डबल नेकपामा सचिवालय बैठक र मन्त्रीपरिषद् बैठकको सन्त्रास

प्रकाशित मिति : २०७७ मंसिर ३


काठमाडौं । डबल नेकपाभित्रको सत्तास्वार्थको झगडा उत्कर्षमा छ । दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ध्वंशात्मक लडाइँमा उत्रिएका छन् । एकअर्कालाई नाङ्गेझार पार्ने र सिध्याउने खेलमा लागेको पछिल्ला घटनाक्रमले देखिएको छ । सत्तास्वार्थका लागि एकले अर्कोलाई सिध्याउन साम, दाम, दण्ड, भेदलगायत सबै हतियारहरुको प्रयोग गर्ने स्थितिमा उनीहरु पुगेका छन् । प्रचण्डले सचिवालयको बैठक र आफूले प्रस्तुत गरेको दस्तावेजलाई हतियारको रुपमा प्रयोग गरेका छन् भने ओलीले मन्त्रीपरिषद्को बैठकलाई हतियार बनाउन खोजेका छन् । सचिवालय बैठकमा प्रचण्डमाथि दबाब कायम गर्न उनले २ बजेलाई मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । ओलीलाई सचिवालयको बैठक र प्रचण्डलाई मन्त्रीपरिषद्को बैठकले सन्त्रास उत्पन्न गराएको छ । प्रचण्डले प्रस्तुत गरेको छुट्टै राजनीतिक प्रस्तावलाई फिर्ता लिनुपर्ने अडानमा रहेको ओली खेमा चिनियाँ राजदूतसँगको भेट र बारम्बार राष्ट्रपतिसँगको भेटपछि १ बजे हुने सचिवालय बैठकमा सहभागि हुन सहमत बनेको छ । चिनियाँ राजदूत र राष्ट्रपतिको बाक्लो भेटले प्रचण्ड–नेपाल समूहमाथि दबाब र सन्त्रास उत्पन्न गराएको छ ।

अध्यादेश ल्याउने, संसद विघटन गराउने, राष्ट्रपति शासन लगाउने जस्ता हल्लाहरु नियोजित रुपमा चलाइएका छन् । र, ओलीले बारम्बार राष्ट्रपतिसँग गरेको भेट र राष्ट्रपतिको बढ्दो सक्रियताले प्रचण्डलाई मनोवैज्ञानिक दबाब उत्पन्न गराएको छ । यता प्रचण्डले कसको आडमा ओलीमाथि दस्तावेजको हतियार प्रयोग गरे ? उनको पछि को छ ? भन्ने प्रश्नहरु पनि चर्चामा छन् ।

अहिले डबले नेकपाको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीसहित नौं जनै सचिवालयका सदस्यहरुको उपस्थिति भएको छ । बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको दस्तावेज र आरोप पत्रहरुको बारेमा छलफल हुने बताइएको छ । अध्यक्ष दाहालले १२ वटा संगीन आरोप लगाएपछि ओली खेमाले दस्तावेज फिर्ता लिनुपर्ने माग राख्दै आएका थिए । बैठकमा दस्तावेजको सामना ओलीले कसरी गर्छन् त्यो भने हेर्न बाँकी छ ।