अम्रिका लाल झण्डा बोकेर आयो

प्रकाशित मिति : २०७७ असार ११

- नारायण शर्मा बिपिन

जब म सानो थिएँ
हैन, आमाको पेटमै थिएँ
अम्रिका मकहाँ आयो।

आमा दोजिया हुँदा
आमालाइ हर्लिक्स बनेर आयो,
क्याल्सियम र आइरनका
चक्की बनेर आयो,
मलाइ खोप बनेर आयो
पेटमै थिएँ थाहा पाइन
खै अरु के के बनेर आयो, तर अम्रिका आयो ।
जब च्याँ गरें ,आमा मुसुक्क हाँस्नु भयो
भ्याक्सिन बनेर घुटुक्क , अम्रिका मभित्र पस्यो ,
जोनसनको तेल , साबुन
पाउडर र डाइपर बनेर अम्रिका आयो ।

बजारबाट बाबा आउँदा ,
साइकलको आवाजसंगै
क्याडबरिको चकलेट बनेर
बोर्नभिटा र किटक्याट बनेर
ओरियो बिस्कुटको खोलमा पसेर
बामे सर्दै गरेको मेरो हात समाएर
निप्पलमा सेरेलक चुसाउँदै अम्रिका आयो ।

मिक्की माउस र डोरेमोन
टम एण्ड जेरि अनि पोकेमोन बनेर
घरको टिभी भित्रबाट
मेरो एकान्तको साथी बनेर
मलाई हसाउँदै, कार्टुन बनाउँदै
अम्रिका आयो ।

मैले खाने चुइगम बनेर
बाले खाने कफि बनेर
कहिले सिगरेटको सर्को बनेर
कहिले टाइको बर्को ओढेर आयो
पेप्सी र कोक बनेर आयो ;
लाउने देखि खाने सम्म
ओढने देखि उडने सम्म
हिड्दा जुत्ता देखि चढने गाडी सम्म
मर्दा पर्दा जे जे चाहिन्छ
त्यही त्यही बनेर आयो ।
बाजे देखि नाति सम्म
आमै देखि नानी सम्म
सबैलाई पुग्ने गरि ल्यायो
ब्यापार गर्दै अम्रिका आयो ।

कहिले बर्थडे बनेर आयो
नजन्मिदै बेबि सोअर बनेर आयो
जहिले सेलिब्रेसन बनेर आयो
सेलिब्रेसनमा दुई प्याग रम र वाइन बनेर आयो,
स्कुलमा किताब बनेर आयो
दाइलाइ डिभी बनेर आयो
बहिनीलाई स्कोलरशिप बनेर आयो
आमा बुबालाई मम्मी ड्याडी भनेर आयो
जिरोलाइ जेरो/ ज्यारो गनेर आयो
हाम्रो ज्ञान् र दर्शन चोर्दै गयो
उसकै भाषा र संस्कृतिको
दास बनाउँदै अम्रिका आयो।

हातमा बाइबल लिएर आयो,
हिरोसिमा र नागासाकिमा
परमाणु बम लिएर आयो ।
इराकमा आयो, अफगानिस्तानमा आयो
सिरिया, इरान, कतार
भियतनाम र क्युबा , फिलिपिन्समा आयो ,
प्यालेस्टाइन , बोलिभिया , पेरु अनि इन्डोनेशिया
लोकतान्त्रिक पोकोमा आतंकवाद बेरेर
संसारमा जहाँ उज्यालो छ
उज्यालोका बिरुद्ध अम्रिका आयो ।

कहिले चकलेट लिएर आयो
कहिले बाइबल बोकेर आयो
हातमा डलरको बिटो बोकेर ,कहिले फकाउदै आयो
हातमा बम बोकेर , कहिले थर्काउदै आयो,
कहिले भाइरस त कहिले भ्याक्सिन बनेर आयो
युएनको दाता बनेर आयो
बिश्व बैंक र आइएमएफको महाजन बनेर अम्रिका आयो ।

हिजो नेपाली जनता विरुद्ध
M16 र नाइटभिजन लिएर आयो
लजिस्टिक र फोर्टिफिकेसन बनेर आयो ,
मैले दह्रो गरि लाल झण्डा झन माथी उचालें
उसको हाइ टेक, हाम्रो लो टेक
उसको हतियार खोसेर उसैलाई लखेटें ।
हिजो मैले उसको हतियार खोसे
शायद आज उसले मेरो खोस्यो !
एमसिसिको दानपात्र भित्र
सेना र हतियार लुकाएर
मेरै लाल झण्डा ओढेर आयो,
अम्रिका लाल झण्डा बोकेरै आयो ।