राजनीतिक ध्रुवीकरण एक परिचर्चा

प्रकाशित मिति : २०७७ माघ १

- अशोक शर्मा

यतिवेला नेपालको राजनीति तिव्र ध्रुवीकरणको प्रक्रियावाट अगाडि बढिरहेको छ । खासगरी संसदीय व्यवस्थाभित्र पैदा भएको संकट संगसंगै प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसदीय व्यवस्था विघटन गरेपछि यस्को तिव्रता झन धेरै वढेको छ । वर्तमान तरल राजनीतिक अवस्थामा पैदा भएको यसप्रकारको ध्रुविकरणले अव मुलुक कतातिर जाने हो ? भन्ने कुराको यत्र तत्र सर्वत्र चर्चा र परिचर्चा हुने गरेको पाइन्छ । ओलीको पछिल्लो प्रतिगामी कदम पश्चात् अब मुलुक कतातिर जाला र आगामी दिनमा हाम्रा कार्यभारहरुलाई हामीले नेपाली समाजको विशिष्टतामा कसरी अगाडि बढाउनु पर्ला ? भन्ने वारेमा संक्षिप्त चर्चा गर्नु जरुरी देखिन्छ ।
यतिबेला मुलतः नेपालको राजनीति तीन ध्रुवमा ध्रुविकृत भएको देख्न सकिन्छ । पहिलो, प्रतिगामी राजनीतिक ध्रुव दोस्रो, यथास्थितिवादी राजनीतिक ध्रुव र तेस्रो, अग्रगामी राजनीतिक ध्रुव । फरक फरक राजनीति दर्शन र आदर्श सहितका निम्न तीन ध्रुवमा अवको राजनीति संकेन्द्रित हुने स्थिति देखिएको छ ः
१. प्रतिगामी राजनीतिक ध्रुव –सामान्य अर्थमा हेर्दा यो राजावादीहरुको राजनीतिक लाइन हो र यसको केन्द्र भागमा पुर्वराजा ज्ञानेन्द्र शाह रहेका छन । यो सबैखाले परिवर्तन विरोधी परम्परागत सामन्ती उत्पादन प्रणालीको अर्थराजनीतिक जगभित्रवाट सत्तासीन हुने र शासन सत्ता हातमा लिन चहाने पुनर्उत्थानवादी राजनीतिक आदर्श र दर्शनवाट अभिप्रेरित विचारधारात्मक राजनीतिक लाइन वा ध्रुव हो । यसको पक्षमा अहिले दुनियाभरिका नानाथरीका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु सहयोगीको भुमिकामा लागेका छन । खासगरीकन हिन्दुधर्मको अवरणमा भारतीय विस्तारवादी सत्ता राष्ट्रघाती एमसीसी परियोजना लागू गर्ने इन्डो–अमेरिकन योजना अनुसार अमेरिकी साम्राज्यवाद लगायतका विदेशी प्रतिक्रियावादी तत्वहरु र उनीहरुका बफादार नेपाली दलालहरु यस दृष्टिकोणको पक्षमा ध्रुवीकरण हुँदै गइरहेका छन । यसप्रकारको राजनीतिको सबैभन्दा भरपर्दा शक्तिहरु भनेका पुर्वपन्चहरु नै हुन । व्यक्तिगत हिसावले भन्नुपर्दा यो राजनीतिको वैचारिक र संगठनात्मक नेतृत्व कमल थापाहरुले गरिरहेका छन । दशवर्षको महान जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनवाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका सीमित राजनीतिक अधिकारहरु समाप्त गर्ने उनीहरुको योजनामा अहिले यथास्थितिवादी राजनीतिमा देखापरेको संकटले काफि मात्रामा सहयोग पुर्याईरहेको छ । प्रकारन्तरले विस्तारै यो ध्रुवमा गणतन्त्र र संघियताका विरोधी धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वका विरोधिहरु पुर्वपन्च र राजावादी मण्डलेहरु सहित काङ्ग्रेसभित्रका परिवर्तनविरोधि तथा नेकपा भित्रको केपी ओली गुट समेत सामेल हुने स्थिति देखिदै जान थालेका संकेतहरु देखापर्न थालेका छन । प्रकारान्तरमा घोर प्रतिगामी दलाल राष्ट्रघाती जनघाती र परिवर्तन विरोधि तप्का यस ध्रुवमा ध्रुवीकरण हुनेछन र परिवर्तनविरोधि गतिविधिमा केन्द्रित हुनेछन । जनताको आन्दोलनवाट इतिहासको गर्भमा पराजित नीरस यो राजनीतिक धार निभ्न लागेको बत्ती जस्तै हो । अग्रगामी परिवर्तनको संघर्षको प्रक्रियामा यसप्रकारका प्रतिगमनका अवशेषहरु आफै समाप्त भएर जानेछन ।
२.यथास्थितिवादी राजनीतिक ध्रुव– यो सबैभन्दा धेरै अस्थिर तर सत्तासिन राजनीतिक ध्रुव हो । सदैब सत्ताको बागडोर यथास्थितिवादी शक्तिहरुको हातमा रहेको हुन्छ । एक समयमा अग्रगामी राजनीतिमा रहेका शक्तिहरु सत्तसिन भएपछि तुरुन्तै यथास्थितिवादी शक्तिमा वदलिन पुग्छन भने त्यो धरातलमा आएको अन्तर्विरोध र संकट संगसंगै उनीहरुको अस्थिर राजनीतिक धरातल खल्वलिन पुग्छ । जसको परिणामस्वरूप एकथरी मान्छेहरु प्रतिगामी कित्तामा सामेल हुन पुग्छन भने अर्काथरी अग्रगामी राजनीतिक आन्दोनमा सहभागी हुन्छन । रुपमा हेर्दा संख्यात्मक हिसावले यथास्थितिवादी शक्ति सबैभन्दा शक्तिशाली जस्ता देखिएपनि अन्तरवस्तुका दृष्टिकोणले उनीहरु पत्तै नपाई सबैभन्दा कमजोर भइरहेका हुन्छन । यतिवेला यथास्थितिवादी राजनीतिको नेतृत्व नवउदारवादी अर्थराजनीतिको जगमा खडाभएका परम्परागत संसदवादी शक्तिहरुले गरिरहेका छन । उनीहरु प्रतिगमनकारी नभएपनि अग्रगामी राजनीतिक परिवर्तनका पक्षधर होइनन र हुन पनि सक्दैनन् । यथास्थितिवादी राजनीति पोखरीमा जमेको पानी जस्तै हो । बाहिरवाट सतही ढंगले हेर्दा पोखरीमा पानी धेरै जस्तो देखिए पनि खास अर्थमा त्यसमा कुनै बहाव शक्ति र उर्जा हुदैन । सत्ताको आड र ओतमा जीवन धानेको यथास्थितिवाद सत्ताविहीन हुने बित्तिकै बगरमा फ्याकिएको माछो सरह वन्छ र अवसरको खोजिमा दायाँबायाँ लागिहाल्छ । यसप्रकारको कमजोर धरातल बोकेको यथास्थितिवादी शक्ति सदैव अग्रगमनको विपक्षमा खडा हुने गर्दछ । अग्रगामी शक्तिहरुमाथि दमन गर्नु, प्रतिबन्ध थोपार्नु र सत्ता र शक्तिको आडमा आमुल परिवर्तनको विपक्षमा उभिनु उनीहरुको मुलभुत चरित्र हुन्छ । सत्तसिन वर्ग हुनुको नाताले जनविरोधी राष्ट्रघाती कार्य गर्दै जाने क्रममा पोखरीमा जमेको पनिमा समयक्रमसंगै दुर्गन्ध थपिएजस्तै यथास्थितिवादी शक्तिहरु पनि क्रमशः विवादित, आलोचित र वदनामित हुँदै जाने क्रममा उठेका विरोध आन्दोलन र संघर्षका अनगिन्ती धक्का र प्रतिधक्का खादै जाने प्रकियासंगै अग्रगामी शक्तिहरुमाथि वदला लिन उनीहरु अन्तिम अवस्थामा प्रतिगामीहरुसंग सहकार्य गर्ने ठाउमा पुग्ने गर्दछन र आन्दोलनमाथि दमन र हिंसा थोपर्न पुग्दछन भने केही अग्रगामीहरुको कित्तामा सहभागी हुन पुग्छन । यस स्थितिमा यथास्थितिवादको अस्तित्व संकटमा आउछ र अग्रगामी र प्रतिगामीहरु विचको संघर्ष आम्नेसाम्ने हुनपुग्दछ । संघर्षको प्रक्रियामा अग्रगामी शक्तिहरुको हातवाट यथास्थितिवादी शक्तिको अन्त्य भएसंगै प्रतिगामी र अग्रगामी शक्ति विचको लडाइँमा प्रतिगामीहरुलाई पराजित गरेर राजनीतिलाई अग्रगामी परिवर्तनको दिशा प्रदान गर्न सहज हुन्छ । यस्का लागि अग्रगामी परिवर्तनकारी शक्तिहरुले सत्तासीन वर्ग र अग्रगमनको मुख्य वाधक शक्तिको रुपमा खडाभएको यथास्थितिवादी शक्तिसंग निर्णायक लडाइँ लड्न जरुरी हुन्छ । अहिलेको आवश्यकता पनि यहि हो । आज सैद्धान्तिक तथा दार्शनिक रुपमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर संसदवादी राजनीतिक शक्तिहरुले नै यथास्थितिवादी ध्रुवको राजनीतिक प्रतिनिधित्व गर्दछन । बिचारधारात्मक हिसावले यो राजनीतिको नेतृत्व डा.बाबुराम भट्टराईले गरेपनि यस धारामा प्रचण्ड–माधव नेतृत्वको नेकपा काङ्ग्रेस भित्रको एउटापक्षले समेत यो ध्रुवको प्रतिनिधित्व गर्दछन । तर अग्रगामी संघर्षद्वारा उनीहरुको सत्ता विरुद्ध हुने संघर्षवाट पैदाहुने उनीहरुविचको अन्तरविरोधले उनीहरुभित्र स्वभाविक रुपमा कित्ता काट गरिदिन्छ । कायरहरु प्रतिगामी कित्तामा जान्छन भने इमानदारहरु अग्रगामी कित्तमा सामेल हुन पुग्छन । नयाँ जनवादी क्रान्तिको मुल उदेश्य भनेको संघर्षद्वारा यो कित्ताभित्र अन्तरविरोध पैदा गराएर यसलाई ध्वस्त पार्ने र अन्तरविरोधभित्रको प्रगतिशील पक्षलाई संघर्षमा ध्रुविकृत गरेर अगाडि बढ्नु पर्छ भन्ने नै हो । यो कुशलतालाई कमरेड माओ अन्तरविरोधको सहि सन्चालन वताउनु हुन्छ । अहिलेको हाम्रो राजनीतिको मुल विषयवस्तु पनि यहिँ नेर छ । एकातिर यतिवेला केपी ओलीको प्रतिगमनको विरुद्धमा संघर्ष गर्नु पर्ने अवश्यकता छ भने अर्कातिर प्रतिगमनको विकल्प संसद पुनःस्थापना वा यथास्थितिवाद नभएर अग्रगामी राजनीति संघीय जनगणतन्त्र हो भन्ने मान्यतालाई स्थापित गर्न जरुरी छ । त्यो सबैकुराको फैसला संघर्ष आन्दोलन र विद्रोहले मात्र गर्न सक्दछ । समग्रतामा यथास्थितिवादलाई पराजित नगरेसम्म न प्रतिगामी संग लड्न सकिन्छ न अग्रगामी परिवर्तनको सुनिश्चितता कायम नै गर्न सकिन्छ । यसतर्फ सम्पूर्ण क्रान्तिकारी तथा परिवर्तन पक्षधर शक्तिको ध्यान यतातिर जान जरुरी छ ।
३. अग्रगामी राजनीति ध्रुव– रुपमा जुनसुकै अवस्था देखिएपनि अन्तरवस्तुका हिसावले यो सबैभन्दा गतिशिल,वैज्ञानिक र शक्तिशाली ध्रुव हो । यसले समाजमा देखिने तमामखाले विकृति विसंगति विरुद्ध संघर्ष गर्छ । समाजमा देखिने राष्ट्रियता जनतन्त्र र जनजिविका लगायतका सबै समस्याहरुको समाधान पछाडि फर्केर वा यथास्थितिमा अल्झेर होइन अगाडि वढेर वा परिवर्तनको माध्यमवाट मात्र सम्भव छ भन्ने मान्यता राख्दछ । वर्तमान अवस्थामा ओलीको प्रतिगमनको विकल्प यथास्थितिवाद वा संसद पुनःस्थापना होइन नयाँ जनवादी क्रान्ति मार्फत स्थापना हुने जनताको जनवादी व्यवस्था मात्र हो भन्ने धारणामा यो ध्रुव प्रतिबद्ध हुँदै आईरहेको छ । उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग सम्वन्धि मालेमावादको मार्गनिर्देशनमा निरन्तर क्रान्तिको सिद्धान्त अनुसार सबै समस्याको समाधान खोज्ने राजनीतिक लाइनको यो ध्रुवले प्रतिनिधित्व गर्दै आइरहेको छ । आज कमरेड किरणको नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी)ले यसको राजनीतिक तथा बैचारिक धारको प्रतिनिधित्व गर्दै आइरहेको छ भने राष्ट्रियता जनतन्त्र र जनजीविकाका आधारभुत सवालहरुमा विभिन्न परिवर्तनकारी, प्रगतिशील र देशभक्त शक्तिहरुको लगातार यस ध्रुवमा ध्रुवीकरण प्रक्रिया वाट एकल वा संयुक्त आन्दोलन हुँदै गइरहेको छ । यसको निरन्तर तथा सचेत राजनीतिक पहलकदमी सहित अग्रगामी राजनीतिक परिवर्तनको लागि अगाडि वढ्दै यो आन्दोलनलाई निर्णायक वनाउनु पर्ने आवश्यकता अझ धेरै बढ्दै गइरहेको छ । निसंदेह यो उदेश्य पूरा गर्नको लागि संघर्ष, आन्दोलन, विद्रोह र प्रतिरोध सहिद वलिदानको भीषण वर्गसंघर्षको वीचवाट अगाडि वढ्नुको कुनै विकल्प छैन । निष्कर्षः समग्ररुपमा हेर्दा आज नेपाल तथा विश्वकै राजनीति यी तीन धार विचको भीषण द्वन्द–संघर्षको बिचवाट अगाडि बढिरहेको छ । यथास्थितिवादीहरुको हातमा रहेको सत्ता कस्ले जित्ने भन्ने होडमा प्रतिगमनकारी र अग्रगामी परिवर्तनकारी विच चल्ने संघर्षमा अग्रगामी परिवर्तनको मुख्य बाधक शक्तिको रुपमा यथास्थितिवादी शक्ति अगाडि आउछ । सत्ता र शक्तिको आड्मा परिवर्तनको लडाइँको मुख्य वाधक शक्ति यथास्थितिवादसंगको निर्णायक विजय पश्चात् नै अग्रगमनको राजनीतिक प्रक्रियामा अगाडि बढ्न सहज हुने गर्दछ । किन कि राजनीतिक सत्ताको हिसावले प्रतिगमन पराजित शक्ति हो भने यथास्थितिवादीहरु सत्तासिन शक्ति हुन । वर्तमान अवस्थमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित सामन्तवाद, दलाल पूँजीवाद र नोकरशाही पूजीवादसंगको नेपाली समाजको प्रधान अन्तर्विरोध रहेको छ । आज यसको नेतृत्व संसदीय व्यवस्थाका पक्षधर शक्तिहरुले गरिरहेका छन । लडाइँको हाम्रो मुख्य केन्द्रबिन्दु पनि यहि हो । किन कि कम्युनिस्ट आन्दालन केन्द्रीय सत्ताको विरुद्धको बिद्रोहको सवाल हो । यस सैद्धान्तिक मान्यताभन्दा फरक ढंगले सोच्ने आन्दोलनले आजको संधर्भमा सहि निष्कर्ष दिदैन । यसप्रति क्रान्तिकारीहरु बेलैमा सचेत हुन जरुरी छ ।
२०७७ पौष २९ गते