सरकार र विप्लव नेतृत्वकाे नेकपाबीच एकैदिन दुई चरणकाे वार्ता सम्पन्न

सरकार र विप्लव नेतृत्वकाे नेकपाबीच एकैदिन दुई चरणकाे वार्ता सम्पन्न


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहान र साँझ वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा विषयकेन्द्रित वार्ता भएको छ । भट्टराईले भनेका छन्, ‘दोस्रो चरणको वार्ता साँझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

सरकार र विप्लव नेकपाले दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेका थिए । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन् भने विप्लव नेकपाको वार्ता टोलीको नेतृत्व प्रवक्ता खड्कबहादुर विश्वकर्माले गरेका छन् । विश्वकर्माको नेतृत्वमा बनेको विप्लव नेकपाको वार्ता टोली सदस्यमा पूर्व जनमुक्ति सेनाका डिभिजन कमान्डर उदय चलाउने सदस्य छन् ।
दाेस्राे चरणकाे वार्तामा सरकारी वार्ता टाेलीले प्रतिबन्ध हटाउन र नेता कार्यकर्ता रिहाईका लागि हतियार बुझाउने र शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धताकाे शर्त राखेकाे बुझिएकाे छ ।