बालिका बलात्कार र हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीले गोली चलायो, तीन जना गम्भिर घाइते

प्रकाशित मिति : २०७७ मंसिर ९


बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको घटनाको विरोधमा बर्दिबास क्षेत्र तनावग्रस्त बनेको छ । पीडितहरुको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरीको गोलि लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन् ।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको उपचार अहिले बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ ।


आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।

उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।


बालिका बलात्कार तथा हत्याको बिरोधमा बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाइदिएका छन् ।

स्थानीयले अहिले बालिकाको शवलाई राजमार्गमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा प्रहरीले केहि सेल अश्रु ग्यास प्रहार र हवाइ फायर गरेको छ । अहिले बर्दिबास तनावग्रस्त बनेको छ ।