हेल्थ डेस्क राखेर कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार विद्यार्थी सहभागि

प्रकाशित मिति : २०७७ मंसिर ९

काठमाडौँ । कोभिड महामारीका बीच हेल्थडेस्क राखेर मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको छ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षाका बेला स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिएको बताए । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गरिने उनले जनाए ।

परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।

स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागि भएका छन् ।