काठमाडौं । शुक्रबार सम्पन्न डबल नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले छुट्टै राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको दस्तावेजमा प्रधानमन्त्री समेत रहेको डबल नेकपाका प्रथम अध्यक्ष केपी ओलीलाई पार्टीभित्र र मुलुकमा उत्पन्न संकटको प्रमुख कारकको रुपमा चित्रण गरिएको छ । प्रचण्डले ओलीलाई बुर्जुवा अराजक र सामन्ती निरंकुश भन्दै वस्तुतः मुख्यतः र मूलतः ओली नै सबै समस्याको जड भएको किटान गरिएको छ । ओली खेमाले भने प्रचण्डको यो प्रस्तावलाई औपचारिक रुपमा पार्टी विभाजनका लागि आएको दस्तावेजको रुपमा विश्लेषण गरेको बालुवाटार स्रोतले बतायो ।

प्रचण्डले दस्तावेजमा माक्र्सवाद–लेनिनवादको विचार सिद्धान्त र समाजवाद उन्मुख जनताको जनवादको पार्टी लाइनलाई लत्याएको र चरम व्यक्तिवादी अराजकताको प्रदर्शन गरेको आरोप लगाएका छन् । नेकपा सचिवालय बैठकमा शुक्रबार प्रचण्डले पेस गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा ओलीका यस्ता गतिविधि अब क्षम्य नहुने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको प्रचण्डको निष्कर्ष छ ।


पार्टी एकतायताका २९ महिनामा बैठकमा प्रचण्डको मात्रै एकल राजनीतिक दस्ताबेज प्रस्तुत भएको यो पहिलो पटक हो । एकतायता सचिवालय बैठक ७०, स्थायी कमिटी ५ र केन्द्रीय कमिटीको बैठक २ पटक बसेको छ  । औपचारिक बैठकमा दुवै अध्यक्षले दस्ताबेज पेस गर्ने गरेका थिए । झन्डै चार महिना लामो कलहपछि गत भदौ २६ को स्थायी कमिटी बैठकले गरेका निष्कर्ष लागू गर्ने विषयमै दुई अध्यक्षबीच मतभेद भएपछि लिखित आरोप–प्रत्यारोप हुन थालेको हो ।

दस्तावेजको निष्कर्षमा प्रचण्डले भनेका छन्, “कमरेड केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ भन्ने विश्वास छ ।”

दस्तावेजमा प्रचण्डले ओली सरकारले गरेका गम्भीर भ्रष्टाचारका मुद्दाबारे समेत प्रश्न उठाइएको छ । ‘वाइडबडी विमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजस्वका दर परिवर्तनलाई चुहाएर विद्युत्बाट चल्ने गाडी र चकलेट आयातमा अनियमितताजस्ता प्रकरण सार्वजनिक भए,’ दाहालले प्रस्तावमा लेखेका छन्, ‘यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो  ।’

ओलीले नेपालको इतिहासमै पहिलो पटक कूटनीतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकलविपरीत भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रूपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभिमानमाथि गम्भीर आघात पु¥याएको र यसबाट राष्ट्रवाद नक्कली रहेछ भनेर पुष्टि भएको पनि प्रचण्डले गरेका छन्  । उनले एमसीसी सम्झौतामा समेत प्रधानमन्त्रीले अपारदर्शी व्यवहार गरेको समेत आरोप लगाएका छन् ।

बालुवाटार र खुमलटारबीच पत्रयुद्ध
प्रचण्डसहित पाँच सचिवालय सदस्यहरूले गत २२ गते बैठक बोलाउनका लागि सहमतिको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई लिखित निवेदन हाले । ओलीले त्यसको जवाफ बिहीबार १० पेज लामो पत्रमार्फत दिएपछि प्रचण्डले फेरि त्यसको प्रत्युत्तर ७ पेजमा पठाएका छन् । उनीहरुको पत्रयुद्धमा एकअर्काको पोल खोलाखोल गरेका छन् ।

दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र प्रचण्डले सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले डबल नेकपालाई विभाजनको संघारमा पु¥याएको विश्लेषण हुन थालेको छ ।

यसअघि मौखिक रूपमा एकअर्काप्रति आरोप–प्रत्यारोप हुने गरेकामा यस पटक लिखित दस्ताबेजकै रूपमा आएको छ । प्रचण्डको दस्तावेजलाई ओली खेमाले गम्भिर रुपमा लिएको र यसलाई औपचारिक विभाजनको लागि ल्याइएको दस्तावेजको रुपमा विश्लेषण गरिरहेको बालुवाटार स्रोतको दाबी छ ।

सैद्धान्तिक भन्दा पनि विशुद्ध पदको लेनदेनमा आधारित भएर गरिएको पार्टी एकता एउटाले अर्काको स्वार्थको सम्बोधन नगर्ने र निषेध गर्ने स्थितिमा विभाजन कसैले रोक्न नसक्ने पनि राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ । वर्तमान डबल नेकपा र ओली सरकारले राष्ट्रघात र जनघातका चाङ लगाएको विश्लेषण गर्दै सच्चा देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिले डबल नेकपा, ओली सरकारको मात्रै नभई वर्तमान दलाल पुँजीवादमा आधारित संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पको खोजी गर्दै सडक आन्दोलन चर्काउने तयारीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर