महामारीसँगै देशभर बाढी, पहिरो र डुवानको कहर

महामारीसँगै देशभर बाढी, पहिरो र डुवानको कहर

काठमाडौं । कोभिड–१९ को महामारीका कारण अस्तव्यस्त नेपाली जनजीवनमाथि बर्खा लागेसँगै बाढी, पहिरो र डुवानको समस्या थपिएको छ । महामारीका कारण ३८ जनाले ज्यान गुमाइसकेको नेपालमा पछिल्लो हप्ता परेको अविरल बर्षाका कारण बाढी, पहिरो र डुवानमा परी करिब सयको हाराहारीमा मानिसहरुको मृत्यु भएको छ भने अझै दर्जनौं बेपत्ता अवस्थामा रहेका छन् । हजारौं परिवार विस्थापित बन्न पुगेका छन् ।
मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु¥याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ ।
मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको सरकारको गृहमन्त्रालयले जनाएको छ ।
उद्धार, राहत र पुनर्वासको व्यवस्थामा तीव्रता दिन देजमोको जोडदार माग
यसैबीच, केही दिन देखि लगातार भैरहेको अविरल वर्षाबाट आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा जन धनको ठुलो क्षति भएको खबरले दुखित भएको उल्लेख गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुका परिवारलाई उचित राहत, बेपत्ता भएकाहरुको खोजी र घाइते भएकाहरुको उपचारका काम अविलम्ब गर्न सबै तहका सरकारसँग जोडदार माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले आइतबार एक वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “हरेक वर्ष घटने यस प्रकारका प्राकृतिक घटनालाई मानवीय प्रयासबाट धेरै कम गर्न सकिन्थ्यो । तर, सत्तामा रहेकाहरुको यसमा ध्यानै नभएको हुनाले यी विपद्हरु हरेक वर्ष घटिरहने प्रकृयामा छन् । यस पटक पनि यो प्राकृतिक विपत्ती नेपालीको घर आँगनमा आइपुगेको छ । यसमा परेर धेरै जनाले ज्यान गुमाउनु भएको छ, धेरै जना वेपत्ता हुनु भएको छ, कतिपय घाइते हुनु भएको छ । ज्यान गुमाउनेहरुका परिवारलाई उचित राहत, बेपत्ता भएकाहरुको खोजी र घाइते भएकाहरुको उपचारका काम अविलम्ब गर्न सबै तहका सरकार सँग हामी जोडदार माग गर्दछौं । विपदमा परेका परिवारहरुलाई खाद्यान्न, लत्ताकपडा आदिको सहयोगका साथै जमिन नहुने परिवारलाई पुनर्वासको व्यवस्था गर्न पनि माग गर्दछौं ।”
कहाँ कहाँ कति भयो धन जनको क्षति ?
प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । रौतहट, महोत्तरी, बाँके, बर्दिया, पर्सा, धनुषा लगायत भारतसँग सीमा जोडिएका जिल्लाहरुमा डुवानका समस्याहरु बढ्न लागेका छन् र हजारौ मानिसहरु विस्थापित हुने क्रम बढेर गएको छ ।
बाढीपहिरोमा शुक्रबार बेपत्ता भएका म्याग्दीका २७ जना र जाजरकोटका दुईजनाको शनिबार शव फेलापरेको छ । गुल्मी र म्याग्दीमा थप एक–एकजनाको मृत्यु भएको छ । देशभर ३२ जना अझै बेपत्ता छन् । तीन दिनमा बाढीपहिरोबाट हजारौं परिवार विस्थापित हुन पुगेका छन् ।
प्राप्त विवरण अनुसार संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा शनिबार राती गएको पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा–आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।
त्यस्तै म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जाली तथा मालिका गाउँपालिका– ७ बिमका विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीलगायत २७ जनाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजंग कुँवरले जानकारी दिए । उनीहरूमध्ये दुईजनाको शव शुक्रबार नै भेटिए पनि सनाखत हुन सकेको थिएन । त्यस्तै, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका नलिमान छन्त्यालको पनि शुक्रबार नै मृत्यु भएको थियो ।
शुक्रबार बेपत्ता भएका ३१ मध्ये तीनजना सम्पर्कमा आएका छन् भने चार अझै बेपत्ता छन् । मराङको पहिरोमा बेपत्ता भएका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली र अर्जुन जुग्जाली २४ घन्टापछि शनिबार सम्पर्कमा आएका छन् । मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका अझै भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले पूरै गाउँ नै बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा बेपत्ता नौ जनाको शव फेला परेको छ । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीयले बताएका छन् ।
वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् ।
पाँच सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेका छन् । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन ।
सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला संयोजक रामबहादुर बुढा राजनले जानकारी दिए । राजनले एक वक्तव्य जारी गरी बाढी पहिरोबाट पीडित घरपरिवारलाई आवश्यक राहत उपलब्ध गराउनका लागि सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएका थिए ।
वक्तव्यमा भनिएको छ, “कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनीने बारेकोट गाउँपालिका वडा नं. ४ अन्तर्गत जिरी गाउँमा असार २५ गते राती भएको भिषण वर्षाका कारण आएको पैरोमा परि उत्पीडित वर्ग अन्तर्गत पर्ने सार्र्की समूदायका २ घर बगाएको छ । दुई घर परिवार र पाहुना गरी १२ जनाको मृत्यु भएको, ६ जना घाइते र ४ जना बेपत्ता रहेको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।
नेपालमा भूकम्प, नोभेल कोरोना भाइरस, सलह आदि जस्ता चुनौति मात्र नभइ बाढीपहिरोबाट पनि उत्तिकै धनजनको क्षति भएको र अरु हुने स्थिति देखा परिरहेको वक्तव्यमा उल्लेख गर्दै संयोजक राजनले बाढिपहिरोमा बेपत्ता हुनेहरूको खोजी, घाइते व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य उपचार, मृतक घरपरिवारलाई आवश्यक राहत उपलब्ध गराउनका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ ।
त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएको छ ।
यसैबीच बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ । पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।
पहिरोको जोखिममा रहेका म्याग्दीका आठ सय ९६ जनाले घर छोडेका छन् । प्रहरीका अनुसार धवलागिरि गाउँपालिकाका पाँच सय ९०, मालिकाका एक सय ९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूमध्ये सातजनाको बेनी अस्पताल, चारको मणिपाल शिक्षण अस्पताल पोखरा र एकजनाको काठमाडौंमा उपचार भइरहेको छ ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा शनिबार कुलो बनाइरहेका एकजनाको पहिरोको ढिक्सोले पुरिएर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा खोलाले बगाएका एकजना पनि मृत अवस्थामा फेलापरेका छन् । दुवैजनाको सनाखत हुन सकेको छैन ।
बाढी र पहिरोमा बेपत्ता भएका सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसी गाउँपालिकाका २० जना तीन दिनसम्म भेटिएका छैनन् । लगातार वर्षा भइरहेकाले उनीहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा २१ जना बेपत्ता भएका थिए । शुक्रबार बेपत्ता भएका भोटेकोसी गाउँपालिकाको लार्चाका नांगे मगरको जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी र पहिरोले घर बगाउँदा त्यहाँका पाँच सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय कोदारी मावि र लार्चाको सुक्खा बन्दरगाहस्थलमा राखिएको छ ।
त्यस्तै बझाङ्बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता भएका छन् । केदारस्युँ गाउँपालिका– १ देउराका १३ वर्षीय रोशन नेपाली र वडा नम्बर ४ का १४ वर्षीय जगत अधिकारी बेपत्ता भएका हुन् ।
यता धरान स्थानीय सर्दु खोलामा आएको बाढीले धरान उपमहानगरपालिका– १३ राईटोलका पूर्वभारतीय सैनिक रामबहादुर बस्नेतलाई बेपत्ता पारेको छ । घरदेखि खोलापारि गोठमा जानेक्रममा उनलाई बगाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
लगातारको बर्षाका कारण लमजुङका धेरै गाउँ पहिरोको जोखिममा परेका छन् । दोर्दी गाउँपालिका– ८ दुवारको मगरगाउँका २६ घरधुरी पहिरोको जोखिममा परेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताएका छन् । स्थानीय दलबहादुर रानामगर, हिता रानामगर, कुमराज रानामगर, आइतबहादुर मगरलगायतको घरवरपरको जमिन भाँसिएको छ । त्यस्तै, वडा नम्बर ८ खिन्चोक र वडा नम्बर ६ ढोडेनीका चार–चार घर पनि पहिरोको जोखिममा रहेको अध्यक्ष गुरुङले बताए । उनीहरूको घरभित्रको जमिनमै चिरा परेको छ ।
नवलपरासीमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड १० घन्टापछि खुलेको छ । पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीमा बिहान चार बजेतिर बाढीले डाइभर्सन बगाएको थियो । दिउँसो दुई बजे मात्रै यातायात सुरु भएको थियो ।
नदीमा पानीको सहत बढ्दै गएर शनिबार नदीले खतराको चिह्न छुन लागेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन माइकिङ गरिएको छ ।
कमलामा पानीको सतह बढेपछि कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिकाका सात गाउँका बासिन्दा जोखिममा परेका छन् । गत वर्ष पनि बाढीले यी गाउँमा क्षति पु¥याएको थियो । गत वर्ष बाढीले कमलाको पूर्वी तटबन्धसँगै जोडिएको चतरी, बेल्हा र बसबिट्टाको सात ठाउँमा भत्काउँदा दर्जनौँ गाउँ डुबानमा परेका थिए । पूर्वीतटीय क्षेत्रका एक हजार आठ सय ७३ परिवार विस्थापित भएका थिए भने चार हजार दुई सय सात परिवारको घर डुबानमा परी क्षति पुगेको थियो ।
अविरल वर्षासँगै आएको बाढीले झापाका ११ परिवार विस्थापित भएका छन् । कैयौँ परिवार डुबानको उच्च जोखिममा रहेका छन् । शनिबार माई खोलामा आएको बाढीले शिवसताक्षी–८ को सुकुम्बासी बस्तीका पाँच र गौरीगन्ज गाउँपालिका–१ हुकलबारीका एक परिवार विस्थापित भएका हुन् । यसअघि शिवसताक्षी–८ का पाँच परिवार विस्थापित भएका थिए । सुकुम्बासी बस्तीका १० र हुकलबारीका १५ परिवार जोखिम रहेको बताइएको छ ।
लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतको दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।
अविरल वर्षाका कारण ४ नं. प्रदेशका लगभग सबै जिल्लाहरुमा भिषण वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको घटनाले हामीलाई अत्यन्तै दुखित बनाएको भन्दै क्रान्तिकारी माओवादीका पीवीएम तथा ४ नं. प्रदेश सचिव केशबहादुर परियारले एक वक्तव्य जारी गर्दै यस प्रकारको महाविपदमा परी ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् र परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गगरेका छन् ।
वक्तव्यमा भनिएको छ, “बिहीबार राती गएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिएका छन् । ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोले यातायात सम्पर्क विच्छेद हुदाँ क्षतिको यकिन हुन सकेको छैन । पहिरोमा थुप्रै व्यक्ति बेपत्ता भएको बझिएको छ भने कैयौ व्यक्तिहरु बिचमा फसिरहेको जानकारी आएको छ । तर खराब मौसमका कारण उनीहरुको उद्धार हुन सकिरहेको छैन । गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगाएको छ । म्याग्दी जिल्लाका कैयौ गाउँपालिकाहरु तथा मुस्ताङ जिल्लामा पूर्ण रुपमा यातायात सम्पर्क विच्छेद भएको छ । अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबार राती गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पोखरा १८ सराङ्ककोट, पोखरा २५ हेमजा र पोखरा २६ लेखनाथमा पहिरोले पुरिएर मृत्यु भएको छ भने कैयौ घाईते भएका छन । घाईतेहरुको पोखरा मनिपाल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । अविरल वर्षाको कारण पोखराको रामघाटस्थित सेती नदी थुनिदा सुकुम्बासी बस्ती डुवानमा परेको छ । ठलो संख्यामा पुशपन्छी र धनमाल बगाएको छ र ठलो क्षति भएको छ । बिहीबार राति गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अन्य घाईतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । तनहँु जिल्लामा सेती नदीमा आएको भीषण बाढीका कारण शुक्लागण्डकी नगरपालिका ४ र ८ नं. वडामा पर्ने पुलचोक आसपासका करिव ४२ घर परिबारलाई अन्यत्रै सारिएको छ । गत तीनदिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ भने विद्युत प्रसारणमा समेत अवरोध भैरहेको छ । सम्बन्धित निकाएको अबिलम्भ ध्यान जाओस र विद्युत प्रसारणलाई सुचारु गरियोस् ।”
वक्तव्यमा अगाडि भनिएको छ, “सिद्धार्थ राजमार्ग, पृथ्वीराजमार्ग र पोखरा बाग्लुङ्ग मार्ग अवरुद्ध भएका छन । मौसमविदहरुको भनाई अनुसार अझै तिन चार दिन ठूलो वर्षा हुन सक्ने र त्यसबाट अकल्पनीय जनधनको क्षति हुन सक्ने कुरा बताई रहेका छन । त्यसैले सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौं । घटनामा परी ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । परिवारजनप्रति समवेदना र पीडित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं । बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन र जोखिममा रहेकालाई सबैलाई उद्धार गर्न र घरबाँस गुमेर विपदमा परेकाहरुलाई पुनस्र्थापना गर्न हामी केन्द्र सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछौं ।”
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै एक हप्तासम्म बर्षा हुने सम्भावना रहेको छ ।
कोभिड–१९ को महामारी, भोकमरी, सलहको चपेटामा परेका जनतामाथि बाढीपहिरोले आक्रान्त र अस्तव्यस्तमा पर्दा सरकारले भने उद्धार र राहतमा तदारुकता देखाउन सकेको छैन । घाइतेहरुको उद्धार र उपचार समयमै नहुँदा ज्यान गुमाउने जनताको संख्या बढिरहेको छ । पीडितहरुले राहत नपाउँदा भोकभोकै खुल्ला आकाशमुनि रात बिताउनु परिरहेको छ भने विस्थापितहरुको पुनर्वासको व्यवस्था सरकारले गर्न नसकिरहेको पीडितहरुले गुनासो गरिरहेका छन् ।