मात्र हुन्थ्यो । पछिल्लो समयमा जब बादल गुट प्रचण्डको पुच्छर समाएर ‘वैतरणी’ तरेर सत्ताको ‘स्वर्ग’ भोग गर्न हिँड्यो, तव सङ्गठनात्मक रूपमा हाम्रो पार्टी सबैभन्दा कमजोर बन्न पुगेको थियो । त्यसपछि मलाई विभाग र मोर्चाको मुख्य जिम्मेवारी छोडेर भूगोलको सङ्गठन सञ्चालन गर्नुपर्ने दायित्व थपियो । त्यही अवसरमा मेरो र दाइको एउटै कार्यथलो बन्न पुगेको हो ।
जनयुद्धलाई प्रचण्ड–बाबुराम मण्डलीले विसर्जन गरेपछि ‘शान्तिप्रकृया’का क्रममा हर्कबहादुर शाही (क.दीनेश)ले नेमकिपाबाट विद्रोह गरी तात्कालिन नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो । माओवादी ‘शान्तिप्रकृया’मा आएपछि अन्य पार्टी परित्याग गर्दै माओवादी धारामा समाहित वा एकता गर्ने प्रकृया ह्वात्तै बढेको थियो । जनयुद्ध कालभरी जेजति माओवादीमा सङ्गठित भएका थिए, त्यसको लगभग आधाआधी हिस्सा ‘शान्तिप्रकृया’का क्रममा समाहित हुनेहरू थिए । देश माओवादीमय भएको थियो । हामीजस्ता जनयुद्धका इमान्दार, अथक र अविचल कार्यकर्ताहरूलाई जनविद्रोहको तयारी गर्नका लागि ‘शान्तिप्रकृया’मा जानु परेको हो भनेर प्रचण्डले भेला प्रशिक्षणहरूमा दीक्षित गरेका थिए । हामी उनको त्यस कुरामा विश्वस्त थियौँ ।
जनयुद्धको अन्तिम कालमा हामी प्रत्याक्रमणको चरणमा थियौँ । कमरेड किरण, क गौरव लगायतका क्रान्तिकारी धारका धेरै नेताहरू भारतीय जेलमा हुनुहुन्थ्यो । पार्टीमा वैचारिक र सैद्धान्तिक रूपले नेतृत्व गर्ने किरण र गौरव दुबै नेता जेलमा भएको अवसरमा प्रचण्ड–बाबुराम मण्डलीलाई जनयुद्ध विसर्जन गर्ने र कथित शान्ति प्रकृया मार्फत् संसदमा उक्लने सुनौलो अवसर बन्न पुग्यो । प्रचण्ड–बाबुरामसँग वैचारिक रूपले मतभेद राख्ने र उनीहरूलाई टक्कर दिनसक्ने नेता पार्टीमा कोही भएनन् । त्यतिवेलाका केन्द्रीय तहका नेताहरू प्रचण्ड–बाबुरामले जता डो¥यायो त्यतै सती जाने खालका थिए । त्यसैको परिणाम प्रचण्ड–बाबुरामलाई जनयुद्ध विसर्जन गर्ने उपयुक्त अवसर बन्यो । उनीहरूले अव प्रत्याक्रमणको अन्तिम योजना ‘सशस्त्र जनविद्रोह’ हो भन्दै त्यसको व्यापक तयारी गर्न शान्ति प्रकृयामार्फत् सहरमा तयारी गर्नु पर्छ भने । सात डिभिजन सेना क्यान्टोनमेन्टमा रहने र त्यहाँ आन्तरिक रूपमा फौजी तयारी गर्ने, एक्काइस डिभिजन सेना वाइसिएल मार्फत् अर्वान गुरल्लिा तयार गर्ने भनेर लाखौँ भूमिगत कार्यर्ताहरूलाई आश्वस्त पारे । वास्तवमा यो सबै ललिपप थियो र विद्रोहको योजनामार्फत् पार्टीलाई क्रमशः भुत्ते बनाउने षड्यन्त्र रहेछ ।
साँच्चै जनविद्रोहमा जाने हो भने त जनयुद्धकालिन नेता कार्यकर्ताको समूहले मात्रै त पुग्दैनथ्यो पनि । व्यापक जनतालाई सङ्गठित गर्नु जरुरी थियो । मजदूर, युवा, विद्यार्थी र मध्यमवर्गीय तप्का त सहरमै थियो । उनीहरूलाई सङ्गठित गर्ने कुरा आवश्यक नै हुन्थ्यो । त्यसैले पनि पार्टीमा केही सम्झौत गरेरै भएपनि अरू समान विचार समूहका पार्टीहरूलाई एकतावद्ध गर्नु, ध्रुविकरण गर्नु विद्रोहको कार्ययोजना भित्रको कुरो थियो । त्यसले हामी जनयुद्धकालिन नेता कार्यकर्ताहरूलाई खुसी तुल्याएको थियो । ‘शान्ति प्रकृया’मा पार्टीको आकार बढेकोमा सबै दङ्ग हुने कुरा स्वाभाविकै थियो । त्यही क्रममा दाइ हर्कबहादुरले नेमकिपा परित्याग गरि माओवादीमा धु्रविकृत हुनु भएको थियो । उहाँ माओवादीले सञ्चालन गरेको जनयुद्धका उपलब्धीहरूको रक्षा गर्दै जनविद्रोह मार्फत् केन्द्रीय सत्ता कब्जा गरेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्छ भनेरै नेमकिपा परित्याग गर्नुभएको हो ।
२०६४को संविधानसभाको चुनाव हुनुभन्दा अघिसम्म नारायणकाजी नेतृत्वको एकताकेन्द्रलाई माओवादीप्रति पूर्ण विश्वास थिएन । कतै यिनीहरू साँच्चै जनविद्रोह गर्न फेरि हतियार उठाउने त हैनन् भन्ने आशङ्का थियो । त्यसैले काजीसमूहले माओवादीसित एकता गर्न हिच्किचाएको थियो । चुनाव भैहाले पनि जनयुद्ध गरेर आएको माओवादीलाई कसैले भोट हाल्दैन भन्ने काजीसमूहलाई परेको थियो । जब चुनावमा माओवादीले अप्रत्यासित विजय हासिल ग¥यो र सरकार समेत बनायो तव नारायणकाजी समूह अब माओवादी हतियार उठाएर विद्रोहमा जान सक्तैन भन्नेमा विश्वस्त भयो अनि एकता गर्न हतारियो । उता प्रचण्ड–बाबुरामहरूलाई पनि किरणसमूहलाई अल्पमतमा पार्न र जनविद्रोहको तयारी भनेर लाखौँ कार्यकर्ताहरूमा छरेको भ्रमलाई तुहाउन काजीसमूहसित एकता गर्न हतारो भएको थियो । यसरी प्रचण्ड मण्डली र काजी मण्डलीका बिचमा संसदीय व्यवस्थामा पुनरागमनको स्वार्थ मिलेपछि एकता सम्भव भयो र गरियो पनि । परन्तु हर्कबहादुर दाइले भने संसदीय व्यवस्थाका लागि नभएर जनविद्रोहमार्फत् नयाँ जनवादी व्यवस्था स्थापना गर्नकै लागि एकता वा ध्रुविकरणको माहोल बनाउनु पर्छ भन्ने धारणा राख्नु भएको थियो । यसरी दाइसित हाम्रो सहकार्यको थलो एउटै भएको थियो । उहाँको क्रान्तिकारी स्पृटबाट हामी प्रभावित पनि भएका थियौँ ।
मेरो मुख्य कार्यक्षेत्र भूगोलको सङ्गठन भएकाले थारुवान राज्यमा मेरो सरुवा भयो । सांस्कृतिक मोर्चा र इच्छुक सांस्कृतिक प्रतिष्ठान मेरो सहायक कार्यक्षेत्र बन्यो । दाइको कार्यक्षेत्र पनि भेरी–कर्णालीबाट थारुवान हुन पुग्यो । उहाँ थारुवानको इञ्चार्ज हुनुभयो । हामी दुबैको एउटै कार्यक्षेत्र भएकोमा दाइ निकै खुसी हुनुहुन्थ्यो । मसँग उहाँको औपचारिक अनौपचारिक कुराकानी निकै हुन्थे । दाइसँगको सहकार्यमा मलाई कुनै अप्ठ्यारो अनुभूति भएन । योजना निर्माणदेखि कार्यान्वयनमा जाँदा हाम्रा बिचमा कुनै विमति भएनन् । एकरूपताका साथ योजना कार्यान्वयन हुन्थ्यो ।
दाइसँगको सहकार्यमा मैले सैद्धान्तिक कुराहरू केही सिक्ने अवसर पनि पाएँ । दाइसित सैद्धान्तिक अध्ययन र ज्ञान राम्रो थियो । यद्यपि माओवाद र विचारधारा भन्ने कुरामा हामी दुईका विचमा फरक बुझाई थियो । आफ्नो विचार जेसुकै भएपनि पार्टीले पास गरेको लाइनलाई अक्षरस लागू गर्नु पर्छ भन्ने बुझाई थियो दाइको । अनौपचारिक रूपमा वैचारिक बहस हुँदा भने उहाँले माओविचारधारा भन्नुहुन्थ्यो । औपचारिकतामा त उहाँ पार्टीको जे लाइन हो त्यसअनुसार नै कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुहुन्थ्यो ।
पाँच दशक भन्दा बढि समय कम्युनिस्ट आन्दोलनमा इमान्दार र निष्ठापूर्वक गुजार्नु चानचुने विषय होइन । नेपालमा कम्युनिस्ट आन्दोलनका टुटफुट, एकताका अनेकौँ शृङ्खला छन् । जुनसुकै खेमामा रहेपनि दाइले अविचल र अथकरूपले निष्ठा, आदर्श र क्रान्तिकारी जीवन विताएको हामी पाउँछौँ । लाभको पदका निम्ति आस्था, आदर्श, विचार र वर्गप्रेमलाई तिलाञ्जली दिने स्वभाव दाइमा देखिएन । कम्युनिस्ट आन्दोलनमा लागेका अधिकांश नेता कार्यकर्ताहरूमा ‘यति बर्स पार्टीमा जीवन बिताएर मैले के पाएँ’ भन्ने धारणा रहेको पाइन्छ । पार्टीमा लाग्नु भनेको आपूmले केही पाउनका लागि हो र हुनु पर्छ भन्ने धारणा अधिकांसमा रहेको पाइन्छ । राजनीतिमा लाग्नु भनेको देश र समग्र जनताको हितमा स्वयमसेवी भएर लाग्ने कुरा हो । आज कम्युनिस्ट आन्दोलन पनि पेसा बन्न पुगेको छ । पेसा भनेको नाफा घाटाको ब्यापार हो । आजको संसदीय राजनीति हुनेखाने बर्गले उत्पीडित बर्ग र समूदायका जनतालाई लुटेर, ठगेर, ढाँटेर आफ्नो र आफ्ना नातागोताको पुस्तौँका लागि धन थुपार्ने र मोज गर्ने पेसा बनेको छ । त्यसमा संसदवादी कम्युनिस्टहरू पनि संलग्न भएका छन् । त्यसैले पार्टीमा नेतृत्वमा पुग्नका लागि साम, दाम, दण्ड, भेद प्रयोग गर्ने स्पर्धा चलेको छ । फलस्वरूप समग्र कम्युनिस्ट आन्दोलन बदनामित हुन पुगेको छ । सर्वसाधारण आम जनतालाई सच्चा कम्युनिस्ट र नक्कली कम्युनिस्टको भेद छुट्याउन गाह्रो भएको छ । हर्क दाइमा भने यस्तो प्रवृत्ति कहिल्यै पनि देखिएन । जुन खेमामा रहे पनि र जहिले पनि दाइले इमान्दारिता पूर्वक क्रान्तिकारी धाराको पक्षमा दृढतापूर्वक उभिनु भयो ।
हर्क दाइको माओवादी पार्टीमा समाहित भएदेखि पनि हामीले प्रचण्ड, विप्लव र बादल गुटसँगको पार्टी विभाजनको पीडा भोग्यौँ । यी सबै फूटहरूमा दाइले जहिलेपनि क्रान्तिकारी धाराको पक्षमा लागेर हाम्रो अग्रज नेता भइरहनु भयो । यसैबाट पनि उहाँको विगत क्रान्तिकारी थियो भन्ने कुरा पुष्टि हुन्छ भन्ने मलाई लाग्छ । उहाँ जीवन पर्यन्त अथक, अविचल र अविश्रान्तरूपमा कम्युनिस्ट आन्दोलनमा दृढतापूर्वक लागि रहनु भयो । यो नै उहाँको जीवनको सवैभन्दा महत्वपूर्ण पक्ष हो । दाइको अर्को विशेषता भनेको कार्यकर्ताहरूलाई उत्साहित गर्ने र आफ्नो गाउँ समाजका जनताको निस्वार्थरूपले सेवा र सहयोग गर्ने थियो । नयाँ पुस्ताले उहाँबाट सिक्ने कुरा यही आदर्श राजनीति हो । दाइले कार्यकर्ताहरूप्रति सदैव मायाँ र सद्भाव राख्नु हुन्थ्यो । कार्यकर्ताहरूलाई सैद्धान्तिक प्रशिक्षण दिँदा उहाँको भाषा, शैली र विषयको प्रस्तुति सरल र सहज हुन्थ्यो ।
बादलगुट प्रचण्डकहाँ फर्केर जाँदा सङ्गठन धेरैजसो सोहरेर लगेको अवस्था थियो । त्यसको प्रभाव थारुवान राज्यमा धेरै नै परेको थियो । त्यतिबेला हामी दुवैले एकैसाथ थारुवान राज्यमा जिम्मेवारी पाएका थियौँ । जिम्मेवारी पाएपछि हामीले थारुवान राज्यका सबै जिल्लाहरूमा प्रारम्भिक भेला गरेर सङ्गठनलाई पुनर्जिवन दियौँ । कैलालीमा बाहेक अरू जिल्लाहरूमा हाम्रो अवस्था अलि कमजोर नै थियो । दाइ सबै जिल्लाका भेलाहरूमा सहभागि हुनुभयो । त्यसपछि राज्यसमितिको भेला कोहलपुरमा सम्पन्न ग¥यौँ । त्यसले थारुवान राज्यको सङ्गठनात्मक अवस्था राम्रै भएको सन्देश केन्द्रलाई दिन सफल भयौँ । जहाँ हामीले महासचिव कमरेड किरणलाई प्रमुख अतिथिका रूपमा निम्त्याएका थियाँैँ । यो भेला दाइको अथक मिहिनेत र हाम्रो सहयोगले सम्भव पनि भयो । भेला सानदार रूपमा सम्पन्न भयो । वैद्यसमूहको सङ्गठन शून्य छ भनेर डङ्का पिटेका बादल गुटलाई दह«ो झापड दिन सफल भयौँ । यसरी हामीले थारुवान राज्यमा सङ्गठनको उपस्थितिबाट मजबुतिकरण गर्दै गयौँ । सङ्कटको बेलामा दाइले खेलेको भूमिका निकै उल्लेखनीय रह्यो ।
जीवनको अन्तिम घडिसम्म पनि दाइमा कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने हुटहुटी पाइन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवाद र संसोधनवादी धारा निकै तिव्र गतिमा बढेर गयो । दसबर्से जनयुद्ध सबै उत्पीडित जनताको आशा र भरोसाको केन्द्र थियो । तर जनताको आशामा तुषारापात गर्दै प्रचण्डमण्डलीले गद्दारी गरेर जनयुद्धलाई नियोजित रूपमा विसर्जन गरेपछि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पुनः जागृत गर्न निकै चुनौती बनेको छ । यस्तो वेलामा हर्क दाइजस्ता पाका, अनुभवी र सैद्धान्तिक वैचारिक ज्ञान क्षमता भएका नेताहरूको अनुपस्थिति सदैव खट्किरहने विषय बनेको छ । निष्ठा, आदर्श र क्रान्तिकारी स्पृटका धनि हर्कबहादुर शाहीप्रति हार्दिक श्रद्धाञ्जली तथा लालसलाम ।
२०७७ जेठ ३०, तुलसीपुर, दाङ






























