म २०४६ सालमा जन्मिएपछि नेपाली भाषाका अन्य शब्दहरुले मेरो कान र जिब्रोमा त्यति स्थान पाएनन जति जनयुद्ध शब्दले पायो । बाल्यकालमा बोलिने अन्य सामान्य शब्दहरुभन्दा जनयुद्ध, प्रतिक्रियावाद, विस्तारवाद, समाजवाद जस्ता अहिले भयंकर लाग्ने वादहरु मेरो लटपटे जिब्रोले सजिलै उच्चारण गथ्र्यो । भलै त्यतिबेला यी शब्दहरुको अर्थ बुझ्न सक्ने मेरो दिमाग पक्कै पनि थिएन, तैपनि यी शब्दहरुप्रति मेरो बाल्यकालदेखि नै एक किसिमको लगाव बसेको थियो । धेरै पाहुनाहरु लिएर महिनामा एकपटक मात्रै घर आउने मेरो बुवाले र ती पाहुनाहरुले यी शब्दहरु उच्चारण गरेको सुनेर होला मेरो कलिलो दिमागमा यी शब्दहरुले कहिल्यै नहट्ने गरी स्थायी डेरा जमाइसकेका थिए ।
बिस्तारै म पनि ठुलो हुँदै गएँ । घरमा पनि बुवासँग आउने पाहुनाहरु थपिदै गए । फरक त्यत्ति थियो, पहिलेका पाहुनाहरु कापी किताब बोकेर आउँथे, पछिका पाहुनाहरु बन्दुक । मेरो बुवा लगायत घरमा आउने पाहुनाहरुले पनि गरीबलाई लुटेर खानेहरु प्रतिक्रियावादी र समाजवादी भनेका सबैलाई माया गर्नेहरु भनेर बुझाउनुभएको थियो, मैले सजिलै बुझ्थें । उहाँहरुले प्रतिक्रियावादीहरु खराब हुन, उनीहरु रहेसम्म कसैलाई पनि राम्रो हुँदैन भनेर सिकाउनुभएको थियो । कहिलेकाँहि आउँदा चकलेट लिएर आउने, मलाई माया गर्ने भएकाले ती पाहुनाहरुलाई मैले समाजवादीका रुपमा चिनिसकेको थिए । समाजवादी त मेरा लागि उहाँहरुनै भइसक्नु भएको थियो, तर प्रतिक्रियावादीहरुलाई अझै चिन्न सकेको थिइन ।
घडीको सुई घुम्दै गयो । भित्ताका पात्राहरु फेरिदै गए । म पनि आफ्नो उमेर अनुसारको जीवन व्यवहार प्रति अलि बुझ्ने भइसकेको थिएँ । म बुझ्न सक्ने भएदेखि नै ती शब्दहरुलाई मैले आफ्नै जीवनमा घट्ने व्यवहारमा लागु गराएर बुझ्ने गर्थैं । घरमा कहिलेकाँहि आउने पाहुनाहरुले सिकाएझैं, मैले आफ्नै जीवनमा भोगे अनुसार प्रतिक्रियावादीहरु र समाजवादीहरु चिन्न सक्ने भए । हामी गुच्चा खेल्दा थर्काएर अरुको गुच्चा चोर्नेहरु मेरा लागि प्रतिक्रियावादी र आफ्नो चोरिएको गुच्चा फिर्ता गर्नका लागि लड्न तम्सिनेहरु समाजवादी भए । यतिबेला देखिनै अरुलाई लुट्नेहरु र लुट्नेका विरुद्ध लड्नेहरु क्रमशः प्रतिक्रियावादी र समाजवादी हुन भन्ने कुराको गहिरो छाप ममा बस्यो ।
समय बित्दै गयो । मेरो वढ्दै गएको दिमागले धेरै ठुला कुराहरु बुझ्न थालिसकेको थियो । ती शब्दका अर्थहरु पनि मैले अझै बुझ्न थालिसकेको थिए । समय वित्दै जाँदा मैले सिकेको ती शब्दहरुको अर्थमा कुनै परिवर्तन नपाएपनि शब्दअनुसारका पात्रहरुमा भने भिन्नता देखें । म ५,६ कक्षामा पढ्ने बेलासम्म मेरा लागि प्रतिक्रियावादीहरु र समाजवादीहरु अर्के भइसकेका थिए । गुच्चा चोर्ने साथीहरुलाई प्रतिक्रियावादी भन्ने मेरो दिमागले गाउँका गरीबलाई श्रम गराएर आफू केही नगरी खाने मुखियाहरु प्रतिक्रियावादीहरु हुन भन्ने थाहा पायो । असली क्रान्तिकारी त त्यो हो जसले शोषित पीडितहरुका लागि संघर्ष गर्छ भन्ने कुराको भान हुन थाल्यो ।
त्यतिबेला नेपालमा बन्दुकको आडमा टिकेको प्रतिक्रियावादी सत्तालाई बन्दुकै सहायतामा ध्वस्त गराई गरीब र शोषितहरुलाई सत्ताको मालिक बनाउन भनेर महान जनयुद्ध चल्दै थियो । आँफू सत्तामा टिकिराख्ने तर आम जनताहरुका विद्यमान समस्याहरुलाई सम्बोधन नगर्ने राजा र उनका भरौटेहरु मेरा लागि प्रतिक्रियावादी भए । र त्यो प्रतिक्रियावादी सत्ता पल्टाउन बन्दुक बोक्नेहरु समाजवादी । मेरो पारिवारिक पृष्ठभूमिका कारणले पनि होला, समाजमा विद्यमान असमानताका विरुद्ध सुरु गरिएको जनयुद्धमा प्रत्यक्ष सहभागी हुने मौका मिल्यो । म सहभागी भएको आन्दोलनको मर्म गरीब जनतालाई गरीबिबाट हटाउनु र समाजमा नयाँ समाजवादी व्यवस्था कायम गर्नु थियो । मैले यही बेला थाहा पाएको थिए कि मेरो घरमा आउने पाहुनाहरु अरु कोही नभएर प्रचण्ड, बाबुराम, बादल लगायतका नेताहरु थिए ।
तर अहिले समय फेरिएको छ । म अहिले करिब ३० बर्षको हुँदा सम्मपनि मेरा जीवनका प्रतिक्रियावादी र समाजवादी पात्रहरु अझैं पनि परिवर्तन हुँदैछन । मात्र दुःख यतिमा लाग्छ कि, सानैदेखि समाजवादीका रुपमा मैले मानेका, गरीबहरुको झुपडीमा आशाको किरण छर्ने प्रतिवद्धता गरेका मेरा घरमा आउने पाहुनाहरु अहिले आँफै प्रतिक्रियावादी बनेका छन । म सानो छँदा मलाई प्रतिक्रियावादका विरुद्ध लड्न पर्छ भन्नेहरु, आफै प्रतिक्रियावादी सत्तामा लिप्त भएका छन । फोहोरी संसदीय खेलमा सांसद किनबेचमा लागेका छन । के तपाईहरुले म सानो छँदा मलाई दिलाउनुभएको विश्वास यही हो ? के तपाईहरुले जुन सपना बाँडेर बन्दुक बोक्नु भएको थियो, त्यो पुरा भयो ?
म सानो छँदा तपाईहरुले सिकाउनुभएको कुरालाई बेलाबखत मैले अझै पनि सम्झिने गर्छु । आफ्नो दैनिकी गुजाराका लागि काम गर्न आवश्यक पर्ने समय बाहेकका अरु समय यिनै कुराहरुमा आफैसँग प्रश्नोत्तर गर्छु । मेरो वृद्धि हुँदै गएको दिमागले प्रतिक्रियावादी पात्रहरु अझै अर्कै हुनेछन भन्ने अवश्य थाहा थियो मैले मानेका तिनै समाजवादीहरु आफै प्रतिक्रियावादी हुन्छन भन्ने मलाई लागेको थिएन । तर बिडम्बना, आज त्यही भयो ।
तर होस गर्नुस, जुन कुरा तपाईहरुले म सानो हुँदा सिकाउनुभएको थियो, त्यो कुरा मैले अmभैसम्म पनि बिर्सेको छैन । २०५२ सालमा प्रतिक्रियावादका विरुद्ध उठेको हतियार अब तपाईहरुतिर नफर्केला भन्न सक्दिन । आखिर गुरुले सिकाएको त सिक्नै पर्यो ।





























