नेपाली कम्यनिस्ट आन्दोलनको संक्षिप्त विश्लेषण

प्रकाशित मिति : २०७७ माघ ७

- भरत वुर्जामगर

सन् १९१७ को महान रुसी अक्टोबर समाजवादी क्रान्तिले विश्व भरि क्रान्तिकारी तरङ्ग फैली सन १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति भई त्यसैकोे प्रभाव र प्रेरणाले गर्दा नेपाली युवाहरुले सन १९४९ अप्रिल २२ अर्थात वि.स. २००६ साल बैशाख १० गते भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद थियो । तत्कालिन नेपाली समाज अर्धसामन्ति, अर्धऔपनिवेशिक भएकोले सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकारवादका विरुद्ध सघर्ष गरी लोकतान्त्रिक गणतान्त्रिक राज्य सत्ताको स्थापनामा जोड दिने निर्णय गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीको वि.सं. २००८ सालमा प्रथम राष्ट्रिय संमेलन गरी नयाँ जनवादी कार्यदिशालाई आधारभूत रुपमा स्विकारिएको थियो । वि.सं. २००९ साल माघ ९ गते के.आई.सिंहले जेल बिद्रोह गरेकोले वि.सं. २००९ साल माघ ११ गते देखि नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाइयो ।
वि.सं. २०१० साल भाद्र १७–२५ गतेसम्म काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन सम्पन्न भयो । महाधिवेशनमा केशरजगं रायमाझिको वैधानिक राजतन्त्रको राजकीय प्रस्ताव विरुद्ध पुष्पलाल श्रेष्ठको संविधान सभाको निर्वाचन राजनीतिक प्रस्ताव पारित गरियो तर नयाँ जनवादी कार्यदिशाले स्थान पाएन साथै मनमोहन अधिकारी महासचिव चैन भए पनि नेपाल कम्युनिस्ष्ट पार्टी संशोधनवादी बन्न गयो । मनमोहन अधिकारीले वि.सं. २०१२ सालमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन गरी राजालाई बिन्ति पत्र दिई पार्टी बैधानिक बनाउने निर्णय गरी प्रधान मन्त्री टंकप्रसाद आचार्यलाई पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरी नेपाल कम्युनिस्ट पार्टी दक्षिणपन्थि बन्न पुग्यो ।
वि.सं. २०१४ साल जेठ १५–२५ गतेसम्म काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको महाधिवेसन सम्पन्न भयो, उक्त महाधिवेसनमा पुष्पलाल श्रेष्ठको संसदीय प्रजातन्त्र सहित संविधानसभाको निर्वाचन, शंभुराम श्रेष्ठको गणतन्त्र र केशरजंगको राजतन्त्र प्रस्तावित लाईनमा पुष्पलालको लाइन पारित भएता पनि केशरजंग रायमाझिको बहुमत भएकोले महासचिव निर्वाचित भए । यसको परिणाम नेपाल कम्युनिस्ट पार्टी दक्षिणपन्थि राजावादी बन्न पुग्यो । वि.सं. २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले कु गरी संसद विघटन गरी सबै पार्टीहरुमाथि प्रतिबन्ध लगाउदा केशरजंग रायमाझि रुसमा गएकोले मस्कोबाट राजाकोे कदमलाई समर्थन जनाएकोले नेपाल कम्युनिस्ट पार्टी राजावादी बन्न गयो । वि.सं. २०१७ साल फागुनमा २४ जिल्लाको ५४ प्रतिनिधि उपस्थित भई भारतको दरभंगामा नेपाल कम्युनिस्ट पार्टीले प्लेनम् बस्यो । त्यसमा तीनवटा पस्ताव पेश गरिएका थिए, जसमा पुसपलाल, रायमाझी र मोहन विक्रम सिंहको संविधान सभाको निर्वाचन सम्वन्धी राजनीतिक प्रस्ताव थिए । हलले बहुमतले मोहन विक्रम सिंहको संविधान सभाको निर्वाचन सम्वन्धी राजनीतिक प्रस्ताव पारित गरे पनि बहुमत बहुमत केन्द्रिय सदस्य सहित केशरजंग रायमाझिको पक्षमा भएकाले संविधान सभाको निर्वाचन सम्वन्धी राजनीतिक प्रस्तावको कार्यान्वयनद गरिएन ।
वि.सं. २०१९ साल बैशाख ४–१५ गते सम्म नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेसन ले तुलसीलाल अमात्यलाई महासचिव चयन गर्दै सम्पन्न गरियो । वि.सं. २०२३ सालमा केशरजंग रायमाझिले नेपाल कम्युनिस्ट पार्टी फुटाई आफु महासचिव बने । रायमाझि वि.सं. २०३६ सालमा दरवार पसेपछि रायमाझिको खुश्चेवपन्थि नेपाल कम्युनिस्ट पार्टी वर्मा र विष्णु मानन्धरले चलाए जसलाई नेपाल कम्युनिस्ट पार्टी (सयुक्त) भनिन्छ ।
वि.सं. २०२५ सालमा पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको भारतमा (गोरखपुरमा) तेस्रो राष्ट्रिय सम्मेलन गरी माक्र्सवाद–लेनिनवादको आलोकमा नयाँजनवादी क्रान्तिको कार्यदिशामा पारित गर्दै पुष्पलाल श्रेष्ठ महासचिव चुनिए । पुष्पलालको गुटबाट जीवराज र बामदेव सहित अन्यले विद्रोह गरी पछि मालेधारमा विलिन भए । त्यस्तै वि.सं. २०३२ सालमा पुष्पलालबाट नारायणमान बिजुक्छे ‘रोहित’ र रुपलाल विश्वकर्माले विद्रोह गरी नेपाल किसान मजदुर संगठन बनाए । वि.सं. २०३६ सालमा रोहित र रुपलाल विश्वकर्मा फुटेर रुपलाल विश्वकर्माले सर्वहारावादी श्रमिक संगठन बनाई बर्ग सघर्ष सञ्चालन गरी जुगेडी एक्सन गरे भने नारायणमान विजुक्छे रोहितले नेपाल मजदुर किसान पार्टी बनाए ।

वि.सं. २०२८ सालमा कोशीप्रान्तीय कमिटी झापा जिल्ला पार्टीको अगुवाईमा झापा विद्रोह गरे । झापा बिद्रोह को–अडिनेशन कमिटीद्वारा गरिएको थियो । ठूलो दमन भयो पछि वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) गठन गरियो । नेपाल कम्युनिस्ट पार्टी (माले) सुरुमा क्रान्तिकारी भएपनि सन् १९७६ माओको मृत्यु पछि सर्वहारा साँस्कृतिक क्रान्तिको विरोध गर्दै देंगमण्डलीे दक्षिणपन्थि बन्न गएको चीनीयाँ कम्युनिस्ट पार्टी समर्थक बन्दै दक्षिणपन्थि धार बन्न गयो । वि.सं. २०४७ साल पछि नेपाल कम्युनिस्ट पार्टी (माले) बल प्रयोगको सिद्धान्त छोडि निर्वाचनको पक्षमा गई पूर्ण दक्षिणपन्थि बन्न गएकोले पुष्पलालको धार नेपाल कम्युनिस्ट पार्टी उनको मृत्यु पछि मनमोहन अधिकारी र सहाना प्रधानले नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बनाएका थिए । नेपाल कम्युनिस्ट पार्टी (माले) र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) मिलेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बन्यो जो घोर दक्षिणपन्थी बन्यो ।
वि.सं. २०२८ सालमाा मोहन बिक्रम सिंह, निर्मल लामा लगायतका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय न्युक्लस गठन गरी वि.सं. २०३१ सालमा चौथो महाधिवेसन गरी नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद–लेनिनवाद र माओ विचार धाराको आलोकमा विद्रोहद्वारा नेपालमा नयाँजनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक लाईन पारित गर्दै मोहन विक्रम सिंह महासचिव चुनिए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव मोहन बिक्रम सिंहको सास्कृतिक कार्वाही पछि निर्मल लामा महासचिव चुनिए । वि.सं. २०३६ सालमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको बैठकले भक्त बहादुर श्रेष्ठ ‘शेर सिंह’ लाई महासचिव चयन गरियो । वि.सं. २०४० मा नेपाल कम्युनिस्ट पार्टीमा निर्मल लामाले बिद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेसन) नाम राखियो यता बहुमतले नेपाल कम्युनिस्ट पार्टी (मशाल) नाम राखियो । नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले वि.स. २०४१ सालमा पाँचौँ महादिवेसन गरी माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको आलोकमा नयाँ जनवादी क्रान्तिको लागि सत्ता जनतामा हस्तान्तरणको कार्यदिशामा पारित गरिएको थियो । वि.सं. २०४७ साल पछि नेपाल कम्युनिस्ट पार्टी (मशाल) नेपाल कम्युनिष्ट पार्टी (चौ.म.) र सर्बहारावादी श्रमिक संगठन मिलि नयाँजनवादी क्रान्तिको कार्यदिशामा विद्रोह वा जनयुद्ध भन्ने विवादले नेपाल कम्युनिस्ट पार्टीमा फुट भएकोमा त्यसको समिक्षा गर्दै महाधिवेशनबाट कार्यदिशा पारित गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी एकता संयोजक समिति बनाई अघि बड्दै गर्दा वि.सं. २०४२ सालमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) बाट बिद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन विक्रम सिंहले निर्माण गरेको पार्टीबाट सितल कुमार (हरिवल गजुरेल) को नेतृत्वमा बनेको बिद्रोही मसाल निर्माण गरी नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिमा समाहित भै रुपचन्द्र विष्टको थाहाँ पनि समावेश गरी बिक्रम संवत २०४८ सालमा एकता महाधिवेशन गरियो । उक्त एकता महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) राखियो साथै माक्र्सवाद–लेनिनवाद–माओवादका आलोकका नेपालमा नयाँ जनवादी क्रान्ति दिर्घकालिन जनयुद्धद्वारा सम्पन्न गर्ने राजनैतिक र फौजी कार्यदिशा पारित गरियो ।
नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) ले नेपालमा दिर्घकालिन जनयुद्धद्वारा नयाँ जनवादी क्रान्तिको लागि संसदीय भ्रममा नपरी नयाँ जनवादी क्रान्तिको तयारीमा लागौ भन्ने नाराका साथ देशव्यापि रुपमा राजनैतिक र साँगठनिक अभियान संचालन ग¥यो । नेपाल कम्युनिस्ट पार्टीले (एकता केन्द्र) संयुक्त मोर्चाको रुपमा संयुक्त जनमोर्चालाई निर्वाचन आयोगमा दर्ता गरी देशव्यापी रुपमा संगठन बनाई सघर्षको उठान गरियो । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नयाँ जनवादी क्रान्तिको तयारीको लागि संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्वाचनलाई उपयोग गर्दा दुवै सदनमा विजय गरी तेस्रो पार्टी भएका थिए । वि.सं. २०४९ सालको स्थानिय निर्वाचन पनि उपयोग गरी केही जिल्ला र स्थानिय तह विजय गरे । संयुक्त जनमोर्चाको नामबाट संगठन र सघर्ष अगि बडाइयो । नेपालमा नयाँ जनवादी क्रान्ति दिर्घकालिन जनयुद्धद्वारा सम्पन्न गर्ने उद्देश्यकासाथ संगन, सघर्ष, उत्पादन र अन्तराष्ट्रिय सम्बन्ध आदि तयार गर्दै जाँदा वि.सं. २०५१ सालको संसदको मध्यावधि निर्वाचन बहिस्कार गर्ने निर्णय गरियो । नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र) मा दक्षिणपन्थि बिचार राख्ने निर्मल लामा लगाएत अल्पमत पक्षले गोपनियता भंग गर्दा पार्टी भित्र अराजकता फैलाएकोले वि.सं. २०५१ सालमा चितवनमा राष्ट्रिय सम्मेलन गरी निर्मल लामा सहितलाई पार्टीबाट निष्काशन गर्दै जनयुद्धको तयारीमा जाने निर्णय पछि लामाहरुले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) निर्माण गरे । नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) ले चितवनको राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (माओवादी) राखियो । पार्टीले रोल्पा, रुकुम, सल्यान, दाङ्ग, गोर्खा, सिन्धुली लगायत जिल्लाहरुमा जन सघर्ष र बर्ग सघर्ष अघि बढाइयो भने प्रतिक्रियावादी सत्ताधारीले माओवादी र जनमोर्चाका कार्यकर्ताहरुलाई जन दमन गर्न रोमियोे प्रहरी अपरेशन गरी (माओवादी) जनमोर्चाका कार्यकर्ताहरुलाई जेल भर्न लागे । वि.सं. २०५१ साल फागुन २–४ गते सम्म नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले विस्तारित वैढक गरी नयाँ जनवादी राजनैतिक र फौजी कार्य दिशा निमार्ण गरियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चार तयारीका साथ जनयुद्ध सुरु गर्नु अघि वि.सं. २०५२ साल आषाढमा केन्द्रिय समितिको बैठक बसी महान जनयुद्ध पहलको निमित्त सबै केन्द्रिय सदस्यहरुबाट व्यक्तिगत रुपमा सैद्धान्तिक प्रतिवद्धता जाहेर गर्दै सबैले जनयुद्धमा होमिए पछि नहट्ने बरु बलिदान दिने नयाँ जनवादी क्रान्तिको लागि भन्ने थियो । वि.सं. २०५२ साल मंसिर १९ गते संयुक्त जनमोर्चाकोे नामबाट काठमाडौको खुल्लामञ्चमा बिशाल आमसभा गरियो । जहाँ सयुक्त जनमोर्चाका केन्द्रिय सदस्य बाबुराम भट्टराईले गाँस, बाँस, कपास सहित जनजिविका, जनतन्त्र, राष्ट्रियता र असमान सन्धि खारेजीको लागि ४० सुत्रीय माग पत्र तयार गरी यो पुराा नभए नेपालमा ठूलो जनयुद्ध हुने भाषणमा उद्धघोष गर्दै मिति २०५२ मंसिर २२ गते माग पत्र प्रधानमन्त्रिलाई बुझाइयो ।
नेपाल कम्युनिस्ट पार्टीले (माओवादी) वि.सं. २०५२ फागुन १ गते प्रतिकृयावादी राज्यव्यवस्थालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने, जनयुद्धको बाटोमा अगाडि बढौं, बिद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद लेखेको पोस्टर देशैभरी टाँसी रोल्पा, रुकुम, सिन्धुलीको प्रहरी चौकी र गोर्खाको कृषि विकाश बैंक कब्जा गरी एतिहासिक रुपमा नेपालमा महान् जनयुद्ध सुरु भयो । जनयुद्धले प्रतिकृयावादी सत्तालाई धक्का दिदै जाँदा वि.सं. २०५५ सालबाट आधार ईलाका निमार्ण तिर लागे । यस पछि प्रतिकृयावादी सरकार किलो सेरा टु जंगल अप्रेशन र नेताहरुको टाउकको मूल्य तोक्दै भिषण जन दमनमा आयो । वि.सं. २०५८ सालमामा जनमुक्ति सेना र सयुक्त मोर्चा निर्माण गरी स्थानिय जनसत्ता स्थापना गरियो । वि.सं. २०६० सालमा आइपुग्दा जनयुद्धले रक्षाको चरण पार गरी राजनैतिक सन्तुलन तिर लाग्यो । वि.सं. २०६२ सालमा आईपुग्दा जनयुद्धले प्रतिकृयावादी प्रहरी र रेञ्जरबटालियन कमाण्डो फोर्स सेनालाई परास्त गर्दै जनयुद्ध प्रत्याक्रमणको चरणमा आइपुग्यो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपालमा नयाँ जनवादी क्रान्तिको लागि दिर्घकालिन जनयद्ध सञ्चालन गर्दा १७ हजार भन्दा धेरै सहिदहरुले प्राणको उत्सर्ग गरे भने हजारौं बेपत्ता पारियो र हजारौ घाईते अपाङ्ग भए पनि स्थानिय सत्ता, जनअदालत स्थापना भई ८० प्रतिशत भूभागमा सत्ता खालि भैं जनसत्ता स्थापना भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले क्रान्ति पुरा नहुँदै जनयुद्ध अन्त्य गरियो र वि.सं. २०६५ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा मिसियो र दक्षिणपन्थि बन्न गयो फालस्वरुप वि.सं. २०६९ सालमा किरणको नेतृत्वमा बौद्ध राष्ट्रिय भेला मार्फत नेपाल कम्युनिष्ट पार्टी–माओवादी पुनगर्ठन गरियो । नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट विप्लव २०७१ मा अलग भै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिए यता २०७२ सालमा नेपाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) को एक हिस्सा मिलि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निर्माण भयो फेरी बादलको हिस्सा यसबाट फुटेर प्रचण्डसित मिली हाल एमालेमा बिलिन भए । अहिले नेपालमा क्रान्तिकारी धारको रुपम नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत) छन् । यता ढुल्मुले नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल मजदुर किसान पार्टी छन् भने स्पष्ट लाईन नभएका सयुक्त लगायत छन् । केपी ओली र प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक दक्षिणपन्थी, राष्ट्रघाती, संशोधनवादी प्रतिकृयावादमा फसेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेपालमा क्रान्तिकारी पार्टी निर्माण गरी अधुरो क्रान्ति पुरा गर्न अघि बढ्दै छ । हाल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मध्यावधि निर्वाचन र संसद पुन स्थापना होईन संघीय जनगणतन्त्रको लागि संघर्षको आहान गरेको छ । सबै नेपालीले साथ दिउँ आजको आवश्यकता यही हो ।