
दाङ । १११औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङ देउखुरी समितिको आयोजनामा दाङको घोराहीको गोग्लीमा भव्य रुपमा मनाइयो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवाादी)का पीवीएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले आजभन्दा १११ बर्ष पहिले अमेरिका शिकागो शहरमा समान ज्याला समान समयको माग राख्दै उठेको आन्दोलन बिश्वब्यापी रुपमा आगो झै सल्कियो र विश्व हल्लायो भने हाम्रो नेपालको सन्दर्भमा नेपाली महिलाहरुले राणाकालीन समयको आन्दोलन, पञ्चायती ब्यबस्थाबिरुद्धको आन्दोलन तथा जनयुद्धको समयमा नेपाली महिलाहरुले देखाएको वीरताको इतिहास अतुलनीय रहेको बताउनु भयो । जनयुद्धका क्रममा २५ सय भन्दा बढी महिलाहरुले वलिदान गरको र पितृसत्तात्मक सामन्तवादी राज्य ब्यबस्था उखेल्न अहम भुमिका खेलेको चर्चा गर्दै न्यौपानेले यस अबसरमा संगठित हुदै सङ्घर्षलाई नयाँ उचाइमा उठाउन आग्रह गर्नुभयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य शुसिला आचार्यले नेपाली महिला मुक्ति आन्दोलनमा सबै सहभागी हुनुपर्ने कुरा राख्दै नेपाली राजनीतिक आन्दोलनमा परिवर्तनका लागि महिलाहरुको महत्वपूर्ण भुमिका रहेका बारे चर्चा गर्नुभयो । उहाँले नयाँ किसिमको आन्दोलनमा सम्पूर्ण महिलाहरुको सहभागिता हुनुपर्नेमा जोडदिनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडे, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ देउखुरीका अध्यक्ष इस्वरी प्रसाद गैरे, अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य तथा सहिद परिवार सुन्दरलाल चौधरी, अखिल नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य तिलक बिक, अखिल नेपाली एकता समाज भारतका केन्द्रीय सदस्य केसब थापा लगायतले मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य अनेमसंघ (क्रान्तिकारी) उपाध्यक्ष देबा बिष्टले गर्नुभएको थियो भने सञ्चालन अनेमसंघ (क्रान्तिकारी)की जिल्ला सदस्य मालता पोख्रेलले गर्नुभएको थियो ।





























