सुर्खेत । नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाइरहेको बेला सोमबार दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ । अन्य तीन बेपत्ताको खोजी भइरहेको छ । प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको हो ।


आमा सुकी बडुवाल, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।
बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको हुन सक्ने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर