मधुकर थापा
गाईघाट, उदयपुर । देशकै ठूलो औद्योगिक प्रतिस्ठान उदयपुर सिमेन्ट उद्योग भ्रष्टाचारका कारण धारासायी र जीर्ण बन्दै गएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल उदयपुरले “सिमेन्ट उद्योगको दीर्घकालीन संरक्षण र विकासमा प्रयास” बिषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी, नेकपा (नेकपा), नेपाली कांग्रेस, रा.प्र.पा., नेपाल कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टी, नागरिक समाज, संचारकर्मी बुद्धिजीबी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सिमेन्ट उद्योगमा भ्रष्टाचारी र माफियाले उद्योग धरासायी बनाएकोले उद्योगको संरक्षण र विकासका लागि अब उद्योग संचालन पब्लिक कम्पनी मोडेलमा जानुपर्ने मत वक्ताहरुले राखेका थिए । कम्पनी मोडेल मार्फत् जनता, निजी क्षेत्र लगायत सबैको सहभागितामा उद्योगको पुनर्संरचना गरिनु पर्ने बताए ।
उक्त कार्यक्रमकै बीच लिल ब. बि.क.को संयोजकत्वमा अमर परियार, कृष्णप्रसाद पराजुली, गोविन्द बहादुर राउत, भुपेन्द्र पौडेल, दीपक राउत, अमिर थापा, निर्मल चौधरी, मकर दियाल, प्रमिला विक र मधुकर थापा सदस्य रहेको सर्वपक्षीय सरोकार समिति बनाएको छ । तपसिल बमोजिम सदस्य रहने गरि उदयपुर सिमेन्ट उद्योग सरोकार समिति पनि गठन गरेको छ ।
स्मरण रहोस् पञ्चायत अन्त्यको संघारताका उदयपुरको जलजलेमा जापानले उदयपुर सिमेन्ट उद्योग स्थापना गरेर ‘टेस्ट प्रोडक्सन’ गर्न थालेको थियो । पञ्चायत ढलेर बहुदलीय व्यवस्थाको प्रादुर्भावसँगै जापानले उद्योग नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको गैंडा सिमेन्ट उत्पादनको सुरुताका नै गुणस्तरीय साबित भयो । नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि त गैंडा ब्रान्ड दक्षिण एसियाको उच्च गुणस्तरयुक्त सिमेन्ट कहलिन पुग्यो । जापानले हस्तान्तरण गरेपछि ०४९ मंसिरदेखि नेपाल सरकारको हातमा आएको उद्योगमा सुरुदेखि नै सत्ताधारी राजनीतिक दलले हालीमुहाली गर्दै आएका छन् ।