आजको सन्दर्भमा राष्ट्रिय स्वाधीनताको आन्दोलन

प्रकाशित मिति : २०७७ असार २९

- दिनेश शर्मा

विषय प्रवेश
यतिवेला नेपालको राष्ट्रिय राजनीतिक वृतमा परिवर्तनका पक्षधर र यथास्थिति, पश्चगामी संसदीय शक्तिहरुका बिचमा व्यापक बहस र ध्रुवीकरणको प्रकृया अगाडी बढिरहेको छ । बहस र ध्रुवीकरण मात्र होइन राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत जनताका दैनिक सरोकारका विषयलाई लिएर परिवर्तनका पक्षधर मूलतः नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा देशका विभिन्न भागहरुमा दैनिकजस्तो आन्दोलन हुदै आएका छन् । राष्ट्रिय स्वाधिनतालाई वलियो बनाउने वा कमजोर बनाउने भन्ने सवाल यतिवेलाको आन्दोलनको मुख्य विषयवस्तु बनेको अवस्था छ । नेपालको सिमा मिच्दै जाने, राजनीतिक, आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा हस्तक्षेप गर्दै जानेदेखि आगामी दिनमा साम्राज्यवादीहरुले सेनानै उतार्न सक्ने बाटो खुल्ला गर्न अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र उनीहरुका भरपर्दा नेपाली दलालहरु घँुडा धसेर लागेका छन् भने नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्तहरु साम्राज्यवाद, विस्तारवाद, त्यसका भरपर्दा नेपाली दलालहरुका सबै प्रकारका हर्कतहरुलाई परास्त गरी राष्ट्रिय स्वाधीनता बचाइराख्ने दृढ आत्माविश्वासका साथ संघर्षको मैलानमा जुटिरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा विगत दुईवर्षदेखि कालापानी, लिपुलेक, हुँदै लिम्पियाधुरासम्मको ३७२ वर्ग किलो मिटर नेपाली भूमिको जमिन फिर्ता गर्न निरन्तर रुपमा भएका कार्यक्रमहरुले आम देशभक्त जनताको मनमस्तिष्कमा गहिरो प्रभाव पर्नुले राष्ट्रियताका विषयमा जनता एकढिक्का बन्ने वातावरण बन्यो । जसले गर्दा दलालहरुको सत्ता र सरकार बाध्य भएर उक्त भूमि समेटेर नक्सा जारी गर्न बाध्य भयो । यो एक प्रकारले जनताको विजय हो । देशभक्तहरुको विजय हो । हामी क्रान्तिकारी शक्तिहरुको विजय हो ।
तर राष्ट्रियताको लडाइँ सकिएको छैन । यसमा आगामी दिनमा झनै पेचिलो बनेर अगाडि बढ्दै छ । किनकी मिचिएको भूमि नक्साभित्र त प¥यो तर हामीले उपभोग गर्न पाएका छैनौं । त्यसलाई फिर्ता ल्याउने मुख्य काम बाँकी नै छ । त्यति मात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरुले नेपाली टुक्रा टुक्रा गरेर सिध्याउने मात्र होइन केही रकम ल्याउने नाममा अमेरिकी साम्राज्यवादका सेना नेपालमा उतार्ने वातावरण बनाउन गरिएको सम्झौताको यतिबेला संसदबाट पारित गराउन ठूलो कसरत गरेको कुरा आम नेपालीहरुले राम्रोसंग अनुभूत नगरेका होइनन् । उक्त सम्झौताको खारेजीका निमित्त समेत नेकपा –क्रान्तिकारी माओवादी), अन्य देशभक्तहरु, खासगरी दश दल र अन्य अभियन्ताहरु समेतले निरन्तर संघर्षमार्फत् खवरदारी गर्ने काम भइराखेको छ । संसदबाट पारित गर्ने कुरा यतिवेला टरेता पनि अर्काे अधिवेशनबाट पारित गर्छाै भनेर यहाँका दलालहरुले आफ्ना प्रभुहरुलाई विन्ति पत्र हालेको कुरा आएकै छ । त्यसैले यतिवेला राष्ट्रियताको लडार्इं अत्यन्तै पेचिलो बन्दै गएको प्रष्ट नै छ ।
२. भारतीय विस्तारवाद र नेपाल
नेपालको ताप्लेजुङ्गदेखि दार्चुलासम्मको २५ वटा जिल्लाको सिमाना भारतसंग जोडिएको छ । त्यो पनि खुल्ला रुपमा । भारतमा इष्ट इण्डिया कम्पनिका नाममा आएर बसेको बेलायतसंगको नेपाली जनताको संघर्षको क्रममा तत्कालीन नेपालका शासक र इष्ट इण्डिया कम्पनिका बिचमा सन् १८१६ मा भएको सुगौली सन्धिदेखिनै नेपालको आफ्नो ठूलो भूभाग जमिन गुमाएको स्पष्ट नै छ । त्यसपछि भारतीय जनताले राष्ट्रियताको लडार्इं लडेर वेलायतको उपनिवेशबाट भारतलाई मुक्त त गराए तर त्यो समयदेखि आजसम्म पनि भारतको शासन सत्तामा बसेकाहरुको चिन्तन आफ्ना छिमेकी राष्ट्रप्रति त्यही औपनिवेशिक व्यवहार कायमै रहयो । त्यसैको नियती आज हामीले भोगिरहेका छौ । एकातिर भारतबिच विस्तारवादी हस्तक्षेप रहदैं आयो भने अर्कोतिर २४० वर्षदेखि नेपालको राज्यसत्तामा बसेका राजाहरु होऊन या उसले बनाएका सरकारहरु होउन सबैले आफ्नो सत्ता स्वार्थका निमित्त विस्तारवाद र साम्राज्यवादको दलाली गर्नुभन्दा अरु हुन सकेन । सामन्तवादी वा पुँजीवादी चिन्तन, दृष्टिकोण, विचार बोकेका भन्दा बढी हुन सक्तैन थियो, भएन पनि ।
पटक पटक आन्दोलन गरेर नेपाली जनताले आफ्नो अधिकार प्राप्त गर्न र राष्ट्रिय स्वाधीनताका लागि कोशिस नगरेका होइनन् । सत्ता न त जनताको हातमा आउन सक्यो, न त अधिकार नै प्राप्त भयो । दश वर्षको जनयुद्धले २४० वर्षदेखि सत्तामा बसेको राजतन्त्रात्मक सत्तालाई ध्वस्त बनायो तर त्यो सत्ता सर्वहारा वर्गको हातमा आएन । बरु उक्त सत्ता साम्राज्यवाद र विस्तारवादका दलालहरुको हातमा पुगेका कारण राष्ट्रियता, जनतन्त्र, जनजीविका सवाल अत्यन्तै पेचिलो बनिरहेका छन् । नेपालको ठूलो भूभाग भारतसंग जोडिएको र सिमाना खुल्ला हुनुको कारण विगत देखिनै आर्थिक, साँस्कृतिक, सामाजिक, भौगोलिक, राजनीतिकसंगै शान्तिपूर्ण तवरबाट सैन्यहस्तक्षेप समेत हामीले व्यहोरी सकेका छौ । सिमानामा हुने निरन्तरको हस्तक्षेप मात्र होइन, कालापानीमा राखिएको भारतीय सेनाले नेपालका ३ वटा गाउँसंगै ३७२ वर्ग किलोमिटर भन्दा बढी भूभाग हामीले गुमाइरहेका छौ । सुस्ता महेशपुर लगायत ७२ स्थानमा समेत त्यही अवस्था छदै छ ।
यति हुंदा हुंदै पनि सत्य र सकारात्मक पक्ष के हो भने कम्युनिस्ट क्रान्तिकारीहरुले विगतदेखि लड्दै आएका राष्ट्रियताको लडाईं दश वर्षको जनयुद्धले व्यापक आकार ग्रहण गरेका कारण आम जनतामा चेतनाको स्तरलाई एक हदसम्म उठाउन सफल भयो । यद्यपि जनयुद्धका क्रममा मुख्य नेतृत्वकर्ता लगायत केही व्यक्तिहरुले साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गरेता पनि क्रान्तिकारीहरुको निरन्तर प्रयासले राष्ट्रिय स्वाधिनताको आन्दोलन त्यति कमजोर भने छैन । किनकी नेकपा (क्रान्तिकारी माओवादी) को निरन्तर आन्दोलन, देशभक्तहरुको एकताबद्धता र जनताको समेत दवावका कारण दलालहरुको सत्ताले बाध्य भएर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा तयार पार्नु परेको छ । यो एकहदसम्म हामी क्रान्तिकारीहरुको, सबै देशभक्तहरुको र नेपाली जनताको विजय हो । संघर्षद्वारा गुमेको अधिकारलाई फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाण पनि हो ।
यति भनेर वा प्राप्त गरियो भनेर चुप लागेर बस्ने अवस्था भने होइन । किनकि अझै त्यहाँबाट सेना हटाउने, विस्तारवादले बनाएको बाटो बन्द गर्ने र सुस्ता महेशपुर लगायत स्थानमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने चुनौती हाम्रा अगाडि छँदैछन् । यसका लागि अझै ठूला ठूला आन्दोलनको आवश्यकता झनै बढेर गएको छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । अझ मुख्य कुरा त के हो भने जति समयसम्म दलालहरुको हातमा सत्ता रहिरहन्छ, त्यतिबेलासम्म राष्ट्रिय अस्मिता कतिबेला कहाँ बिक्री हुने हो भन्ने खतरा हरेक क्षण रहिरहन्छ भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ । सबै देशभक्तहरुले, परिवर्तनकामीहरुले क्रान्तिकारीहरुको वरिपरि गोलबन्द भएर सत्ता सर्वहारावर्गको हातमा ल्याउनुपर्ने मुख्य अभिभाराको आन्दोलन अगाडि बढाउन पनि त्यत्तिकै महत्वका साथ लाग्न आवश्यक छ ।
३– अमेरिकी साम्राज्यवाद र नेपाल
दक्षिण एशियामा भारतीय विस्तारवाद मुख्य खतरामा हुँदै हो । तर विश्वका उत्पीडित जनता वा हाम्रो जस्तै अविकसित राष्ट्रका लागि अमेरिकी साम्राज्यवाद मुख्य खतरा वा मुख्य दुश्मनका रुपमा रहँदै आएको छ । नेपाल र नेपाली जनताका निम्ति अमेरिकी साम्राज्यवाद कति खतरनाक छ भन्ने कुरा विगतदेखि नै कम्युनिस्ट क्रान्तिकारीहरुले भन्दै आएको हो । पछिल्लो चरणमा नेकपा –क्रान्तिकारी माओवादी)ले साम्राज्यवादी हर्कतका सम्बन्धमा व्यापक विश्लेषण गर्दै आएको थियो र छ । यतिबेला अमेरिकाले तयार पारेको इण्डोप्यासिफिक रणनीतिको सैन्य योजना कार्यान्वयनका निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन –एमसीसी) जस्तो घातक अमेरिकी संस्थासँग सुरुमा कांग्रेस सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएर २०७४ भाद्र २९ का दिन मिलेनियम च्यालेन्ज कर्पोरेशनका कार्यकारी निर्देशक जोनाथान जीमास र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका रहेछन् । सरकार परिवर्तन भएपछि डबल नेकपाको सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त सम्झौतामा अझै थप खतरनाक बुँदा थपेर सम्झौता गरेका रहेछन् । तर त्यसलाई उनले गुपचुप राखेका छन् ।
जुन सम्झौताले नेपालको संविधानलाई कमजोर बनाउने नेपालका प्राकृतिक स्रोत साधन अमेरिकालाई सुम्पनेदेखि नेपालमा अमेरिकी सेना उतार्नेसम्मको बाटो खोल्ने गरी डिजाइन गरिएको छ । आगामी दिनमा नेपाललाई अफगानिस्तान र सिरियाभन्दा पनि खतरनाक अवस्थामा पु¥याउने अवस्था सिर्जना गरिएको छ । जनतालाई क्षणिक भ्रम दिन पाँचसय मिलियन डलर अमेरिकाले दिंदैछ भनेर भ्रम बाँडिएको छ । १३० मिलियन डलर त नेपाल आफैले हाल्नु पर्दछ । केवल ५ सय मिलियन डलरको खेलो देखाएर राष्ट्रिय स्वाधीनतालाई बिक्री गर्ने र अमेरिकी सेना नेपालमा उतारेर देशलाई कुरुक्षेत्र बनाउने काम यतिबेला डबल नेकपाको ओली सरकारले गरिरहेको छ ।
यद्यपि राष्ट्रघात हुन नदिन विगतदेखि नै नेकपा –क्रान्तिकारी माओवादी)ले निरन्तर रुपमा संघर्षका माध्यमबाट खबरदारी गर्दै आएको कुरा सर्वविदितै छ । अन्य दश दल लगायत विभिन्न तबरबाट एमसीसीका विरुद्ध लागिरहेका अभियन्ताहरुलाई समेत लिएर संयुक्त रुपमा आन्दोलनका कार्यक्रम भइरहेका छन् । बाहिर भएका संघर्षका कारण स्वयम् डबल नेकपाभित्र पनि एमसीसीका विरुद्ध मोर्चाबन्दी भएको छ । यसरी हेर्दा एमसीसीजस्तो घातक सम्झौता हुन दिनु हुँदैन भन्ने मोर्चा वास्तवमा नै बलियो बनेको छ । तर अमेरिकी साम्राज्यवादको नांगो दलाली गर्ने बलियो एउटा झुण्ड कांग्रेस लगायत कतिपय समुह वा व्यक्तिहरु सदनबाट पास गराउन टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन् ।
त्यसैले राष्ट्रियताको लडाइँ निकै पेचिलो बनिरहेको छ । सबै प्रकारका देशभक्त परिवर्तनकामी पार्टी, समुह, अभियन्ता वा व्यक्तित्वहरुसँग व्यापक छलफल, बहस गर्दै आन्दोलनको मोर्चा विस्तार गर्न आवश्यक छ । त्यसको नेतृत्व नेकपा –क्रान्तिकारी माओवादी)ले गर्न आवश्यक छ । क्रान्तिकारीका अगाडि आइपरेको यो एउटा अवसर पनि हो । चुनौतीहरु पनि छन् । चुनौतीको सामना गर्दै अगाडि बढ्ने आँट, हिम्मत गर्न आवश्यक छ ।
४– अन्तमा, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरु यतिबेला अत्यन्तै विकराल बनेर आइरहेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाधीनताको सवाललाई लिएर आन्दोलन उठाउँदै जाने क्रममा आम जनतालाई क्रान्तिकारीहरुले यो पनि भन्नु पर्दछ कि विश्वव्यापी रुपमा पुँजीवादले साम्राज्यवादले विस्तारवादले सिर्जना गरेको अन्तरविरोधमा उनीहरु आफै फस्दै गएका छन् र स्वयम् अमेरिकाको आफैमा धाराशायी हुँदैछ र बर्बराउँदैछ । सेना र हतियारको रवाफ देखाएर तर्साउन खोज्दैछ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नेपालको दलाल सत्ता पनि नराम्रो गरी फस्दै गइराखेको छ । अझै फस्दै जाने र आर्थिक रुपमा समेत धाराशायी बन्ने निश्चित छ । यो अवस्था भनेको पुँजीवादी संकट हो । यसको समाधान भनेको नयाँ जनवादी क्रान्ति हो । यसैमा ध्यान केन्द्रित गरौं ।