दलित समुदायमाथिको बढ्दो अपराध

सम्पादकीय

प्रकाशित मिति : २०७७ आश्विन १३

“केही समय यता नेपाली समाजमा अल्पसङ्ख्यक धार्मिक समुदाय र दलित समुदायमाथि यस्ता घटनाहरु एकपछि अर्कोगरी बढ्दैजान थालेका छन् । समाजमा देखिने यस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न, अपराधिहरुमाथि कार्वाही गरेर धार्मिक तथा सामाजिक सद्भाव कायम गराउन र धार्मिक अल्पसङ्ख्यक तथा दलित समुदायको विशेषाधिकारको संरक्षण गर्नु पर्नेमा स्वयम् सरकार र सरकारी पार्टीका मान्छेहरु नै प्रत्यक्ष वा परोक्षरुपमा यस्ता घटनामा सहभागी हुनु अत्यन्त चिन्ताको विषय हो । आपूmलाई माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट दावी गर्ने सरकारको यस प्रकारको रवैयाको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र साथै पीडितहरुका लागि उचित क्षतिपूर्तिको माग गर्दछ ।” नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य‘किरण’ले भदौं १७ मा जारी गरेको वक्तव्यको एक अंश हो यो ।
रुकुम चौरजहारीको हत्याकाण्डपछि दलित समुदायमाथि श्रृङ्खलाबद्ध अपराधका घटनामा बढोत्तरी भइरहेको छ । आजको २१ औं शताब्दीमा पनि दलित समुदायले मानिसको सम्मानित दर्जा पाउन सकेका छैनन् । उनीहरुमाथि जातीय छुवाछुत, सामाजिक भेदभाव तथा शोषण, उत्पीडन, अन्याय, अत्याचार, हत्या, बलात्कारका घटना एकपछि अर्को बढिरहेका छन् । नेपालको तथाकथित संविधानले जातीय छुवाछुतलाई अपराध करार गरेपनि समाजमा छुवाछुतका घटनाहरु दैनिक घटिरहेका छन् । तर सरकार दलित समुदायमाथि भएका यस्ता जघन्य, अमानवीय, क्रूर घटनाहरुप्रति कहिल्यै संवेदनशील बनेन, घटनामा संलग्नहरुलाई कडाभन्दा कडा सजायको व्यवस्था गरेन, राजनीतिक तथा प्रशासनिक संरक्षणमा दोषीहरुले उन्मुक्ति पाउँदै आए । परिणामतः यस्ता अपराधका घटनामा बढोत्तरी भइरहेको छ ।
बझाङकी १२ बर्षे बालिका सम्झना विकको बलात्कारपछि हत्या गरियो । रुकुम हत्याकाण्डपछि मधेसमा मात्रै ८ जना दलितको हत्या भएको छ । दलित महिला तथा बालबालिमाथि बलात्कार र बोक्सीको नाममा जघन्य अपराधका घटनाहरु भइरहेका छन् । यसरी मुलुकमा दण्डहीनता, अराजकता, हत्या, हिंसा र बलात्कारका घटना बढ्नुमा प्रमुख जिम्मेवार राज्य हो । अहिलेको राज्यव्यवस्था हो ।
बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ ।
कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो ।
घटना साउन २९ गते साँझ ५ बजेको हो । मष्टा २ कै १४ वर्षीया दमाई थरकी बालिकालाई बोहोराले बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।
हिन्दूधर्ममा आधारित जात तथा पितृसत्तात्मक व्यवस्था (वर्णाश्रम व्यवस्था) र चरम गरिबीले गर्दा पनि दलित समुदायमाथि यस्ता अपराधहरु भइरहेका छन् । दलित समुदायमाथि बर्षौदेखि भइरहेको यस्तै अपराध र उत्पीडनका विरुद्ध विभिन्न कालखण्डमा पटक पटक आन्दोलन, संघर्षहरु भएका छन् । दशवर्षको जनयुद्धमा पनि मुक्तिको सपना बोकेर ठूलो संख्यामा दलित समुदाय मुक्तियुद्धमा होमिए । दलित समुदायको मुक्तिका निम्ति आर्थिक, सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रमा ‘विशेषाधिकार’को व्यवस्था गरेर मात्र दलित समुदायमाथि हुँदै आएको छुवाछुत र भेदभाव तथा उत्पीडनबाट मुक्ति सम्भव रहेको निष्कर्ष निकालिएको थियो । तर तत्कालीन नेतृत्वले गरेको धोका र गद्दारीले जनयुद्धले गम्भिर धक्का खान पुग्यो र जनयुद्धकालीन अवस्थामा स्थापित यी मुद्दाहरु पनि ओझेलमा परे, पारिए । परिणामतः दलित समुदायमाथि अपराधको श्रृङ्खला बढेर गयो ।
अहिलेको व्यवस्था सामन्त, नोकरशाही तथा दलाल पुँजीवादमा आधारित संसदीय व्यवस्था हो । यो व्यवस्थाबाट शोषित उत्पीडित वर्ग र समुदायको मुक्ति सम्भव छैन ।
दलित समुदायको मुक्तिको मुद्दा मूलतः वर्गीय मुद्दा हो । वर्गमुक्ति युद्ध वा आन्दोलनबाट मात्रै दलित समुदायमाथिको अपराध तथा उत्पीडनको अन्त्य हुन सक्दछ । सम्पूर्ण दलित समुदाय एकताबद्ध भएर वर्गीय मुक्ति आन्दोलनलाई घनिभूत बनाएर अर्थात् जनक्रान्तिको प्रक्रियालाई गतिशील बनाएर मात्रै दलित मुक्ति सम्भव छ । विशुद्ध दलित आन्दोलनबाट वा एनजिओ आइएनजिओको एजेण्डाबाट दलित मुक्ति सम्भव छैन । वर्गीय मुक्ति विना दलित मुक्ति सम्भव छैन । नयाँ जनवादी क्रान्ति नै दलित मुक्तिको अचुक र निर्विकल्प अस्त्र हो ।