सरकारी लापरबाहीले कोरोना संक्रमण भयावह !

सरकारी लापरबाहीले कोरोना संक्रमण भयावह !


काठमाडौं । ओली नेतृत्वको सरकारको लापरबाहीका कारण कोरोना संक्रमणले भयावह रुप लिन पुगेको छ । कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको चार महिना लामो लकडाउन राजस्व संकलनका लागि भन्दै खुकुलो पारेसँगै कोरोना संक्रमणले भयावह रुप लिन पुगेको हो । आइतबरसम्मको आँकडा हेर्ने हो भने कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने संक्रमितको संख्यध २७ हजार नाघेको छ । जसमध्ये १७ हजार बढी निको भए पनि संक्रमण समुदाय स्तरमा फैलिंदा संक्रमणले भयावह रुप लिएको छ । ५ लाख बढीको पीसीआर परीक्षण गरिएको भनिए पनि समुदाय स्तरमा परीक्षण अझै हुन सकेकये छैन । पहुँचवाला र लक्षण नदेखिएकाहरुको परीक्षण गरिएको छ । संक्रमितको सम्पर्कमा रहेका सर्वसाधारणहरुको परीक्षण अझै हुन सकेको छैन । त्यसमाथि निजी क्षेत्रलाई परीक्षण अनमति दिएपछि अत्यधिक शुल्क तिर्नुपर्ने बाध्यताले जनसर्वसाधारण अझ मारमा परेकय छन् भने संक्रमितको सम्पर्कमा भएपनि परीक्षण शुल्क तिर्न नसक्दा उनीहरुको परीक्षण हुन सकेको छैन ।
कोरोना महामारीसँग जुध्न सरकारले गरेको तयारी एकदमै फितलो र लापरबाहीपूर्ण देखिएको टिप्पणी विश्लेषण जनस्वास्थ्यविज्ञहरुले गर्दै आएका छन् । लकडाउन सुरु हुँदादेखि नै कोरोना महामारीसँग जुध्नका लागि तयारी चुस्त हुनुपर्छ भन्ने कुरा विज्ञ लगायत राजनीतिक पार्टीहरुले उठाए पनि सरकारले त्यसप्रति वास्ता गरेन । परीक्षणको दायरा बढाउने, आवश्यकता अनुसार क्वारेन्टिनको क्षमता बढाउने, संक्रमित भेटिएमा क्लिनिकली व्यवस्थापनको तयारी कसरी गर्ने र लकडाउन पछाडि सर्वसाधारणलाई आफ्नो व्यापार–व्यवसाय तथा कार्य क्षेत्रमा कसरी फर्काउने र आर्थिक रुपमा बाच्ने आधार कसरी बनाउने भन्नेजस्ता धेरै कुराको तयारी सरकारले नगर्दा संक्रमण विकराल बन्दै गएको उनीहरुको दावी छ ।
हाल परीक्षणको दायरा पहिलाभन्दा बढाइएको भएपनि संक्रमितको कन्ट्याक्टमा आउनेलाई पहिचान गर्न सकेको छैन । पहिचान गर्न नसक्नुलाई विज्ञहरुले ठूलो जोखिमको रुपमा विश्लेषण गरेका छन् ।
कोरोना महामारीसँग जुध्नका लागि सरकारले बनाएको रणनीति फेल भयो । पहिला भारतमा भएका नागरिकलाई नेपाल आउन नदिने, नेपालमा भएका भारतीयलाई उता जान नदिने गरियो । त्यसपछि भारतबाट भिन्न बाटो हुँदै नागरिक स्वादेश फिर्ता भए । स्वदेश फिर्ता भएका कति क्वारेन्टिनमा बसे, कति बसेनन् । क्वारेन्टिन अव्यवस्थित भएका कारण मानिस त्यहीँबाटै भागे । भारतीय नाका हुँदै आउनेलाई सरकारले केही पनि गर्न सकेन । कोरोना महामारीसँग जुध्नका लागि स्थानीय तहसँग प्रदेश तथा केन्द्रीय सरकारले समन्वय गरेको देखिएन । कोरोना सम्बन्धी तथा स्वास्थ्यसम्बन्धी जानकारी नभएका मानिसलाई जिम्मा दिँदा सही तरिकाले समयमै व्यवस्थापन गर्न नसक्दा कोरोना झन् फैलियो । भारतीय सीमा नाकाबाट नेपाल छिर्ने हुन् या काठमाडौं उपत्यकामा विभिन्न नाका हुँदै आँखा छलेर प्रवेश गर्ने हुन्, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुँदा संक्रमितको संख्या बढिरहेको छ ।
सरकारले वीरगन्ज र काठमाडौंलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरुको ठहर छ । उनीहरुले मास्क नलगाएर, सामाजिक दुरी कायम नगरेर, हात मिलाएर अंकमाल गरेर, साबुनपानी तथा सेनिटाइजरको प्रयोग नगरेर, घरबाहिर बिना काममा डुलेर वा अन्य कार्य गर्दा नेपालमा कसरी कोरोना संक्रमण बढेको छ भन्ने कुरा अध्ययन तथा अनुसन्धान गरेर जनतालाई सुसूचित गराउन पर्ने सुझाब दिएका छन् ।
सरकारले दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने भने पनि अहिलेसम्म पु¥याउन सकेको छैन । नेपाल–भारत सीमानाकामा कडाइ गर्न सकेको छैन । साथै कोरोना प्रभावित क्षेत्रबाट राजधानी लगायतका अन्य जिल्लाहरूमा आउने जानेलाई व्यवस्थापन गर्न अहिलेसम्म पनि सकेको छैन । कोरोना परीक्षणको दायरालाई बढाउने, नाकामा कडाइ गर्ने काम र कन्ट्याक्ट टेसिङ गर्ने काममा सरकारको गम्भीर कमजोरी देखिएको छ ।
काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जना कोरोना पोजेटिभ
साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्र्याक्ट ट्रेसिङ् गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५ पछिको केस हो । यसकारण निको भएर फर्कनेको संख्या आउन बाँकी छ । जनस्वास्थ्य महाशाखाका बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छ, ‘यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन ।’
सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरुमा परीक्षण गरिएको थियो । यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ । ओलीकाअनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तलमाथि हुन सक्छ । अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं ।
प्राप्त बिवरणअनुसार सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो । वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । ्
महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०र१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् ।
वडा १८, १९, २० र २१ मा मा १र२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।
संक्रमितको पहिचान, उहाँहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहनुभएकाहरुको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्र्याक ट्रेसिङ् कार्यलाई तीब्र बनाएको दावी गरेको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु खटिएका छन् ।
नेपाल प्रहरीका दुई उच्च अधिकारीसहित ६२० जना संक्रमित
नेपाल प्रहरीका दुई उच्च प्रहरी अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको हो । नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत सबैको बिहीबार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनीहरुको शनिबार बिहान पीसीआर रिपोर्ट आएको थियो । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको प्रहरी प्रवक्ता तथा एसएसपी कुवेर कडायतले बताए । एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको एसएसपी कडायतले बताए ।
स्वास्थ्यकर्मी र पत्रकारसहित बारा–पर्सामा थप ४७ जना संक्रमित
पर्सा–बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ३१ साउन शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । बारा पर्सा क्षेत्र नेपालको गेट वे रहेका कारण पनि मुख्यतः विरगञ्जलाई काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न क्षेत्रमा संक्रमण फैलने मुख्य नाकाका रुपमा लिने गरिएको छ । हजारौंको संख्यामा संक्रमितहरु यस क्षेत्रमा देखिसकिएका छन् ।
किचलोमै मस्त ओली सरकार
जनता रोग र भोकले मरिरहँदा ओली सरकार भने पार्टीको आन्तरिक किचलोमै मस्त रहेको छ । जनताको स्वास्थ्यप्रति ओली सरकार जिम्मेवार र संवेदनशील देखिएको छैन । ओम्नी प्रकरणदेखि बेमौसमी पार्टीको किचलोमा मग्न रहेको सरकार जनता र देशप्रति एकपछि अर्को गैरजिम्मेवारी प्रदर्शन गरिरहेको छ र यसको मूल्य जनताले चुकाउनु परिरहेको छ ।