एमसीसी खारेजीका लागि असार १४ गतेको विरोध प्रदर्शनमा सहभागी हुन प्रगतिशील सांस्कृतिककर्मीहरूको आव्हान

प्रकाशित मिति : २०७७ असार ११


काठमाडौं । प्रगतिशील सांस्कृतिककर्मीहरूको वैकल्पिक मोर्चा निर्माण अभियानले ‘राष्ट्रिय हितविरुद्धको एमसीसी खारेजीका लागि दबाब सिर्जना गरौं, असार १४ गते सांस्कृतिककर्मीहरूको अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ १४ गते माइतीघर मण्डलामा गर्न लागिएको विरोध प्रदर्शनमा सहभागिताका लागि सबै प्रगतिशील साँस्कृतिकर्मीहरुलाई सार्वजनिक आव्हान गरेको छ । प्रगतिशील सांस्कृतिककर्मीहरूको वैकल्पिक मोर्चा निर्माण अभियानले १० गते एक वक्तव्य जारी गरी १४ गतेको विरोध प्रदर्शनमा सहभागिताका लागि यस्तो आव्हान गरेको हो ।
वक्तव्यमा भनिएको छ, “साम्राज्यवाद अनेक रूप र रङ्गमा विश्वका विकासोन्मुख राष्ट्र र जनता तथा त्यहाँका प्राकृतिक सम्पदाको दोहन गर्न र आफ्नो सामरिक तथा सांस्कृतिक वर्चस्व कायम गर्न उद्यत छ । अमेरिकी साम्राज्यवादले संसारभरि आज यस्तै गरिरहेको छ । मुखले स्वतन्त्रता र मानव अधिकारको कुरा गरे पनि एक वा अर्को नाउँमा संसारको स्रोत कब्जा गर्नु, दलाल पुँजीका माध्यमबाट संसारभर तीव्र आर्थिक शोषण गर्नु तथा आफ्नो सामरिक वर्चस्व कायम गर्न युद्ध थोपर्नु उसको उदाङ्गो चरित्र हो । २०७४ देखि विकासे आवरणमा नेपालमा छिरेको एम. सी. सी. परियोजना त्यस्तै क्रियाकलापमध्येको एउटा गम्भीर परिघटना हो । यसका थुप्रै सर्तहरू र प्रावधानहरू यसरी निर्माण गरिएका छन् जसले कालान्तरमा नेपालको सार्वभौमिकतामाथि नै आघात पुर्याउने र विकासका नाममा नेपालको प्राकृतिक स्रोतसाधनमाथि दलाल पुँजीवादले कब्जा जमाउने तथा नेपाललाई अमेरिका र भारतको सामरिक वर्चस्वमुनि बन्धक बनाउने कानुनी हैसियत प्राप्त गर्नेछ । भविष्यको त्यो दुर्दिन नेपाल र नेपालीको राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि निकै त्रासदीपूर्ण हुनेछ र हामीसँग पश्चाताप गर्नुको विकल्प रहँदैन । त्यसैले हाम्रो राष्ट्रिय हितविरुद्धको घातक एम. सी. सी. परियोजनाका विपक्षमा देशभक्त, प्रगतिशील तथा साम्राज्यवादविरोधी शक्तिहरू एकजुट हुनु र यसको खारेजीका लागि सिर्जनकार्यका साथै सडकमै आएर दबाब सिर्जना गर्नु नितान्त आवश्यक र अपरिहार्य भएको छ । समयको यसै आवश्यकतालाई आत्मसात् गरेर प्रगतिशील सांस्कृतिक कर्मीहरूको वैकल्पिक मोर्चा निर्माण अभियानले आगामी असार १४ गते आइतबार दिनको १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनसँगै दबाबसिर्जानको कार्यक्रमको आयोजना गरेको छ । उक्त दिनको निर्धारित कार्यक्रममा सहभागी भई एम.सी.सी. परियोजना खारेजीका लागि आवाज बुलन्द गर्न यो अभियान सम्पूर्ण प्रगतिशील तथा देशभक्त सांस्कृतिक कर्मीहरूलाई हार्दिक आह्वान गर्दछ । साथै, देशभरि छरिएर रहनु भएका यस अभियानसँग सम्बद्ध सांस्कृतिक कर्मीहरूले आ(आफ्ना स्थानमा यस्तै कार्यक्रमको आयोजना गरी एम.सी.सी. खारेजी तथा साम्राज्यवादविरोधी आन्दोलनलाई सशक्त बनाउन पनि हार्दिक अपिल गर्दछौं ।”