कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, मृत्यु हुनेको संख्या २६ पुग्यो

प्रकाशित मिति : २०७७ असार ११


काठमाडौं । वितेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।

बिहीबार कोरोना भाइरसको संक्रमण भएका थप दुईजना पुरुषको निधन भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय एक पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए ।

ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो । गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो ।