एमसीसी पास गरे सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउँछौं : अध्यक्ष गजुरेल

प्रकाशित मिति : २०७७ असार ९

- अनु निरौला

काठमाडौं । ११ दलीय मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनको कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गरिए एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावानी दिनुभएको छ । अध्यक्ष गजुरेलले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको भूमिसहितको नक्सा जारी गर्न सडकबाट आफूहरुले दिएको दबाबकै कारण सरकार नयाँ नक्सा जारी गर्न बाध्य भएको चर्चा गर्दै अध्यक्ष गजुरेलले एमसीसी सम्झौता पनि जनदबाबकै बलमा खारेज भइछाड्ने विश्वास व्यक्त गरे । अध्यक्ष गजुरेलले सभामुख अग्नीप्रसाद सापकोटालाई एमसीसी खारेजीको पक्षमा पहल गर्न यसअघि नै ज्ञापन पत्र बुझाइसकिएको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटालाई एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सदनमा प्रस्तुत नगर्न आग्रह समेत गर्नुभयो ।
अध्यक्ष गजुरेलले भन्नुभयो, “अब एमसीसी सम्झौतालाई सदनको एजेण्डामा राखिदिनु हुँदैन । महरालाई यही कारण कारबाही गरिएको हो भन्ने सुन्नमा आएको छ । म अहिलेका सभामुखलाई आग्रह गर्न चाहन्छु– अब यो एजेण्डालाई सदनमा प्रवेश नगराउनुस् । र, सांसदहरुलाई यो विषयमा बहस नगर्न आग्रह गर्छु । नत्र तपाईंहरु पछि कुन जिल्लामा गएर राजनीति गर्नुहुन्छ ? हामी ती सबै जिल्लामा प्रवेश गर्न दिंदैनौं ।”
एमसीसी विरुद्धको आन्दोलन राष्ट्रिय स्वाधीनताको आन्दोलन भएकोले यसलाई व्यापक र वृहत् बनाउनुपर्ने कुरामा जोड दिंदै अध्यक्ष गजुरेलले भन्नुभयो, “यो आन्दोलन ११ दलको मात्र पेवा होइन, यो जनताको आन्दोलन हो । आन्दोलनरत सबै पक्ष एकताबद्ध हुन जरुरी छ ।”
१० गतेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकको निर्णय हेरेर ११ गते मोर्चाको संयुक्त बैठकबाट आगामी संघर्षका कार्यक्रम तय गर्ने पनि नेता गजुरेलले कार्यक्रममा जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले एमसीसी पास गर्ने गम्भिर षड्यन्त्र भइरहेको र सांसदहरु किनबेचको खेल पनि भित्रभित्रै भइरहेको बताउनु भयो । सांसद पौडेलले राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै सडकबाट सरकार र संसदलाई ठूलै दबाब सृष्टि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्ने प्रायः सबै वक्ताहरुले एमसीसी सम्झौताको राष्ट्रघाती तरित्रको चित्रण गर्दै जसरी पनि उक्त सम्झौता खारेज गर्नुपर्ने मत जोडदार रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेकपा मालेका नेता कृष्ण रानाले गरेका थिए भने नेकपाका सहसंयोजक लोकनारायण सुवेदी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, सत्तारुढ पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामा, नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकी, राष्ट्रिय जागरण मञ्चका नरबहादुर कार्की, अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, पुष्पलाल अध्ययन समाजका सुरेश कार्की, एमसीसी खारेज अभियानका बलदेव भट्टराई, नागरिक आवाजका असोज महर्जन, नेवाः राजनीतिक अभियानका श्रीकृष्ण मानन्धर, नेकपा (माओवादी)का संयोजक विमल अधिकारी लगायतका वक्ताहरुले एमसीसी खारेजीको पक्षमा जोडदार मन्तव्य दिएका थिए ।