नेकपा ः ओलीजीको अचुक अस्त्र

सी पी गजुरेल

प्रकाशित मिति : २०७७ असार २६

सरकारी नेकपाको नेतृत्व तहमा अहिले जुन एक प्रकारको वाक् युद्ध र खिचातानी चलि रहेको छ, त्यसले नेपाली समाजलाई पनि प्रभाव पारेको छ । नेपाली समाज यतीखेर कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । ओली नेतृत्वको यो सरकारको हद दर्जाको गैर जिम्मेवारी र चरम भ्रष्टाचारका कारण पैmलिने वातावरण पाएको यो महाव्याधीका कारण अहिले आएर बेरोजगारी र, अभाव पैदा गराएर समाजका धेरै क्षेत्रलाई लथालिंग पारेको छ । यसबाट कसरी उन्मुक्ती पाउने भन्ने पीडा छ जनतालाई । नेपालले आफ्नो नक्शा प्रकाशित गरेको कारण भारतीय विस्तारवादबाट हस्तक्षेपका घटनाहरु झन् झन् बढदै गएका छन् । ओली सरकार र नेपाली कांग्रेसलाई एमसीसी सम्झौता संसद्को यसै सत्रबाट पारित गर्न नसक्दा छट्पटी चलिरहेको छ । यी सबैबाट पीडित भएका जनता यी समस्याको समाधान गरिनु पर्छ भन्ने चाहना राखिरहेका छन् । यी सबै समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी त सरकार र सरकार संचालन गरिरहेको पार्टीको हो । तर, यतीखेरै नेतृत्व कस्ले हत्याउने भन्ने खेलमा सत्ताधारी पार्टीका नेता ज्यान फालेर लागेका छन् । मानौं उनीहरुलाई नेपाली जनताको पीडासँग कुनै मत्लव छैन । उनीहरुलाई जनताको पीडाले छोएकै छैन । उनीहरु धन आर्जन, पद प्राप्ती र शासन सत्ताको संचालनको बागडोर आफ्नो हातमा पार्ने बेला हो यो भने जस्तो गरी सत्ता संघर्षमा तल्लिन भएका छन् । बालुवाटार अहिले एउटा अखाडा भएको छ, यो भिडन्तको । कतीपय मन्त्रालयहरु अहिले नेकपाका भेला र बैठक स्थलमा परिणत भएका छन् । प्रधानमंत्री, मन्त्रीहरु सबै यसैमा व्यस्त छन् । समग्र सरकार नै कुनै न कुनै रुपमा यसमा संलग्न हुन पुगेको छ । त्यसले गर्दा इच्छा र चाँसो नहुँदा नहुँदै पनि नेपाली जनता यी गतिविधिबाट प्रभावित हुन वाध्य भएका छन् ।
किन नेकपामा चलिरहन्छ यो व्दन्द ?
जुन बेला दुई पार्टीहरु एमाले र माके मिलेर एउटै पार्टी नेकपा बन्यो, त्यसको केही दिन पछि नै यो पार्टीमा खिचलो पनि सुरु भयो । यसको मुख्य कारण के हो भने यो पार्टी जुन आधारमा बन्यो त्यो नै यस प्रकारको समस्या निम्त्याउनकालागि जिम्मेवार छ । ती दुई पार्टीको इतिहास तिर फर्केर हेर्दा यिनीहरु मिलेर एउटै पार्टी बन्ने संभावना देखिन्नथ्यो । कुनै समयमा यी दुबै वीचको सम्वन्ध शत्रुतापूर्ण थियो । त्यो अवस्था लामो समय सम्म नै रह्यो । यो एकता हुनु भन्दा केही दिन अघिसम्म पनि तत्कालिन ‘माओवादी केन्द्र’ र एमालेका वीचमा सम्वन्ध राम्रो थिएन । माकेले एमालेसंगको एकता भंग गरेर नेपाली कांग्रेससँग गठवन्धन बनाएर प्रचण्ड प्रधान मन्त्री बनेको घटना मानिसहरुले बिर्सिएका छैनन् । तर, केही महिना भित्रै उनीहरु नेकपा बनाउन तयार भए ।
त्यसमा एउटा सोचाईले काम गरेको छ ः यो लोकतांत्रिक गणतन्त्र, यो संसदीय व्यवस्थाको पुनस्र्थापना त गरियो, यो शासनको बागडोर कसरी आफ्नो हातमा लिने ? एक्लैले त त्यो हैकम जमाउन नसकिने भयो । दुबै पार्टीका नेताहरु यो काम पार्टी एकताबाट मात्र प्राप्त गर्न सकिने ठहरमा पुगे पछि यो एकता कायम भएको हो । यसमा सबैले आफुले के प्राप्त गर्न सकें ? अरुको भन्दा बढी प्राप्त गर्न सक्छु कि सक्दिन ? भन्ने हिसाब गर्छ । अहिले मुख्यत ःत्यसैको कारण पद, प्रतिष्ठा, लाभ, नातावाद, कृपावाद हावी भएको छ । त्यसैको अभिव्यक्ती अन्तर संघर्षमा देखापरेको छ । यतिखेर प्रधान मन्त्री केपी ओली बन्ने कि प्रचण्ड बन्ने ? पार्टीको अध्यक्ष को बन्ने ? भन्ने विषयबाट पैदा भएको स्थितिले समग्र पार्टीलाई नै आछु आछु पारेको छ । यस प्रकारको झगडा पार्टीका अन्य पात्रका वीचमा पनि हुनु स्वभाविकै हो । यसमा आश्चर्य मान्नु पर्ने केही छैन । ठिक यसै प्रकारको संघर्ष नेपाली कांग्रेसमा पनि वारम्वार चलिरहने गरेको त हामीलाई थाहै छ । नेकपा पनि त्यसै प्रकारको पुँजीवादी संसदीय पार्टी भएको हुनाले यसमा पनि त्यही चरित्र देखिनुलाई स्वभाविक मान्नु पर्दछ ।
यो दुईलाइन संघर्ष हो कि फगत् झगडा ?
यो अन्तर्संघर्षको प्रकृती हेर्दा यसमा केही राजनीतिक विषय र केही पद, प्रतिष्ठाका विषय भएको पाइन्छ । राजनीतिक विषय हो एमसीसी । केपी ओली पक्षमा भएकाहरु प्रायः सबै नै एमसीसी सम्झौता आवश्यक छ र यसलाई संसदले पारित गर्नु पर्छ भन्नेहरु नै छन् । अर्कातिर प्रचण्ड–नेपाल पक्षमा एमसीसी सम्झौता राष्ट्रघाती छ र यसलाई जस्ताको तस्तै पारित गर्नु हुँदैन भन्ने विचार राख्नेहरुको संख्या धेरै छ । यसलाई विचार गर्दा थोरै यो दुई लाइन संघर्ष पनि हो कि भन्न सकिन्छ । तर, त्यहीँ भित्रका धेरै जना नेता र कार्यकर्ता यसलाई दुई लाइन संघर्ष मान्न तयार छैनन् । उनीहरु यो “नेताहरुको कार्य विभाजनको समस्या हो”, “ व्यवस्थापनको समस्या हो” भनिरहेका छन् । त्यसैले उनीहरु कार्य विभाजन र व्यवस्थापनको विषय मिलेपछि यो समाधान भै हाल्छ भन्ने मान्यता राख्दछन् । यसको प्रकृतिलाई हेर्दा के देखिन्छ भने थोरै मात्रामा यो राजनीतिक मुद्दासँग जोडिएको दुई लाइन संघर्षको विषय हो र धेरै मात्रामा यो पद, प्रतिष्ठा, सुविधा सम्वन्धी झगडा हो ।
यतिखेर प्रचण्ड र ओलीका वीचमा भएको विवादको विषय नै २०७५ साल ज्येष्ठ २ गते भएको संझौता लागु गर्नेकि मंसिर ४ गते भएको संझौता लागु गर्ने भन्ने देखिन्छ । ज्येष्ठ २ गतेको सम्ुझौताको पक्षमा प्रचण्डले अडान लिइरहेका छन् भने मंसिर ४ गतेको संझौता लागु गर्नु पर्छ भन्ने पक्षमा ओली चट्टान जस्तो भएर उभिएका छन् । यसको कारण के हो भने ज्येष्ठ २ गतेको सम्झौतामा प्रधान मन्त्री आधा आधा समय बाँडेर चलाउने कुरा छ । मंसिर ४ गतेको सम्झौतामा प्रधान मंत्री ५ वर्ष नै ओलीजीले चलाउने र एक नं पार्टी अध्यक्ष ओलीनै रहने तर प्रचण्डले कार्यकारी अध्यक्ष भएर काम गर्ने भन्ने छ । यसबाट पनि यो झगडा मुख्यतः पद र प्रतिष्ठासँग नै जोडिएको छ भन्ने बुझ्न सकिन्छ ।
सबैको चासोको विषय छ ः यो झगडा कसरी टुंगेला ? कतै पार्टी नै फुट्ने त होइन ? भनेर चिन्तामा डुब्नेहरु पनि छन् । स्थायी समितिको बैठकले टुंग्याउनु पर्ने यो विषयलाई स्थायी समितिको बैठक नै एकहप्ता सम्मकालागि स्थगित गर्ने काम भएको हुनाले यसलाई लेनदेनको कुरा मिलाएर टुंगो लगाइने संकेतका रुपमा पनि बुझ्न थालिएको छ् ।
ओलीजीको अचुक अस्त्र ः भय दोहन
जनयुद्धलाई विसर्जन गरेर दुई दुई पटक प्रधान मन्त्री पद् हत्याउन सफल भएको हुनाले मानिसहरुले प्रचण्डलाई अवसरवादी तर, चतुर र धूर्त खेलाडी मान्दछन् । ओली पनि त्यस मामिलामा कम चर्चित छैनन् । यो पनि मानिएकै कुरा हो । दुइटै खेलाडी एउटै पार्टीका दुईवटा अध्यक्ष भैसके पछि कुन खेलाडीले कुन खेलाडीलाई पछार्ने होला ? भनेर तमासा हेरिरहेका मानिसलाई नेकपा को यो खेल चाख लाग्दो पनि भएको छ । घटनाक्रमले के प्रमाणित ग¥यो भने आखिरमा पचण्ड भन्दा ओली नै बढी धूर्त खेलाडी सावित भए । ज्येष्ठ २ गतेको सम्झौतामा अडिन सकेको भए सायद अहिले प्रचण्डको यस्तो हालत हुने थिएन होला । तर, ज्येष्ठ २ गतेको संझौतामा आफु माथि पर्दा पर्दै पनि प्रचण्ड मंसिर ४ गतेको संझौता गर्न राजी भए । त्यो भन्दा पनि अर्को अस्त्र छ ओलीजी सँग । ओलीले नेकपाका नेता देखि कार्यकर्ता सबैको नाडी राम्रो सँग छामिसकेका रहेछन् । दुई तिहाई बहुमत र ६ प्रदेशमा सरकारका नाममा नेकपाका नेता कार्यकर्ताले सुविधा र पद मात्र होइन ब्ह्म लुट नै मचाएका छन् । स्वर्गीय आनन्द लिइरहेका उनीहरुलाई यतीखेर ठुलो चिन्ताले सताएको छ । यदि पार्टी फुटी हाल्यो भने त्यो सबै गुम्ने हो कि ? पार्टी फुटाउने सामथ्र्य राख्दछन् भन्ने कुरा के पी अ‍ोलीजीले प्रमाणित गरि सके । उनी पार्टीलाई थाहै नदिई पार्टी फुटाउन सजिलो पार्ने अध्यादेशमा लालमोहर लगाउन सफल भए । कसैलाई थाहै नदिइकन नेकपा(एमाले) नाम गरेको पार्टी दर्ता नै गराउन लगाइसके । त्यसपछि पनि उनले संसदको सदनको अधिवेशन पार्टीका अर्का अध्यक्ष र सभामुखलाई पनि थाहै नदिई अन्त गराई सके । देशैभरी आफ्नो समर्थन र प्रतिपक्षी नेताहरुको हुर्मत लिने गरी विरोध जुलुस निकालेका निकालै छन् । आफ्ना पक्षमा नआउने मन्त्रीहरुलाई उनले आदेश दिइसके ‘कि मेरो समर्थन गर, कि राजीनामा देउ’ । प्रचण्डसँगको वार्तामा उनले घोषणा गरि सके “म प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनैबाट पनि राजीनामा दिन्न । तपाईंहरुले जे गर्न सक्नु हुन्छ, गरे हुन्छ । तपाईं कमिटीको बैठक राखेर मलाई कारवाही गर्नुस्, म अर्को पार्टी गठन गर्छु ।’ केपी ओलीको यो भनाई र गराईले पार्टीका नेता, कार्यकर्ता सर्बैको मुटुमा ढ्यांग्रो ठोक्ने काम गरेको छ । सबै ओलीजीसँग ‘दया गरेर पार्टी नफुटाइ दिनुस्’ भनेर विन्ती भाउ गर्दै छन् । ‘दोस्रो पुस्ताका नेताहरु’को जमात नै बनेको छ । मन्त्रालयमा बैठक बसेर उनीहरुले प्रस्ताव नै पारित गरी सके ‘पार्टी कुनै पनि हालतमा फुट्न नदिनका लागि जेसुकै गर्नु परे पनि तयार हुने’ । कोही युवा नेताहरु धुम्बाराई तिर धर्नामा बसेका छन् भन्ने सुनिन्छ ‘पार्टी कुनै पनि हालतमा फुट्न दिनु भएन’ भन्ने माग राखेर । ओलीजीलाई कारवाही गर्न तयार भएको भनिएको स्थायी समितिको बैठकलाईनै एक हप्ता पर सारी सकियो भन्ने खवर छ । अरु विषय हराउँदै गएर ‘पार्टी फुट्न दिनु हुँदैन’ भन्ने विषय नै सबैभन्दा प्रमुख भएर वा सबैलाई मिल्ने साझा माग बनेर आए जस्तो देखिन्छ सरकारी ने क पा मा । ओलीजीको अस्त्रले ठुलै काम गरे जस्तो छ ।
२०७७ । ३ । २६