काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यकारी परिषद्ले वरिष्ठताको नियम मिचेर आफ्ना कोटरीका मानिसलाई नियुक्ति दिने र विश्वविद्यालयमा आचारसंहिता विपरीत काम गर्ने गरेको कुरा बाहिर आएको छ ।
हालै पछिल्लो उदाहरणका रुपमा रिकास्टको नियुक्तिलाई लिन सकिन्छ । त्यहाँ कार्यरत वरिष्ठ प्राध्यापक हुँदा हुँदै कार्यरतहरूको वरियता मिची कनिष्ठलाई नियुक्ति दिइएको छ । विश्वविद्यालयका विभिन्न स्थानमा त्यस्तै किसिमको नियुक्तिले प्राध्यापकहरूमा निराशा छाएको छ । हाल सबैतिर पार्टीकरण गरी उच्चतहको शिक्षालाई ध्वस्त गरिएको छ । उता विश्वविद्यालय अनुदान आयोगमा सरकारले उच्च शिक्षा परियोजनामा दुई दुई कार्यकाल बसी सेवा निवृत्त भएका र विश्वविद्यालयलाई विश्व बैंकको ऋण बोकाएर गएका व्यक्तिलाई नियुक्ति दिएर पैसाको चलखेल गरेको स्रोतको दाबी छ ।
प्राप्त सुचना अनुसार त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरकुमार दत्त, सदस्य केदारप्रसाद घिमिरे र प्राध्यापक संघका सचिव नन्दकिशोर सिंहले ३ वर्ष अगाडि लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा सक्षम र दक्षलाई फेल गराई अक्षमहरूलाई सेटिङ गरी पास गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो ।
सेवा आयोगले विज्ञापन नम्बर ७ र ८ (२०७२÷०७३) गणित विषय उपप्राध्यापक पदको परीक्षामा प्रश्नपत्र पहिले नै आउट गरी प्राध्यापक चेतराज भट्टले उत्तर लेखेर परीक्षार्थीलाई दिएको विषयमा अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा पनि दायर ग¥यो । तर अख्तियारले सेवा आयोगका अध्यक्ष दत्त, सदस्य घिमिरे र प्रश्नउत्तर पहिले नै परीक्षार्थीका हातमा पु¥याउने नन्दकिशोर सिंहलाई उन्मुक्ति दिई शिक्षक चेतराज भट्ट र रामविश्वास साहकाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सेवा आयोगका पदाधिकारीलाई जोगाई भट्ट र साहलाई मात्र मुद्दा दायर गरेकाले अख्तियारको बदनियत ठहर गर्दै उक्त मुद्दामा २०७५ जेठ १४ मा दुबैलाई सफाई दिएको थियो । परीक्षा विधि नै पालना नगर्ने सेवा आयोगका पदाधिकारीलाई उन्मुक्ति दिएर अख्तियारले मुद्दा दायर गरेको फैसलामा उल्लेख छ । सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षामा प्रश्नपत्र मात्र सार्ने परीक्षार्थीलाई पास गराएको प्रमाणसहित उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो ।
केन्द्रले आयोगलाई उपप्राध्यापकको परीक्षामा सहभागी ६७२ जनाको उत्तरपुस्तिका पुनः परीक्षण गर्न २०७३ माघ १२ गते पत्र लेखेको थियो । सेवा आयोगलाई विज्ञहरू राखी उत्तरपुस्तिका परीक्षण गर्न केन्द्रले निर्देशन दिएको थियो । तर सेवा आयोगले उत्तरपुस्तिका पुनः परीक्षण नै नगरी २ जना विज्ञहरूलाई प्रभावमा पारी पुनः परीक्षण गरिएको भनेर सही गर्न लगाएको खुलेको छ ।
त्रिवि सेवा आयोगले २०७३ माघ १२ गते संपरीक्षण गर्ने विज्ञहरू प्रा.प्रकाश शाक्य र प्रा.रामविनोद चौधरीलाई जिम्मा दिने निर्णय ग¥यो । यी दुई प्राध्यापकले २ दिनमा ६७२ थान उत्तरपुस्तिका परीक्षण गरेको भनि त्रिवि सेवा आयोगले संपरीक्षण प्रतिवेदन सतर्कता केन्द्रमा पठायो । २ दिनमा ६७२ थान उत्तरपुस्तिका २ जना विज्ञले कसरी परीक्षण गर्न सम्भव छ ? सेवा आयोगका पदाधिकारीहरूले प्रा.शाक्य र प्रा.चौधरीलाई प्रलोभन दिएर उत्तरपुस्तिका संपरीक्षण नै नगरी सतर्कता केन्द्रलाई झुक्याएको त्रिवि स्रोतको दाबी छ ।






























