
असार ९, काठमाडौं । अमेरिकाको रक्षा तथा सुरक्षा रणनीति अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सम्झौता संसदबाट अनुमोदन गरिए नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि गम्भिर राष्ट्रघात हुने भन्दै एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) लगायत ११ दलले आज काठमाडौं लगायत देशैभर विरोध प्रदर्शन गर्दैछन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता अनुमोदन गर्न लागेपछि ११ दल लगायत देशभक्त क्रान्तिकारीहरु संघर्षमा उत्रिएका छन् ।
११ दलले आज माइतीघर मण्डलामा दिनको १ बजे विरोध प्रदर्शन तथा विरोध सभाको आयोजना गरेका छन् । कार्यक्रमलाई आयोजक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सात वटै प्रदेशका जिल्लाहरुमा पनि विरोध प्रदर्शनको तयारी भइरहेको आयोजक दलका नेताहरुले बताएका छन् ।
११ दलले सोमबार मात्र जारी गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी प्रशासनको पेन्टागनले तयार पारेको ‘हिन्द प्रशान्त रणनीतिक प्रतिवेदन’मा आधारित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’सँग नेपालका विभिन्न सरकारहरुले सम्झौता गर्दै आएका छन् । त्यसलाई अन्तिम रुप दिन संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने अमेरिकी निर्देशनलाई कार्यान्वयन गर्न ओली सरकार टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागि परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा केपी ओली यसलाई पारित गराउने दाउमा लागेका छन् ।”
आजको ११ दलको विरोध प्रदर्शनमा नागरिक समाज तथा एमसीसीका विरुद्ध अन्य विभिन्न संस्थाहरुद्वारा गठित संयुक्त संघर्ष समितिको पनि सहभागिता रहने जनाइएको छ ।
एमसीसीकै विषयलाई लिएर सत्तारुढ नेकपाको भोलि १० गते स्थायी समितिको बैठक बस्दैछ । पार्टीभित्रका बहुमत नेताहरुले एमसीसी हुबहु पास गर्न नहुने अडान राखिराख्दा प्रधानमन्त्री ओली भने प्रतिपक्षी दल नेपाली कांग्रेसको सहयोगमा जसरी पनि एमसीसीस पास गर्ने भनेर अनेक षड्यन्त्रमा लागि रहेको छ । यस पृष्ठभूमिमा एमसीसी जस्तो राष्ट्र«घाती सम्झौताको विषयमा नेकपाले के कस्तो निर्णय गर्छ त्यो भने हेर्न बाँकी छ । ११ दल लगायत एमसीसीका विरुद्ध गठित संयुक्त संघर्ष समितिले भने एमसीसी खारेज नहुन्जेलसम्मका लागि संघर्षको घोषणा गरेर सडकमा उत्रिएका छन् ।