
१. सत्ता शासक
यी कुनै पुराकथाका
अचम्मलाग्दा
डरलाग्दा पात्र हुन
खान सक्छन
यिनले
यहाँको हावा
खान सक्छन
यहाँका नदी
र झरनाहरू
खान सक्छन
सबै ऋतु र मौसम
तिनमा पलाउने
कोपिला पात
र फलफूल
खान सक्छन
हामीमाथि लाग्ने
घाम
छायाँ र शीतल
खान सक्छन
मानिसमा हुने
माया प्रेम र सद्भाव
श्रम पसिना र रगत
खान सक्छन
बाटो घर
देउराली र भन्ज्याङ
उकाली र ओराली
खान सक्छन
मस्तिष्क र मन
आँखा र कान
जिभ्रो र नाक
व्यवस्थाको नाउँमा
हुर्किरहेको अव्यवस्था
यसकै वरिपरि
जम्मा भएका छन
यस युगका
क्रूर अपराधी
यिनले
खान सक्छन
यो देश
र यसका सबै
हाँगाबिँगा
२. साधना
समाधि साधना गरूँ
संसदीय आसनमा बसूँ
पेट फुलाई खुब हाँसूँ
र गर्वका साथ बोलूँ
उसले जस्तै हामी पनि
जितूँ र माथि माथि बसूँ
एमसिसीको गन्ध सुँघूँ
लिपुलेक लिम्पियाधुरा
महाकालीको कुरा छोडूँ
तिमी हामी मिलूँ
छली लुटेरा डाकु सबै
अवसर खोजूँ लुट गरूँ
नयाँ नयाँ टोपी जोरूँ
यता जाऊँ उता जाऊँ
दल बदलूँ नाम बदलूँ
गरिब उत्पीडित माथि
चढूँ बढूँ शोषण गरूँ
संसद साधना गरूँ
विचार बेचूँ
सिद्धान्त फालूँ
देब्रे र दाहिने पथ
जोडी जोरूँ
मिलेर खाऊँ
अनि खाऊँ खाऊँ
यो देश खाऊँ
जनचाह मारूँ
उही पुरानै कुकुर
पुरानै मासु
ट्याग लगाई
खसीको बेचूँ
यो बेचूँ त्यो बेचूँ
माटो बेचूँ
मुटु पनि बेचूँ
बिक्नेजति सब बेचूँ
३. जुलुस
जुलुसमा लड्डु छन
लड्डु जुलुस छन
केही दक्षिणतिरका
केही अरू दिशाका
एक आपसमा
एकले अर्कालाई
ख्वाइरहेछन लड्डु
लड्डु मानिस
गुडिल्किएका छन
मिचिएका छन
थिचिएका छन
चपाइएका छन
फेरि पनि
लड्डु जुलुसमा छन
हिमाल पहाड तराई
जताततै लड्डु
आयात गरिएका
टोपी लगाएका
जुल्फी पालेका
फरक फरक भाषाका
फरक फरक रङ्गका
उता केक
यता लड्डु
लड्डु र केक
उस्तै उस्ताको
जुलुसमा
लड्डु मानिस
होलीवाइनसँग लड्डु
लड्डुसँग होलीवाइन
जुलुस होलीवाइन लड्डु
उस्तै उस्तै






























