यस्तो देखियो माइतीघरमा एमसीसी सम्झौताको विरोधमा ११ दलको विरोध प्रदर्शन (फोटोफिचर)

यस्तो देखियो माइतीघरमा एमसीसी सम्झौताको विरोधमा ११ दलको विरोध प्रदर्शन (फोटोफिचर)


काठमाडौं । अमेरिकाको साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा गम्भिर आघात पु¥याउने र नेपाललाई अमेरिकाको कठ्पुलतली देशको हैसियतमा पु¥याउने भन्दै उक्त सम्झौता खारेजीको लागि ११ दलले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल), सीपी मैनाली नेतृत्वको नेकपा(माले), चित्रबहादुर के.सी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा(माओवादी केन्द्र), सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद नेपाल, केदारचन्द्र शर्मा नेतृत्वको नेकपा(संयुक्त) र गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्चले संयुक्त रुपमा आयोजना गरेको विरोध प्रदर्शन तथा विरोधसभामा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, नेकपाका सहसंयोजक लोकनारायण सुवेदी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, सत्तारुढ पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामा, नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकी, राष्ट्रिय जागरण मञ्चका नरबहादुर कार्की, अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, पुष्पलाल अध्ययन समाजका सुरेश कार्की, एमसीसी खारेज अभियानका बलदेव भट्टराई, नागरिक आवाजका असोज महर्जन, नेवाः राजनीतिक अभियानका श्रीकृष्ण मानन्धर, नेकपा (माओवादी)का संयोजक विमल अधिकारी लगायतका वक्ताहरुले एमसीसी खारेजीको पक्षमा जोडदार मन्तव्य दिएका थिए ।

एमसीसी सम्झौता किन राष्ट्रघाती छ ? लेखिएको प्लेकार्ड तथा फ्लेक्सवोर्ड बनाएर एमसीसी सम्झौताका विभिन्न धारा र अनुसूचिमा उल्लेखित राष्ट्रघाती प्रावधानहरुलाई समेत उल्लेख गरेर प्रदर्शन गरिएको थियो ।

विरोध प्रदर्शनमा एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर लगायतका नाराहरु लगाइएको थियो । कार्यक्रममा विभिन्न संघ संस्था तथा अभियानहरुले ११ दलको संघर्षमा ऐक्यवद्धता जाहेर गर्दै संयुक्त संघर्षमा जोड दिएका थिए ।

११ दलको आयोजनामा मंगलबारै जिल्ला जिल्लामा पनि एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।