कामरेडपुत्रीको बिहे

प्रकाशित मिति : २०७७ असार २९

- हिरामणि दुःखी

मलाई आज निकै जरुरी पारिवारिक कामले व्यस्त हुनु पर्ने थियो । तर पनि फुर्सद पाउन सकिएन । आज पनि घरको काम थाँती नै राख्नु पर्ने भयो । सँधै अरूकै निम्ति दौडँदा दौडँदै जुनी बित्ने पत्रकारको जीवन । आफ्नो निम्ति कहिल्यै समय पुग्दैन । चाड पर्व, राम रमितामा पनि अरूकै निम्ति दौडेरै बित्छ समयको चक्र । सामान्य बिरामी पर्दा समेत सुख पाइँदैन । हप्तामा एक दिन पर्ने बिदाको समय पनि घर र परिवारका निम्ति खर्च गर्नै पाइँदैन । कहिले के कार्यक्रम भन्यो दौडियो, कहिले कोसँग भेटघाटमा कुद्यो । कहिले नेताहरूका गन्थन सुनिदिन उनका दैलो चाहार्दा चाहार्दै हैरान हुन्छ । बिदा नपरेको दिन पारिवारिक काममा अल्झिनु पर्ने भयो भने पनि सट्टाबिदा लिनु पर्छ । पारिवारिक काम भनेर बिदा लियो तर कुद्नु पर्छ अर्कैका निम्ति । यो पत्रकारको जीवन पनि तनावकै जीवन रहेछ । ‘के जातिको काम पनि छैन फुर्सद पनि छैन’ भने जस्तो । दिनहुँ कुदेको कुद्यै गर्नु पर्ने तर देखिने गरी कामको नापो ग¥यो भने हात लाग्यो शून्य जस्तै ।
आज बिहेको निम्तो मान्न जानु थियो । बिहेको निम्ता भनेपछि नगई हुँदैन । हाम्रो परम्परा, समाजको चलनै यस्तै छ । छोराको बिहेको निम्तो भए त, नजाँदा पनि त्यति फरक पर्दैन । ‘भोज खाने त हो नगए पनि के फरक पर्छ र’ भन्न हुन्थ्यो । तर छोरीको बिहेको निम्तो प¥यो । नजाँदा अनर्थ मान्छ समाजले । ‘दाइजो दिनका दुःखले ऊ… फलानो त आएन’ भन्छन् छरछिमेकी । कुरा काट्नेहरूको मुख कस्ले थुन्नु ? फुर्सदिला मान्छेहरूको धन्दै अरूको कुरा काटेर दिन विताउनु हुन्छ । अक्सर नेपालीहरूको चलन हो यो । संस्कृति नै बनिसकेको छ । घर परिवारले पनि आएन भनेर गुनासो गर्छन् । पछि भेट हुँदा पनि कताकता अप्ठ्यारो महसुस हुन्छ आपूmलाई । त्यसैले पनि नगई हुँदैन । गाउँघर छरछिमेकी, दाजुभाइ, नातेदार, साथीसँगी, पार्टीका चिरपरिचित नेताहरूका छोरी बहिनीहरूको बिहेमा जाँदाजाँदै कम्ति खर्च हुन्छ ? वर्षभरीको खर्च जोड्ने हो भने आफ्नो परिवारको एकडेढ महिनाको गर्जो टर्ने जति पुग्छ । वाह्यातको खर्च । कति खर्चालु हुँदैछन् हाम्रा धर्म संस्कारहरू । पहिला पहिला इण्डियनहरूको आलोचना गथ्र्यौं हामी, यो बिहेको भड्किलो खर्च र दाइजो प्रथाको । पछि इण्डियाको प्रभावले छोएको हाम्रै मधेशी समूदायका नेपालीहरूमा त्यो रोगले सताएको भनिन्थ्यो । अहिले त पाहाडी समुदायमा पनि यो बिहेको तडकभडक, तामझाम र दाइजो प्रथाले यति बिकृत बनायो कि कुरै गरिसाध्यै छैन ।
जनयुद्धकालमा माओवादीले जनवादी विवाह गथ्र्यो । जनसत्ता चलेका गाउँ समाजमा त गाउँका जनताले पनि यसको सिको गर्न थालेका थिए । अन्तरजातीय विवाहलाई पनि निकै प्रोत्साहन दिन्थ्यो माओवादीले । जनयुद्ध रोकेर माओवादी शान्ति प्रकृयामा आयो । समाज र राष्ट्रलाई बदल्ने भनेको माओवादीका धेरै नेता कार्यकर्ता आफैँ बदलिए । त्यो पनि उल्टो दिशातिर । माओवादीले स्थापना गरेका संस्कार संस्कृति धमाधम आफैँ भत्काउन थाले । सबै पुरानैमा फर्किए । धर्म र जातीय प्रथा यथाबतै रह्यो । संस्कार संस्कृति पुरानैमा फर्कियो । रिती परम्परा र चालाचलन उस्तै भयो । खानपिन, बसउठ, आचरण, व्यवहार खाँट्टी सामन्तकालिन । पार्टीमा पनि विचारको बहस भयो । योजना र नीति मिलेन । पार्टी फुट्यो । एउटा पक्ष सडकमै गयो अर्को सिँहदरबार छिरेको छि¥यै भयो ।
जे होस् बिहेको निम्तो मान्न आज म हलचोक पुगेको थिएँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकको पार्टीप्यालेस । सामान्य मानिसले यो प्यालेस बुक गर्ने हिम्मत त के कल्पना पनि गर्न सक्दैन । उनी त ‘कामरेड’ न परे । त्यो पनि तिनै पुलिससित युद्धमा आमनेसामने लडेर आएका फौजी कमाण्डर । पुलिस र सेनाको जागिर पनि बडा विचित्रको छ । कहिले गोली ठोक्नु पर्ने कहिले सलाम ठोक्नु पर्ने । यतिबेला सलाम ठोक्नु पर्ने भएको छ ‘कामरेड’लाई । आफ्नै विभागीय मन्त्री खाइसकेको हुनाले पनि कामरेडलाई पार्टी प्यालेस उपलब्ध गराएको होला सशस्त्रको हेडक्वार्टरले ।
उच्च ओहोदामा रहेका र सम्भ्रान्त घरानियाँहरूले मात्रै प्रयोग गर्न सक्छन् यो पार्टी प्यालेस ।
कामरेड पुत्रीको बिहेको शुभसाइतको दिन हो आज । कामरेड ‘आजाद’की छोरी सामना शर्माको बिहे । दरबारिया खानदानकी कन्या भन्दा कम छैने ऊ । न्युरोडको रिद्धिसिद्धि ज्वैलर्सका गहनाले झकिझकाऊ छे ऊ । ‘मलाई त यो गरगहनामा रुची छैन तर के गर्ने आपूmले भनेर नहुने रैच । आमाहरूले मान्दैनन् । आफन्तहरूले घेरा हालेर हैरान पाछैन् । ‘साथीहरूले कस्तो खिसी गर्छन् बुच्चै हुँदा’, भन्छे छोरीले, – कामरेडले अरूलाई सुनाए । ‘ऊ हेर्नुस् त गहनाको जुलुस्’ निम्तालुहरूप्रति सङ्केत गर्दै देखाए । दुलहीका आमा, फुपू, सानिमा, माइजूहरू गहनाले झपक्कै छन् । दुलहीका सँगिनीहरू, उच्च पदस्त व्यक्तिका श्रीमतीहरू सबै गरगहनामा ठाँटिएरै आएका छन् । मानौँ त्यहाँ गहना प्रदर्शनको मेला लागेको छ । यस्तो छ बिहेमा उपस्थित निम्तालुहरूका फेसन । फेसन शो भने पनि फरक पर्दैन ।
जन्तीको पर्खाइमा तैनाथ छन् माइतीपक्ष । अर्थात् कामरेड आजादका निम्तालुहरू । कामरेड आजादको नागरिते नाउँ त धनन्जय शर्मा हो । युद्धकालका प्रभावशाली नेता । फौजी कमाण्डर । यतिबेला भने उनको पार्टी सूर्यछाप पार्टीमा विलय भएको छ । उसो त अहिले पनि पार्टीको हाइकमानलाई प्रभावित गर्न सक्ने हैसियतमै छन् उनी ।
मञ्च धुमधामसित सजाइएको छ । ध्वजापताका र झिलिमिलि बत्तीहरूले झकिझकाऊ छ । पुष्पमाधुर्य वातावरणले मोहक बनाएको छ । धुपको बासनाले प्यालेसहल सुगन्धित छ । पूर्व प्रधानमन्त्रीहरू, बहालवाला मन्त्रीहरू र सांसदको उपस्थिति बाक्लो छ । उच्च दज्र्यानी पुलिसहरू, आर्मीका मेजरहरू र उच्च अधिकृतहरू पनि कार्यक्रमको निम्तोमा तैनाथ छन् । सचिव, सह–सचिव, पूर्वसचिवहरू औपचारिक पोसकमा उपस्थित छन् । पार्टीका स्थायी कमिटी सदस्यदेखि देशका ठूला ब्यापारी, उद्योगीहरू पनि बिहेमा बोलाइएका छन् । ठेकेदार र केही म्यानपावर कम्पनीका डाइरेक्टरहरू पनि उपस्थित छन् । देशका ठूला मिडियाका सम्पादक र प्रकाशकहरूको झुण्ड पनि निकै ठूलो छ । म पनि त्यही झुण्डमा गएर मिसिएँ । सबैका आआफ्नै पेसा र वर्ग अनुसारका झुण्ड । नमस्कारको आदान प्रदानपछि एउटा कुर्सीमा थपक्क बसेँ । सबैका आआफ्नै गफगाफ छन् । एक प्रकारले भन्ने हो भने विजयउत्सव मनाउन भेला भएको जस्तो छ परिवेस । खसी, च्याङ्ग्राका मासुका विभिन्न परिकारका सुगन्ध बेग्लै छ । ब्रोइलरका रोष्ट, फ्राइमाछादेखि भिभिआइपिहरूका भान्सामा पाक्ने विभिन्न जातका मासुका पक्वानले उपस्थित निम्तालुहरूको नाक ठोँसीरहेको छ । मुख रसयुक्त बनाएको छ । रेडलेबल, ब्ल्याकलेबल, स्याम्पेन, मार्फाली वाइनले पाहुनाको प्रतिक्षा गरिरहेका छन् । कोक, स्प्राइट, पेप्सी आदि इत्यादि सबैथोक छ त्यहाँ । चियर्सको पर्खाइमा छन् टेवलहरूमा सजाइएका गिलास । इच्छानुकूलका ड्रिङ्सको ब्यवस्था छ । हलुकादेखि कडासम्म । फलपूmलको छेलोखेलो त्यस्तै छ । बासमती चामलको पुलाऊ पाकेको छ । खानाका सबै परिकार छन् । सुगर, प्रेसरका विरामीहरूलाई पनि त्यस्तै प्रकारको खानाको व्यवस्था छ । खाने अनुपतिको पर्खाइमा छन् सबै ।
जनयुद्धले धनयुद्धको बाटो समाएपछि मन्त्री पद अक्सर छुटेको छैन उनलाई । यसपाली भने केके नमिलेर हो मन्त्री हुन पाएका छैनन् । तर पनि सानसौकत र रवाफ मन्त्री भन्दा कम छैन उनको । पार्टीमा सबैसबैलाई टेर्दैनन् उनले । कतिपय त बहालवाला मन्त्री पनि उनकै भित्री निर्देशनमा चल्छन् । कामरेड आजाद, साँच्चिकै आजाद छन् । पार्टीमा त आजादमै हुन्छन् हरबखत । यतिखेर पनि पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएकै छन् ।
‘संसदीय व्यवस्थामा सत्ता र शक्तिमा भइएन भने त कसैले टेर्दैनन् । नेताको भ्यालु नै हुन्न ।’ आफुसित भेट गर्न आउनेहरूलाई भन्ने शूत्र वाक्य हो यो कामरेड आजादको । ‘जनयुद्ध छोडेर यो व्यवस्थामा नआउनु थ्यो’ आइयो । अब लरतरो भएर बसिँदैन । पञ्च, काङ्ग्रेस, एमालेहरूले मस्ती लिन हुने हाम्ले लिन नहुने काँ’ छ नियम ?’ आफ्नो प्रभाव र आदेशभित्र रहने कार्यकर्ताहरूलाई सुनाउने कासन हो यो । युद्धका कमाण्डर भएकाले होला उनका हरेक वाक्य यस्तै कासनयुक्त नै हुन्छन् ।
युद्धका बेला शीर्ष नेतासित पौँठेजोरी खेलेको दम छ उनीसित । आपूmभन्दा तल्ला तहका र आफ्ना समवयीलाई त घरका नोकरचाकर जस्ता ठान्छन् । सबै फुच्चे र बिचरा लाग्छन् उनलाई ।
‘जनयुद्धले बाटो मोडेपछि उनको त भाग्य नै सप्रियो,’ उनका आलोचकहरूले भन्ने गर्छन् ।
‘उनको मात्रै हैन उनीजस्ता टाठाबाठाका लागि त भएको रहेछ जनयुद्ध ।’ जनयुद्धमा ज्यान गुमाएका सहिदका परिवार, सडकछाप बनेका कार्यकर्ताहरूले टिप्पणी गर्छन् अचेल ।
अन्तरिम कालदेखि लगातार माननीय बनेका छन् कामरेड आजाद । काठमान्डु छिरेदेखि आफ्ना छोराछोरी, भाइभतिजा, सालासालीहरूलाई जागिरको मेसो मिलाइदिएका छन् ।
जनयुद्धमा आपूmसित सँगै लडेका योद्धाहरू, आफ्नो आदेशमा ज्यान फालेर लागेका कार्यकर्ताहरू कोही पनि उपस्थित छैनन् बिहेमा । किनकि उनीहरूसित कामरेड आजादको न त हैसियत मिल्छ, न त वर्ग मिल्छ । बरू धेरै कार्यकर्ता त उनको खरो आलोचक पो बनेका छन् त अचेल । छोरीको बिहे गर्दा जनयुद्धका घाइते योद्धाहरू, सहिद परिवार कसैलाई निम्तो गरेनन् । युद्धमा लामो समय सेल्टर लिएर बसेका घरपतिहरू कसैलाई सम्झन आवश्यक ठानेनन् उनले । बोलाएर पनि के गर्नु ? तिनीहरूले यो बिहेको स्तर धान्न सक्ने कुरो पनि थिएन सायद । माओवादी नेताले यस्तो भड्किलो बिहे गरे भनेर आलोचना गराउन किन बोलाउने ? बोलाउन आवश्यक ठानेनन् ।
अध्ययन भिसामा अमेरिका गएपछि उतैको एनआरएन बनेका उद्योगपतिको छोरासित लभ परेको थियो सामनाको । तीन चार बर्से मायाँप्रितिपछि मागी बिबाह गर्ने निधोमा पुगेका हुन् सामना र उसको लभर उज्ज्वल न्यौपाने । त्यसपछि बिहेका लागि केटाका परिवार, नाता कुटुम्ब र कलेजका साथीहरू नेपाल आएका थिए । काठमान्डुको एक महिनाको बसाइपछि बिहेको साइत जु¥यो ।
केही समयको प्रतिक्षापछि नौमति बाजा सहित जन्ती टोली पार्टी प्यालेसमा भित्रियो । हल नौमती बाजाले गुञ्जायमान भयो । दुलाहाको स्वयम्बरपछि उनीहरू बिहेको मण्डपतिर लागे । उता खानपिनको रमझम पनि सुरु भयो । खानपिनको रमझम सँगसँगै हलको दायाँपट्टी दाइजो सङ्कलनको काम पनि चलिरहेको छ । दाइजो सङ्कलनमा कामरेड आजादका भाइ र पिए जुटेका छन् । सत्तासिन पार्टीका प्रभावशाली नेताकी छोरीको विहे । राजतन्त्रकालमा राजपरिवारका बिहेबरूमा सहभागी हुने औकातकै छन् माइतीपक्षका निम्तालु । दाइजो पनि सोही दर्जाको उठ्ने नै भयो ।
बिहेका सबै प्रकृयाहरू हिन्दू धार्मिक परम्परागत रूप र शैलीमा सुसम्पन्न भयो । सम्धी मेलो पनि सकियो । सम्धी मेलोमा दुलाहा तर्फका सम्धीहरूलाई दिने गहना र कपडाका सुटकेशहरू पनि निकै मूल्यवान नै थिए ।
कामरेड पुत्रीको विहेमा निम्ता नगरेको भनेर सामाजिक सञ्जालहरूमा ब्यापक गुनासोको बाढी आयो । असन्तुष्टीले भरिएका स्टाटस र कमेन्टहरू छरपष्टै भए । गुनासो र असन्तुष्टी गर्नेहरू कामरेडकै युद्धकालिन कार्यकर्ताहरू थिए । आफ्नै कमानमा युद्धका ठूलठूला फौजी मोर्चाहरूमा एसाल्टमै लडेका जनसेनाहरू । बहिर्गमित भएर खाडी पसेकाहरूले पनि निकै गुनासाका पोका पन्तुरा खोले ।
फेसबुक र टुइटरका भित्ताहरूमा पोखिएका आक्रोस यस प्रकार छन् –
‘युद्धकालमा जनवादी विहे गर्नु पर्छ भनेर भाषण गर्ने नेताको के चाला हो यो ?’ एउटाले लेख्यो ।
‘अहिले त आर्थिक क्रान्ति गर्नु पर्छ भन्छन् त नेताहरू । अब त धनयुद्ध सुरु भयो क्या ।’ अर्कोले टिप्पणी ग¥यो ।
‘जनवादी विहेको साटो धनवादी विहे । देख्नुभएन धनको ओइरो ! चुनाव जित्ने पनि यस्तै तरिकाले हो ।’ तेस्रोले टिप्पणी ग¥यो ।
‘ओहोहोहो….. हेर त दुलही र तिनका आमाहरूका गहना !!’ फेटो सहित पोष्ट ग¥यो एउटाले ।
‘यीनलाई हो भाटे कारबाही गर्नु पर्ने ।’ आक्रोस पोख्यो एउटाले ।
‘थुइक्क… लाज पचेका नकचरा नेताहरू ।’
‘समाज रुपान्तरण गर्न युद्ध लडेका नेताहरूको संस्कृति नै यस्तो भएपछि समाजबाट पुरातन रुढिवादी मान्यता र अन्धविश्वास कसरी हट्छ ? जनताले के सिक्ने ?’
आदि इत्यादि ।
२०७६ माघ २८, घट्टेकुलो ।