
काठमाडौं । सरकारलाई चाडपर्व लक्षित खर्च व्यवस्थापनका लागि पैसाको व्यवस्थापन गर्न दबाब परेको छ । विकास खर्च नभएपनि महामारीका कारण अपेक्षित राजश्व नउठ्दा पैसा जुटाउन अर्थ मन्त्रालयको दौडधुप सुरू भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ८९ करोड राजश्व उठाएको छ । त्यस्तै विभिन्न कोष व्यवस्थापनबाट सरकारले यो बीचमा १७ अर्ब उठाएको छ । यसँगै कूल १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यही बीचमा जम्मा १२ अर्ब विकास खर्च गरेको सरकारले लगानी, ऋणको सवाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब खर्चिएको छ । गएको २ महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ चालु खर्च गरेको छ। कूल सरकारी खर्च १ खर्ब ६७ अर्ब रुपैयाँ भएको छ ।
नियमित आम्दानीबाट खर्चको जोहो नहुने अवस्था देखिएपछि दशैंअघि नै आएपछि सरकारले घाटा पूर्तिका लागि आन्तरिक ऋण उठाइरहेको छ ।
सरकारले हालसम्म ३० अर्ब ऋण उठाएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए । ऋणसमेत जोड्दा सरकारको ढुकुटीमै २८ अर्ब बढी नगद रहेको छ ।
तर दशैं आइसकेको र घटस्थापनाको १५ दिन अघि नै दशै खर्च फुकुवा हुन थालेकाले अन्य समयको तुलनामा मासिक खर्च यो समयमा धेरै हुन्छ । सामान्य समयमा सरकारको अनिवार्य दायित्व ४० अर्बको हाराहारीमा हुन्छ भने दशैंको समयमा कम्तिमा ६० प्रतिशत खर्च थपिने गरेको छ ।





























