चप्प,
समात्यो
टप्प निमोठ्यो
र,
चढायो ढुङ्गामाथी
अनि,
आल्हादित भयो उ
एकथुङ्गा फुलको
निर्मम दोहन गरेर
किनकी,
उस्लाइ लाग्यो
अब खुशी हुनेछन
उस्का आराध्य भगवान
सौन्दर्यको बलि
सुवासको भोगपछी।

गीटी,
आपसेआप थुप्रीनेछन आज
उस्का अघिल्तिर
घैटी,बेल्चा, हतौडीको मार बिना
यो त भयो
गिटी कुटने मजदुरहरुको
शून्य चेतनाद्वारा सिर्जित
अबोध हत्या।

अब,
मालिक/मालिक्निको कुरा गरौ
ए रामे!
जा गएर कौसीमा
के के फुलेका छन
टिपेर लिएर आइजा
बिहानीको पुजा गर्न अबेर भैसक्यो
रामे गयो
चप्प समात्यो उसै गरि
टप्प निमोठ्यो
टोकरीमा मुस्कुराइ रहे
घाँटी छिनाइएका थुङ्गाहरु
किनकी,
यता रामेको मजदुरी पाक्यो
मालिक/मालिक्निको आदेश
नीसर्त पालना भएपछी
फुलै फुलले
छपक्क छोपियो
स्वर्णको एक अमुक प्रतिमा
उर्फ
मालिकको भगवान
उहीँ सौन्दर्य,सुवासको
बलि,भोग पछि
मालिक/ मालिक्नी पनि मख्ख
सुनको वर्षा हुनेछ अब
फुलको हत्याको बदलामा
यो त बिज्ञ चेत थियो
अन्धो कानुनको नजरमा
आँखा भएर पनि
अन्धा मान्छेहरुको नजरमा
चेतन मनको
सचेत हत्या।

यी त,
दशीको रुपामा पेशीएका
प्रतीनिधिपात्र मात्र हुन
बास्तवमा,
यसैलाइ संस्कार मान्छ
संकृतीको रुपमा अनुशिलन गर्छ
धर्मको रुपमा ब्याख्या गर्छ
हाम्रो आम समाज
मानौ,
हिँसा बैध छ
हत्या बैध छ
हाम्रो रितीथितीमा
हाम्रो चालचलनमा
हाम्रा ऐन कानुनमा
फुलको हत्या
पशु हत्या
पँक्षी हत्या
अनि,
किन नदोहोरिउन
हत्या,हिंसा ब्यभिचारका श्रींखलाहरु
अनि,
किन न रेटिउन
निर्मला नाउँका कुमारी फुलहरु
भागिरथी नाउँका गुलावहरु
दोग्लो संस्कृति
निरीह कानुन
बैध हिँसा
हिँसक युग।
हिँसक युग।।

दशरथचन्द्र नपा बैतडी
हाल-प्रवास।।

प्रतिक्रिया

सम्बन्धित खवर