क्रान्तिकारी माओवादी काठमाडौंले एमसीसीका विरुद्ध असार १५ गते विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति : २०७७ असार १२

- अनु निरौला

काठमाडौं । अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौंले असार १५ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी माओवादी काठमाडौंको शु क्रबार सम्पन्न जिल्ला सचिवालयको विस्तारित बैठकले असार १५ गते दिनको १२ बजे शान्तिबाटिका रत्नपार्कमा जम्मा भई नाराजुलुससहित असन इन्द्रचोकमा पुगेर विरोधसभा गर्ने निर्णय गरेको हो ।


बैठकले उक्त विरोध प्रदर्शनमा जिल्लाको सबै शक्तिलाई केन्द्रित गर्ने समेत निर्णय गरेको पार्टी जिल्ला सचिव खगेन्द्र छन्त्यालले बताए ।
सचिव छन्त्यालको अध्यक्षता र सञ्चालनमा सम्पन्न बैठकमा पार्टी पीवीएम प्रवेश, जिल्ला इन्चार्ज सरु लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा इलाका सेक्रेटरी तथा इन्चार्ज, विभागीय प्रमुख तथा सबै सचिवालय सदस्यहरुले कार्यक्षेत्रको रिपोर्ट राखेका थिए । रिपोर्टका क्रममा उठेका विषयवस्तु र समसामयिक राजनीतिक स्थितिमाथि केन्द्रित रहेर पार्टी पीवीएम प्रवेश र जिल्ला इन्चार्ज सरुले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।