नेपालमा पुँजीवादी जनवादी क्रान्ति भएको छैन, अहिले क्रान्तिको आवश्यकता अत्यन्तै खड्किएको छ : महासचिव किरण

प्रकाशित मिति : २०७७ आश्विन २९
माेहन वैद्य ‘किरण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले नेपालमा पुँजीवादी जनवादी क्रान्ति नभएको र अहिले क्रान्तिको आवश्यकता अत्यन्तै खड्किएको बताउनु भएको छ । वर्तमान ओली नेतृत्वको सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टको बद्नाम गरेको र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुमाथि दमन गर्ने काम गरेको भन्दै निरंकुश र क्रूर प्रतिक्रियावादी ओली सरकार, संसदीय व्यवस्था र सत्तालाई ध्वस्त पार्नुपर्ने बताउनु भयो ।
यो सरकारबाट ९५ प्रतिशत श्रमजीवी जनताको हितमा कुनै काम नहुने र केवल ५ प्रतिशत दलाल, माफिया र विचौलियाको मात्रै हित हुने भन्दै यो व्यवस्थाका विरुद्ध सबै सच्चा देशभक्त र क्रान्तिकारीहरु एकताबद्ध भएर लाग्नुपर्ने पनि बताउनु भएको छ । एक टेलिभिजनलाई दिएको अन्तर्वावर्तामा उहाँले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरु वर्तमान सत्ता र व्यवस्थाले हल गर्न नसक्ने भन्दै त्यसका लागि नेपालमा संघीय जनणतन्त्रको स्थापना अनिवार्य रहेको बताउनु भएको छ । यो हो टिभिको सत्यसंवादमा पत्रकार जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा महासचिव किरणले यस्तो बताउनु भएको हो ।
महासचिव किरणले क्रान्तिकारीहरुको आत्मगत स्थिति कमजोर रहेपनि वस्तुगत आवश्यकता क्रान्तिको लागि एकदमै अनुकूल रहेकोले सच्चा देशभक्त तथा क्रान्तिकारीहरुबीच एकताको अपरिहार्यतामाथि जोड दिनुभयो ।