क्रान्तिकारी युवा र परिवर्तनको कार्यभार

क्रान्तिकारी युवा र परिवर्तनको कार्यभार

युवा आफैमा के हो ? युवाको चर्चा गर्नुपूर्व सर्वप्रथम यसबारे केही कुरा जान्नु जरुरी छ । युवाबारे राष्ट्रपिच्छे परिभाषा केही फरक–फरक देखिन्छन् । उमेर समुहको आधारमा युवा छुट्याउने प्रचलन सर्वव्यापी छ । तर पनि कुन उमेर समूहसम्मकालाई युवा भन्ने विषयमा बहस भने चलि नै रहेको देखिन्छ । युवालाई उमेर समुहको आधारमा मात्र परिभाषित गर्ने प्रचलन हाम्रो देशमा पनि छ । युवा समग्र जीवनको एउटा यस्तो उमेरअवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, उत्सुकता र सिक्ने क्षमता एवम् उच्च आत्मविश्वास हुन्छ । यहि उमेर अवस्थामा मानिसले आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । यस कारण पनि समाजमा ऊ आफुलाई अब्बल साबित गर्न संघर्षरत रहन्छ । युवा अवस्था मानव जीवनको सर्वाधिक उर्जाशील समय हो । यो बेलामा परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै ऊ आफ्नो क्षमता र नयाँ प्रयोगमा अग्रसर हुन थालिसकेको हुन्छ । त्यसैले पनि युवा अवस्था जीवनको एक निर्णायक उमेरअवस्था हो, जसले उसको निर्माणहुँदै गरेको भविष्य तिर डोर्याउँदै लगिरहेको हुन्छ ।
विश्वमा प्रायः सबै देशले अपनाउने मानक भनेको विश्व श्रमिक संगठनले तोकेको मापडण्द नै हो । यस मापदण्ड अनुसार १५ देखि २९ वर्षसम्मको उमेर समुहका मानिसलाई युवा भनिएको छ । तर विश्व जनस्वास्थ्यको अभिभावकको भूमिका निर्वाह गरिरहेको विश्व स्वास्थ्य संगठन र युनिसेफले केवल १५ देखि २४ वर्षसम्मका उमेर समुहलाई युवा मानेको छ । युवाको परिभाषा देशअनुसार फरक–फरक रहेको छ । जस्तै भारतले १५ देखि ३५ वर्ष, चीनले १४ देखि २८ वर्ष, बंगलादेश र फिलिपिन्सले १५ दे ि३० वर्ष, फिनल्याण्ड र नर्भिक युथ काउन्सिलले १६ देखि २९ वर्ष सम्मकालाई युवा मानेको छ । हंगेरीमा १५ देखि २६ वर्ष जापान र जमैकामा २४ वर्ष, केन्यामा ३५ वर्ष र पाकिस्तानमा ४० वर्ष सम्मको उमेर समहलाई युवा मानिएको छ । नेपालमा राष्ट्रिय युवा नीति २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटिएको छ ।
यसरी विश्वका विभिन्न देशमा विभिन्न उमेर समुह निर्धारण गरी त्यसैका आधारमा युवाको परिभाषा गरिएको छ । युवाको बारेमा अध्ययन गर्दा ख्याल गरिनु पर्ने कुरा के हो भने युवाको परिभाषामा विस्तृतीकरण गरिनु पर्छ । के युवा भनेको उमेर समूहले मात्र निर्धारण गर्ने कुरा हो ? त्यो एउटा कुरा हो, तर त्यो मात्र पर्याप्त होइन । युवा हुनका लागि शक्ति र साहस सँगसँगै सिर्जनशीलता, सिक्ने क्षमता, नयाँ सोच विचारसहित व्यवहारमा उत्रन सक्ने दृढ आत्मविश्वास हुनु पर्छ । यदि यी कुरा छुटाएर उमेरका कुरा मात्र गरियो भने त्यो बढि यान्त्रिक हुन जान्छ । यो परिभाषाले युवा भनी किटान गरिएका समूहका युवा परिपक्वताविनाको मेसिनजस्तो हुने संभावना रहन्छ । उनीहरुसँग प्रगतिशील तथा परिवर्तनकारी सोच र शक्ति दुवै त हुन्छ तर आवश्यक वौद्धिक परिपक्वताको भने कमी रहन्छ ।
हरेक दिन नयाँ कुराको चाहना गर्ने युवा निकै क्रियाशील र गतिशील त हुन्छन्, तथापि उनीहरुमा बौद्धिक क्षमताको विकास त्यही उमेरको सापेक्षतामा हुँदै गरेका हुनाले युवामा हुनुपर्ने गुणात्मकताको विकास परिपक्व मानिसमा भन्दा कमी नै हुन्छ । इतिहास अध्ययन गर्दा पनि यो कुरा थाह हुन्छ । युवाले गरेका त्याग, तपस्या, बलिदानका र कीर्तिमान हाम्रो अगाडि तथ्यका आधारमा जस्ताको तस्तै छर्लङ्ग छन् । १९औं शताब्दीको मध्यतिर जर्मन, फ्रान्स र बेलायतमा गरिएका पुँजीवादी तथा समाजवादी आन्दोलनदेखि १९औ शताब्दीको उत्तराद्र्धमा सोभियत संघ रुस र भियतनाम लगायत क्युवा, अर्जेन्टिना र बोलिभियाजस्ता देशहरु गरिएका समाजवादी प्रकृतिका परिवर्तनकारी आनदोलनमा युवाहरुको भूमिका र देन आफैमा अद्वितीय छ । २०औ शताब्दीमा चीन, फिलिपिन्स, कोरियाजस्ता मुलुकमा गरिएका आन्दोलनमा पनि युवाको सशक्त, बलशाली र विजयी उपस्थिति रहेको इतिहास आफै बोल्छ । जहाँको त्याग, समर्पण र उच्च बलिदानको गौरवपूर्ण इतिहासले हामीलाई निरन्तर प्रेरणा प्रदान गरिरहेको छ ।
२१औं शताब्दीमा नेपाललगायत विश्वका प्रायः देशहरुमा आमूल परिवर्तनका लागि केही न केही सचेत पहल र प्रयत्न भइ नै रहेका छन् । सर्वहारा श्रमजीवी वर्गका लागि भैरहेका यी प्रयत्न भारतलगायत केही देशमा वर्गयुद्धका रुपमा निरन्तरतामा छन् । नेपालमा भने १० वर्षसम्म सञ्चालन गरिएको महान् जनयुद्ध सामान्यबाट उत्कर्षतिर र रक्षाबाट सन्तुलन हुँदै प्रत्याक्रमणको चरणसम्म पुगी मूल नेतृत्वबाट नै घात भएपछि प्रतिक्रान्तिको दिशा पकड्न पुगेको छ । नेपाली क्रान्तिले, यस अर्थमा, गम्भीर धक्का खाएको छ र नेपाली जनताले धोखा पाएका छन् । तथापि क्रान्तिकारी युवाहरुले यसबाट पाठ सिक्नु जरुरी छ । नेपालको क्रान्तिमा देखापरेको लम्पसारवाद तथा राष्ट्रिय आत्मसमर्पणवाद कति घातक छ भन्ने कुरा आम जनतामा समेत बोध हुनपुगेको छ ।
यस्तो बेलामा “सही गर, तर साहसका साथ गर” भन्ने स्टालिनको महत्वपूर्ण भनाइ हाम्रो लागि जीवन व्यवहारको शब्द बनेको छ । स्टालिनले राष्ट्र संकट परेको बेला उक्त शब्द उल्लेख गर्नु भएको देखिन्छ । हाम्रो देशमा अहिले जुन राजनीतिक संकट छ, यो बेलामा स्टालिनको उक्त सारगर्भित भनाइको सार्थकता बोध भइरहेको छ । हामी देश र जनताका लागि नयाँ र उज्ज्वल भविष्य निर्माण गर्न चाहन्छौ । हामी सम्पूर्ण गरिब, सर्वहारा, श्रमजीवी, मजदुर वर्ग, विपन्न, दलित, आदिवासी, जनजाति, हरुवा, चरुवालगायत सम्पूर्ण नेपाली जनताको नयाँ जीवन देख्न चाहन्छौ । तर देशमा जनविरोधीहरुले उही पुरानै सडेगलेको फोहरी, अत्याचारी र फासीवादी व्यवस्थाभित्र देश र जनतालाई थुन्न चाहन्छन् । आफ्नो स्वार्थसिद्धका लागि ब्रह्मलूट मच्चाउन विकृति, विसंगति र कुसंस्कारको घेराबन्दी अझ मजबुत बनाउन चाहन्छन् । यस्तै बेलामा स्टालिनले युवाहरुलाई आह्वान गरेर रुसको राजनीतिक संकट पार लगाई रुसी जनतालाई समाजवादको संस्थागत विकासको निरन्तर नतृत्व दिइरहनु भयो । नेपालको यो जटिल राजनीतिक मोड र अप्ठ्यारोमा देशलाई बाटो देखाउन सम्पूर्ण देशभक्त क्रान्तिकारी युवा एकजुट हुन आवश्यक छ ।
एकदमै साँचो कुरा त के हो भने तपाई हामी सम्पूर्ण राष्ट्रवादी, देशभक्त र क्रान्तिकारी युवाहरु संगठित र जागरुक बन्नै पर्छ । आफ्नो भविष्य र राष्ट्रको भविष्यप्रति सचेत र चिन्तित हुनैपछ । समयले हामीलाई यो गम्भीर दायित्व सुम्पिएको छ । हामीमा देश र जनताको सेवा गर्ने उच्च आकांक्षा हुनैपर्छ । यसले मात्र नयाँ व्यवस्था र नयाँ जीवनको प्राप्ति संभव छ । साम्राज्यवाद, विस्तारवाद र सामन्ती, दलाल तथा नोकरशाही हैकमको सञ्जाललाई परास्त गर्नु पर्ने अभिभारा हामी क्रान्तिकारी युवाहरुको काँधमा आएको छ । यो जिम्मेवारी पूरा गर्न हाम्रासामु उत्तिकै चुनौती र सम्भावना छन् । क्रान्तिकारी आशावादी हुनै पर्छ ।
इतिहास साक्षी छ कि जुन देशका योद्धाहरु आफ्नै स्वाधीन भविष्यप्रति भरपूर रुपले जागरुक हुँदैनन्, यो देशले नयाँ जीवन पाउन संभव छैन । त्यसैले, हाम्रो अगाडि महान् जनयुद्धको जीवन्त इतिहास साक्षी छ । यो महान् समरमा हजारौं योद्धाको बलिदान भयो, अरु हजारौं घाइते बने । क्रान्तिले धक्का खाँदा यो विजोग भैराखेको छ । यसमा पनि प्रायः सबै युवाहरु नै छन् ।
विश्वका हरेक क्रान्तिकारी आमूल परिवर्तनको मोर्चामा युवाहरुको भूमिका कम महत्वपूर्ण छैन । इतिहास साक्षी छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नेपालको विशिष्टतामा सशस्त्र जनविद्रोहको कार्यदिशा बढि व्यावहारिक हने देखिन्छ । यसको कार्यान्वयनका लागि सम्पूर्ण क्रान्तिकारी युवाहरु एकजुट हुनु जरुरी छ ।
नेपाली शासक विदेशी शक्ति साम्राज्यवाद र विस्तारवादका नोकर जसरी बाँचिरहेका छन् । उनैका काँधमा टेकेर विदेशी मालिकले मनपरि गरिरहेका छन् । हाम्रा होनहार युवा कुमाउ गढवालमा पुगेर ढुङ्गा, माटो ओसार्दै छन् । बद्रिनाथ, केदारनाथतिर डोलीहरुमा मान्छेका भारी बोक्दै छन् । दिल्ली, मुम्बईलगायत सहरका गल्लीगल्लीमा सिट्ठी फुक्दैछन् । कतिपयले सहरहरुमा रातका बखत पालेपहरा दिएर जीवन बिताइरहेका छन् । उता कतार, साउदी, मलेसिया लगायत खाडी मुलुकमा दासको जीवन झेल्दैछन् । हाम्रा दिदीबैनी र आमाहरु बेचिदैछन्, कुटिदैछन् र लुटिदैछन् ।
हाम्रो देश एक प्रकारले नोकर उत्पादन गर्ने मुलुक बन्दै छ । त्यसैले, हामी सम्पूर्ण देशभक्त क्रान्तिकारी युवा पंक्तिले यस्तो जीवनलाई घृणा र तिरस्कार गर्ने बेला आएको छ । नयाँ जीवनका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक हतियारलाई आत्मसात् गर्दै सशस्त्र जनविद्रोह गर्न तयार बन्नुपर्ने बेला आएको छ । हाम्रो देशले परिवर्तनको सम्भावना बोकेको छ । तर पद, प्रतिष्ठा, स्वार्थका भोका विदेशीका दलालहरु आफ्नो व्यक्तिवादी आकांक्षा र स्वार्थमा आपूर्तिका लागि पुरानै राणा, राजा र पञ्चे शैलीमा शासन गरिराख्न उद्दत छन् ।
त्यसैले, हामी सबैले हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा गोलबन्द हुँदै आगामी आउने आँधीबेहरीरुपी हजारौं चुनौतीसँग पौठेजोरी र लुकामारी खेल्ने आँट र अठोट गर्नै पर्छ । स्वाधीनताको झण्डा फहराउने आँट गर्नै पर्छ । अन्तिम संघर्षका निमित्त तयार हुनैपर्छ । देशलाई विदेशीको पञ्जा र प्रभुत्वबाट मुक्त गर्नै पर्छ । त्यसपछि मात्र एक दिन निश्चित रुपमा गरिब सर्वहाराको दिन आउने छ । बाटो अप्ठ्यारो छ, तर भविष्य सुन्दर र उज्ज्वल छ, क्रान्ति निश्चित छ । अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी चेग्वेभाराले भने झैं हामी पनि संकल्पबद्ध हुनैपर्छ– “बरु मलाई मृत्यु स्वीकार्य छ, म पराजित भएर फर्कने छैन् ।” साभार युवा लिग अंक २ बर्ष २०७७
लेखक क्रान्तिकारी युवा लिग, नेपालका महासचिव हुन ।